बाग्लुङको बाढी प्रभावित क्षेत्र एक सातादेखि बिजुली र सडकबाट सम्पर्कविहीन

११ लघु जलविद्युत आयोजना बाढीले बगायो

मंगलबार, २३ भदौ, २०७७
डिजिटल संस्करण

ढोरपाटन नगरपालिका– ९ को भुजीखोलामा एक साताअघि आएको बाढीले जलविद्युत् आयोजना र सडक बगाउँदा यो क्षेत्र बिजुली र सडकबाट सम्पर्कविहीन बनेको छ । 

गत बुधबार आएको बाढीका कारण मंगलबारसम्म १७ जनाको मृत्यु भएको छ भने २१ जना अझै बेपत्ता छन् । बाढीका कारण यस क्षेत्रको स्वास्थ्य, शिक्षा, यातायात र जलविद्युतमा पनि ठुलो असर परेको छ । बाढीले ८० वटा घर पूर्ण र ७१ आंशिक क्षति पुऱ्याएको छ । साथै एक सय ७१ वटा भौतिक संरचनामा क्षति पुऱ्याएको ढोरपाटन नगरपालिकाका उपप्रमुख करमती पुनले जानकारी दिइन् । उनका अनुसार बाढीले यस क्षेत्रको सबै सडक बगाएको छ । सडक मर्मतका लागि गएका एक्स्काभेटरलाई पनि पहिरोले पुरेको छ । बाढीपीडितका लागि हेलिकोप्टरबाट केही राहत पुगे पनि यो अपर्याप्त भएको उपप्रमुख पुनले बताइन् । 

बाढीले भुजीखोला क्षेत्रमा रहेका ११ जलविद्युत् आयोजनामा पूर्ण क्षति पुऱ्याएको छ भने दुईवटा विद्यालय, एक स्वास्थ्य चौकीमा पनि क्षति पुगेको छ । क्षतिग्रस्त जलविद्युत् आयोजनाले विद्युत् उत्पादन गर्न सकेका छैनन् । स्थानीय रामबहादुर घर्तीले भने, ‘घरबार गुम्यो, मनै अँध्यारो छ, बिजुली छैन कसैसँग फोन सम्पर्क पनि गर्न सकिएको छैन ।’

बाग्लुङको ५५ प्रतिशत क्षेत्रमा मात्रै केन्द्रीय विद्युतीकरण भएको छ । दूरदराजमा लघु जलविद्युत् आयोजनाले बस्ती उज्यालो बनाएका थिए । पश्चिम क्षेत्रमा एक सयभन्दा बढी लघु जलविद्युत् आयोजना सञ्चालनमा छन् । बुधबारको बाढीले भुजीखोला क्षेत्रको सबै लघु जलविद्युत् अयोजनामा क्षति पुऱ्याएको घर्तीले बताए । हालसम्म अवरुद्ध एक मात्रै जलविद्युत् आयोजना मर्मतपछि सञ्चालनमा ल्याइएको छ भने अन्यको मर्मत सुरु भएको वडा अध्यक्ष हरिबहादुर घर्तीले जानकारी दिए । विद्युत् नहुँदा द्वार, फल्लेघर, सुप्राङ, घट्टेपानी, दुनेपधेरा, भुसुन्दे, सुकुरुदुङ र लाकुरीबोट गाउँ अन्धकार भएको छ । 

बाढीका कारण भुजीखोला पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौँ, नेपाने देउराली जलविद्युत्, रुद्रताल लघु जलविद्युत् आयोजनासहित ११ आयोजनामा क्षति पुगेको हो । 
 

सुझावित समाचार