करोडौँ रकम खर्च भएर पनि उपभोक्ता अन्धकारमा

सोमबार, २२ भदौ, २०७७
डिजिटल संस्करण

जुम्ला सदरमुकाम खलंगास्थित घुघुत्ती साना जलविद्युत् आयोजना ०४० सालमा निर्माण भएको हो । पञ्चायती शासन व्यवस्थामा बिजुली तीन दशकभन्दा बढीसम्म मर्मतसम्भार हुन सकेको थिएन । यहाँका उपभोक्ताले दशकौँदेखि दैनिक १८ घन्टा लोडसेडिङको मार खेप्दै आएको थिए ।

गत वर्ष विद्युतको क्षमता विस्तारका लागि झन्डै तीन करोडको ठेक्का आह्वान गरेर भारतीय ठेकेदार सुरेन्द्र पासीले दुईवटा नयाँ मेसिन जडान गरेका थिए ।  मेसिन जडानकै क्रममा ठेकेदार पासी फरार भएपछि विद्युत् सप्लाई बन्द भयो ।

चर्को विरोधपश्चात् ठेकेदार आएर टालटुल गरेर फर्कियो । १–२ महिना नबित्दै लोडसेडिङ पुरानै अवस्थामा फर्कियो । भारतीय दूतावासले दुई करोड ६३ लाख ७७ हजार सहयोग गरेको थियो । त्यसमा साना जलविद्युत् उपभोक्ता समितिले ४५ लाख २२ हजार नौ सय थपेको थियो । नयाँ मेसिन जडानका लागि तीन करोडमा ठेक्का सम्झौता गरिएको थियो । 

ठेकेदारले जुम्लावासीलाई झुक्याएर डुब्लिकेट मेसिन जडान गरेकै कारण अँध्यारोबाट मुक्ति पाउन नसकिएको नागरिक समाजका अध्यक्ष राजबहादुर महतको भनाइ छ । एक दिन बिजुली आउने दुई दिन नआउने क्रम हालसम्म चलिरहँदा विगत दुई सातादेखि जुम्ला सदरमुकाम खलंगामा अनिश्चितकालीन लोडसेडिङ हुने गरेकोे छ । (प्रोग्राम लजिक कन्ट्रोल) (पिएलसी) सफ्टवेयर बिग्रिएपछि अनिश्चितकालीन लोडसेडिङ भएको नेपाल विद्युत् प्राधिकरण जुम्लाका प्राविधिक प्रमुख हेमन्त साहुले बताए ।

उनले भने, ‘पिएलसी सफ्टवेयरविना विद्युत् उत्पादन तथा सप्लाई सम्भव छैन । यो सफ्टवेयर पनि तिनै ठेकेदार पासीले सञ्चालन गरेका हुन् । हाइड्रोपावरको सबै सिस्टम कन्ट्रोल गर्ने, पानी फलो गर्ने सबै काम पिएलसी सफ्टवेयरकै हो । ठेकेदार कम्पनीले नै आएर पिएलसी सफ्टवेयर चालू नगरेसम्म खलंगामा लोडसेडिङ कायम रहनेछ ।’

प्राविधिक प्रमुख साहु भन्छन्, ‘ठेकेदार पासीकै शुभकामना जेभी कम्पनीले हाइड्रो मेकानिकल पार्टहरू मात्रै सप्लाई गर्ने हो, तर त्यसले हचुवाकै भरमा मेसिन जडान, सफ्टवेयर सञ्चालन गरेपछि पटकपटक विद्युत् सञ्चालनमा अवरोध हुँदै आएको छ ।’

पासी नआएसम्म विद्युत् सञ्चालन मुस्किल भएको साहु बताउँछन् । कहिलेसम्म लोडसेडिङ हुने, कहिले ठेकेदार आउने कुनै टुंगो छैन । ठेकेदार पासीले सबै डुब्लिकेट सामानहरू मात्रै जडान गरेको आरोप छ ।   

चौरभरि उपकरण र डिजेल्ट प्लान्ट, तर बिजुली आउँदैन  
गत वर्ष जुम्लामा अन्धकार भएपछि प्रतिनिधिसभा सांसद गजेन्द्रबहादुर महतले सांसद विकास कोषबाट डिजेल्ट प्लान्ट खरिद गर्न २४ लाख ६० हजार उपलब्ध गराए । खरिद गरेर दुई सय केभी (१६० किलोवाट) क्षमताको उपकरण जुम्ला पनि ल्याएर केही समय डिजेलबाट भए पनि बिजुली बल्यो । तर, डिजेलको खर्च थेक्न नसकिएपछि उक्त उपकरण पनि थन्किएको छ । 

त्यसैगरी जुम्लाको बिजुलीको विषयमा गत वर्ष सडकदेखि संसदसम्म चर्काे विरोध र आलोचना भएपछि विद्युत् प्राधिकरण केन्द्रीय कार्यालयले अर्काे डिजेल प्लान्ट पनि पठायो तर, डिजेल भने पठाएन । त्यो उपकरण पनि ल्याएदेखि एक दिन बिजुली नबालेरै थन्किएको तत्कालीन साना जलविद्युत् उपभोक्ता समितिका अध्यक्ष विष्णुबहादुर बुढ्थापाले बताए । ‘विद्युतगृहको चौरभरि उपकरणले भरिएको छ ।  तर, यहाँका उपभोक्ताले नियमित बिजुली बाल्न पाएका छैनन्,’ उनले भने ।   केन्द्रीय प्रसारण लाइन नआएसम्म यहाँको अवस्था परिवर्तन हुने देखिँदैन । 

सुझावित समाचार