बढ्दो सहरीकरणले खुला सार्वजनिकस्थल मासिँदै गएका बेला धुलिखेल नगरपालिकाअन्तर्गत २८ किलो चोकबाट दक्षिणतर्फ काठमाडौं विश्वविद्यालय जाने सडकछेउमा रहेको बखुन्डोलमा बुद्धपार्क निर्माण अन्तिम चरणमा पुगेको छ । पार्कको एकातर्फ गौतम बुद्धको मूर्ति छ भने अर्काेतर्फ कृष्णको मूर्ति, सँगै पानीको झरना अत्यन्तै आकर्षक देखिन्छ । हरियो दुबोमाथि खेलिरहेको जस्तो देखिने ठाउँठाउँमा बाघ, हरिण, खरायोको मूर्ति बनाइएको छ । दिनभरिको थकान मेट्न साँझपख पार्कमा केही समय विश्राम गर्न जाँदा आनन्दको अनुभूति हुने स्थानीय बताउँछन् ।
दिनभरि काम गरेर थाकेर पार्कमा एकैछिन बस्दा थकाइ मेटिने धुलिखेल निवासी रमेश ब्याञ्जु बताउँछन् । ‘नवनिर्मित पार्कको प्रशंसा नगरपालिकाको मेयर अशोक ब्याञ्जुले समेत गर्नुभएकाले फुर्सद निकालेर घुम्न आएका हौँ,’ ब्याञ्जुले भने । २६ भदौमा पार्कको उद्घाटन गर्ने मिति तय भएको उपभोक्ता समितिका अध्यक्ष लामाले बताए । पार्क उद्घाटन गर्दा सामाजिक दूरी कायम गरिने उनी बताउँछन् । धुलिखेल नगरपालिकाले एक वडा एक पार्कको योजना अगाडि बढाएको छ । जनप्रतिनिधि आएपछि एक वर्षमा प्रत्येक वडामा कम्तीमा एउटा पार्क निर्माण गर्ने र पाँच वर्षमा कम्तीमा ६० वटा पार्क निर्माण गर्ने नगरपालिकाको योजना छ ।
सरकारी सहयोग र स्थानीयको प्रयासमा बुद्धपार्क निर्माण गरिएको हो । पार्क निर्माणका लागि लगभग ३० लाख रुपैयाँ खर्च भएको छ । जसमा सरकारका तर्फबाट १० लाख रुपैयाँ मात्र प्राप्त भएको बुद्ध बखुन्डोल पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष सत्यमान लामाले बताउँछन् । धुलिखेल नगरपालिकाबाट पाँच लाख र डिभिजन वन कार्यालय धुलिखेलबाट पाँच लाख रुपैयाँ प्राप्त भएको उनको भनाइ छ । पार्क उपभोक्ता समितिले सोचेको भन्दा राम्रो पार्क निर्माण गरेको भन्दै नगरपालिकाका जनप्रतिनिधि खुसी भएर तीन लाख रुपैयाँ थप गर्ने मौखिक आश्वासन पाएको लामाले बताए । ‘अन्य रकम हामीले स्थानीयसँग सहयोग मागेरै निर्माण गरेका हौँ,’ लामा भन्छन्, ‘हाम्रो काम देखेर नगरपालिकाका प्रतिनिधि खुसी भएर तीन लाख थप गर्छौँ भनेका छन् ।’
....
पार्क बनाउनुअघि सो सार्वजनिक जग्गा व्यक्तिले प्रयोग गरिरहेका थिए । गोठ बनाएर गाई पालिएको थियो । बखुन्डोल क्षेत्रमा तामाङ समुदायको बाहुल्यता रहेको, तर पूजाआजा गर्न बुद्धको स्तुपा नभएकाले पनि पार्क निर्माण गरी बुद्धको स्तुपा राखेको अध्यक्ष लामा बताउँछन् । छेउ–छेउमा लामाको अक्षरले लेखिएको ढुंगाले झनै मनमोहक बनाएको छ । नेपाल धर्मनिरपेक्ष राष्ट्र भएकाले धार्मिक हिसाबले समवेशी होस् भन्ने उद्देश्यले एकापट्टि बुद्ध र अर्कोपट्टि कृष्णको मूर्ति राखेको लामाको भनाइ छ । बखुन्डोलको अर्थ नेवारी भाषामा परेवा चर्ने ठाउँ भन्ने हुन्छ । त्यसैकारण पुरानो पहिचानलाई मेट्न नहुने भन्दै परेवाको मूर्ति पनि राखेको लामाले बताए । यसले पार्कको सुन्दरता झनै बढेको छ ।
पार्क निर्माणको परिकल्पनाकारमध्येका एक सदस्य खाइबा लामाले सडक ढलान गर्ने क्रममा सडकको दायाँबायाँ फूलको गमला राख्दाराख्दै पार्क निर्माण गर्ने इच्छा पलाएको अनुभव सुनाए । ‘सुरुमा सडक ढलान गर्यौँ, ढलान सकेपछि सडकमा दायाँबायाँ गमला राख्ने सोच आयो, गमला राख्दै गएपछि पार्क निर्माणकै परिकल्पना आयो । अहिले यस्तो बनायौँ,’ खाइबा लामा भन्छन् ।
अर्का अभियन्ता सलामसिं लामाले स्थानीयसँग सहयोग जुटाउँदै निर्माण थालेपछि नगरपालिका र वन कार्यालयले सहयोग गरेपछि पार्क निर्माण पूरा हुने अवस्थामा पुगेको बताए । पार्क निर्माण गर्न पाँच हजार रुपैयाँभन्दा बढी सहयोग गर्नेहरूको नाम शिलामा राखिने उनी बताउँछन् । ‘यो ठाउँमा झाडी र फोहोरैफोहोर थियो, तर अहिले सफासुग्घर, वातावरणमैत्री, बालमैत्री, युवामैत्री र वृद्धवृद्धामैत्री पार्कमा परिणत गर्न सफल भयौँ,’ अध्यक्ष लामाले भने, ‘फूलको बिरुवा, दुबो लगाइएको छ । मेचहरू राखिएका छन् । बिहान–बेलुका गफिने खुलास्थल बनाएका छौँ ।’