ताप्लेजुङको सिरिजंघा गाउँपालिका– ४ तेल्लोकस्थित लघुजल विद्युतकाे पावरहाउस पहिरोले बगाउँदा दुईजनाको मृत्यु भएको छ ।
गएराति परेको पानीले नागदेवा लघु जलविद्युत् आयोजनाको पावरहाउस बगाउँदा दुईजनाको मृत्यु भएको हो । पावरहाउसमा काम गर्ने कर्मचारी ३० वर्षीय राजु लिम्बू र ५५ वर्षीय विष्णुदास थेबेको पहिरोमा परी मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी महेन्द्र श्रेष्ठले बताए ।
डिएसपी श्रेष्ठका अनुसार राति कतिवेला बाढी आएको भन्ने थाहा नभए पनि करिब दुई बजेतिर ठूलो पानी परेको र जमिन हल्लिएको जस्तो अनुभव भएको स्थानीयले बताए ।
बिहान ६ बजे इलाका प्रहरी कार्यालयका प्रहरीसहितको टोली घटनास्थलमा पुगेको थियो । स्थानीय र प्रहरीको प्रयासले ८ बजेर ४५ मिनेट जाँदा शव भेटिएको डिएसपी श्रेष्ठले बताए ।
मृतक दुवैजनाको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइँदै गरेको उनले बताए । पावरहाउमा कति क्षति भएको भन्ने तथ्यांक भने आउन बाँकी छ ।