वैकल्पिक विधिबाट भएको पठनपाठनलाई औपचारिक मान्यता, निजीलाई शुल्क उठाउन बाटो खुला

शुक्रबार, १९ भदौ, २०७७
डिजिटल संस्करण

शिक्षा मन्त्रालयले वैकल्पिक विधिबाट भएको पठनपाठनलाई शैक्षिक सत्रमा गणना हुने गरी औपचारिक मान्यता दिएको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कोभिड– १९ को संक्रमण लामो समयसम्म रहने भएपछि रेडियो, टेलिभिजन, अनलाइन तथा होम स्कुलिङको माध्यमबाट भएका सिकाइका गतिविधिलाई औपचारिक मान्यता दिएर अभियानकै रूपमा सञ्चालन गर्ने बताए ।

शुक्रबार भर्चुअल पत्रकार सम्मेलन गरी शिक्षामन्त्री पोखरेलले विद्यालय सञ्चालनमा अवरुद्ध भए पनि विद्यार्थीको सिकाइ अवरुद्ध नहुने बताए । सबैका लागि वैकल्पिक शिक्षा नारासहित विद्यालयले वैकल्पिक विधिबाट सिकाइ बढाउन अझै भूमिका खेल्ने बताए । 

मन्त्रालयले ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका– २०७७ संशोधन गरेकोसमेत मन्त्री पोखरेलले बताए । मन्त्री पोखरेलले भने, ‘वैकल्पिक विधिबाट हुने पढाइलाई मूल बनाउन नयाँ ढंगले निर्देशिका परिमार्जन गरेका छौँ ।’ 

परिमार्जित निर्देशिकाले धेरै विषयवस्तुमा स्पष्ट पाउने उनले बताए । यसअघि वैकल्पिक पद्धतिलाई आत्मसात् नगरिएको र अहिले यस पद्धतिलाई आत्मसात् गरेर शैक्षिकसत्रसँग गणना गरिएको मन्त्री पोखरेलले बताए । निर्देशिका परिमार्जनसँग बजेटमा समेत पुनरावलोकन हुने उनले बताए । 

विद्यालयको शैक्षिक सत्र, २०७७ को करिब साढे चार महिना बितिसकेकोले अहिलेको पाठ्यक्रमलाई यथावत् रूपमा अघि बढाउन कठिन हुने ठहर गर्दै विद्यालय शिक्षाको पाठ्यक्रमको संश्लेषण (कस्टमाइजेसन) गर्ने निर्णय भइसकेको छ ।

शिक्षामन्त्रीले  विश्वविद्यालयका उपकुलपतिहरूलाई कम्तीमा ६ महिनाको कोभिड केन्द्रित क्यालेन्डर सार्वजनिक गर्न निर्देशन दिइसकेको छन् । धेरै विश्वविद्यालयहरूले कार्यतालिका मन्त्रालयमा पठाइसकेका पनि छन् । त्यसलाई विद्यार्थीका लागि सार्वजनिक गरिदिन सम्पूर्ण विश्वविद्यालयलाई अनुरोध गरेका छन् ।

निजी विद्यालयलाई शुल्क उठाउने बाटो खुला
सरकारले निजी विद्यालयलाई शुल्क उठाउन बाटो खुला गरिदिएको छ । स्थानीय तहको अनुमति लिएर शुल्क लिन पाउने गरी व्यवस्था गरेको शिक्षामन्त्री पोखरेलले बताए । लामो समयदेखि शिक्षक कर्मचारीले तलब नपाएको र अन्य व्यावहारिक समस्या समाधान गर्न शुल्क लिन पाउने बाटो खुला गरेको उनले बताए । कतिपय निजी विद्यालयले शिक्षक कर्मचारीलाई गत चैतभन्दा अघिदेखिको तलबसमेत दिएका छैनन् । 
 

सुझावित समाचार