ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु, तीन दिनमा दुर्घटनाबाट चारजनाले ज्यान गुमाए

शनिबार, २० भदौ, २०७७
डिजिटल संस्करण

सिराहामा रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । सिराहा चोहर्वा सडकखण्डअन्तर्गत नरहा गाउँपालिका– ५ पानबारीनजिकै बिग्रिएर रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

बिग्रिएर रोकिराखेको ज.१त ४३२९ नम्बरको ट्याक्टरमा चोहर्वाबाट सिराहा आउँदै गरेको नम्बर नभएको (अन टेस्ट) मोेटरसाइकल ठोक्किन पुगेको इलाका प्रहरी कार्यालय मिर्चैयाका इन्चार्ज डिएपी सन्तुलाल जैसवालले बताए ।

ट्याक्टरसँग ठोक्किएपछि मोटरसाइलमा सवार तीनजनामध्ये सिराहा नगरपालिका– ५ का १९ वर्षीय अमलेश महतो र २१ वर्षीय सुनीलकुमार सदाको मृत्यु भएको डिएसपी जैसवालले बताए । सोही मोटरसाइकलमा सवार सिराहा नगरपालिका– ५ का १९ वर्षीय मिथिलेश सदा गम्भीर घाइते भएको र थप उपचारको लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।

यसअघि गत बुधबार राति सिराहा–चोहर्वा सडकखण्डको सिराहा नगरपालिका– ११ भलुवाहीमा दुईवटा मोटरसाइकल एक–आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको थियोे । उक्त दुर्घटनामा परी धनगढीमाई नगरपालिकाका कार्यपालिका सदस्य धनगढीमाई नगरपालिका– १० का ५१ वर्षीय दीपककुमार पञ्जियार र सिराहा नगरपालिका– ९ गुलरीयाका ३५ वर्षीय सिल्टु ठाकुरको मृत्यु भएको छ ।  

सुझावित समाचार