निषेधाज्ञाकै बीच कांग्रेसको प्रशिक्षण

मंगलबार, २३ भदौ, २०७७
डिजिटल संस्करण

कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले निषेधाज्ञाकै बीचमा संगठनका कामलाई अघि बढाएको छ । प्रदेशअन्तर्गत जिल्ला प्रशिक्षण गरिरहेको कांग्रेसले भर्चुअल माध्यमद्वारा संखुवासभा, भोजपुर, तेह्रथुम र धनकुटाका पार्टीका महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू, पूर्वपदाधिकारीहरू, भ्रातृ तथा शुभेच्छुक संस्थाका सदस्यहरू सहभागी प्रशिक्षण दिएको हो । प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै कांग्रेस उपसभापति एवं प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले राष्ट्रियता, लोकतन्त्र र समाजवादको आधारमा सबै एक रहेको दाबी गरे । तिनै विचारले निर्दिष्ट परिवर्तनका उपलब्धिहरूमा समेत एकता हुन सके पार्टीमा कुनै गुट–उपगुट नरहने विचार उनको थियो । 

परिवर्तनको स्वामित्व कांग्रेसले लिँदा, पार्टीको नेतृत्वमा भएका राजनीतिक परिवर्तनहरूमाथि गौरव पनि गर्ने, संविधानमा निहित विषयहरूप्रति असहमति राख्ने दोहोरो कार्यले पार्टीलाई क्षति पुऱ्याउने उनको तर्क थियो । कांग्रेसले संविधानका निहित विषयमा दोहोरो असहमति राख्न नहुनेतर्फ सबै पक्ष सजग हुनुपर्ने उनको भनाइ थियो । आगामी राष्ट्रिय निर्वाचनलाई केन्द्रमा राखेर पार्टी गतिविधिलाई अघि बढाउनुपर्नेमा उनको जोड थियो । 

प्रशिक्षणको पहिलो सत्रमा ०१५ का सांसद तेजमान तुम्बाहाम्फे, पूर्वमन्त्री एवम केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की, पूर्वमन्त्री एवं केन्द्रीय सदस्य सीता गुरुङ, पूर्वमन्त्री दीपक खड्का, पूर्वमन्त्री सुनीलबहादुर थापाले पार्टीलाई प्रशिक्षणमार्फत थप एकताबद्ध र सशक्त बनाउन सकिने विचार व्यक्त गरेका थिए । पूर्वसांसद तेजमान तुम्बाहाम्फेले संघीय लोकतान्त्रिक गणतन्त्र बिपीको सोचअनुरूप नै आएको हुनाले विश्वासकासाथ कांग्रेसका सदस्यहरूले यसलाई बलियो बनाउनुपर्ने बताएका थिए । संविधान र पार्टीको घोषणापत्रअनुसार दृढतापूर्वक काम गर्न कांग्रेसका सदस्यहरूलाई उनले आग्रह गरे ।

दोस्रो सत्रमा प्रतिष्ठानका कार्यकारी निर्देशक प्राध्यापक पुरुषोत्तम दाहाल, प्रशिक्षण निर्देशक खिलानाथ दाहाल र प्रतिष्ठान सदस्य एवं सचिवालय सदस्य राजु नेपालले प्रशिक्षणको उद्देश्य, पार्टीको विधान र वर्तमान सरकारको कार्य समीक्षा प्रस्तुत गरेका थिए । सहभागीहरूले पार्टीको आसन्न महाधिवेशन, विधान कार्यान्वयन, पार्टीले सञ्चालन गर्नुपर्ने कार्यहरू आदिबारे जिज्ञासा राखेका थिए । 

सुझावित समाचार