निगमको लापरबाही : पिसिआर परीक्षणविनाको एक यात्रु ल्याउँदा दुई सय १३ जना होटेल क्वारेन्टिनमा, २६ लाख फजुल खर्च

बिहिबार, १८ भदौ, २०७७
डिजिटल संस्करण

नेपाल वायुसेवा निगमले जापानबाट काठमाडौं आएको उडानमा एकजना पिसिआर परीक्षण नगरिएको यात्रु ल्याएको पाइएको छ । बुधबारको नारितादेखि काठमाडौंको नियमित उडानको क्रममा दुई सय १३ यात्रु ल्याएकोमा एकजना पिसिआर परीक्षणविनाका यात्रु ल्याएपछि सबै यात्रुलाई होटेल क्वारेन्टिनमा राखिएको छ । एकजना यात्रु जापानबाट पिसिआर परीक्षणको रिपोर्ट लिएर आउनुपर्नेमा आरडिटी रिपोर्ट लिएर आएको पाइएको हो । 

काठमाडौं विमानस्थलमा जहाज अवतरण गरेपछि सबैको रिपोर्ट जाँच गर्ने क्रममा एक यात्रुको आरडिटी मात्रै रहेको खुलेपछि सबैलाई होटेल क्वारेन्टिनमा पठाइएको छ । यसअघि एयरअरेबियाले पनि लापरबाही गरेर पिसिआर परीक्षणबिना यात्रु ल्याएपछि सबैलाई होटेल क्वारेन्टिनमा राखिएको थियो । त्यसमा रहेका सबै यात्रुको होटेलखर्च एयरलाइन्सलाई तिराउन पर्यटन मन्त्रालयले बुधबार निर्देशन दिएको छ । ‘एकजना यात्रु आरडिटी मात्रै रिपोर्ट लिएर आएको पाइएपछि सबैलाई होटेल क्वारेन्टिनमा राखिएको छ,’ निगमकी प्रवक्ता अर्चना खड्काले भनिन् । 

ती यात्रुको काठमाडौंमा पिसिआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएकोले सबैलाई घर पठाइनदिन आग्रह गरेको खड्काले बताइन् । जापान विमानस्थलमा निगमकै कर्मचारीको लापरबाहीका कारण उक्त यात्रु आएका हुन् । सरकारले जारी गरेको निर्देशिकाअनुसार पिसिआर नगरी यात्रु ल्याएमा होटेल क्वारेन्टिनमा सात दिन सबै यात्रु राख्नुपर्ने र सबै खर्च सम्बन्धित यात्रुलाई भराउन भनिएको छ । अब निगमले सबै यात्रुको होटेल खर्च व्यहोर्नुपर्नेछ । जसमा कम्तीमा पनि २६ लाख ८३ हजार रुपैयाँ फजुल खर्च हुने भएको छ ।   

सरकारले नियमित उडान हुने गन्तव्यबाट आउने सबै यात्रुको अनिवार्य पिसिआर रिपोर्टको व्यवस्था गरेको छ । त्यस्तै उद्धार उडान मात्रै हुने देशबाट भने पिसिआर नभएका यात्रु पनि आउन पाउने, तर होटेल क्वारेन्टिनमा सात दिन बसेर पिसिआर परीक्षणपछि मात्रै घर जान पाउने व्यवस्था गरिएको छ । घर जान पनि १४ दिन होम क्वारेन्टिन बस्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ । 

यस्ता छन् सर्तहरू 

पिसिआर परीक्षण सहज भएका मुलुकहरू मलेसिया, युएई दक्षिण कोरिया, थाइल्यान्ड, जापान, चीन, हङकङ, अष्ट्रेलिया, अमेरिका, क्यानडा र युरोपेली मुलुकबाट भदौ १७ बुधबारदेखि  नियमित उडान सुरु भएको छ  । साउदी अरब, कुवेत, कतार लगायत अन्य मुलुकबाट नियमित उडानबाट यात्रुहरू ल्याउन नपाइने व्यवस्था गरिएको छ । त्यस्ता मुलुक र नियमित उडानका लागि अनुमति नभएका श्रमिक रहेका मुलुकबाट चार्टर्ड उडानको सेड्य्ुल पनि तोकिएको छ ।  विगतमा दैनिक पाँच सय यात्रु मात्रै आउन पाउने व्यवस्था गरिएकोमा अहिले बढाएर आठ सयको कोटा तय गरिएको छ । 

नेपाली नागरिक र नेपालस्थित विदेशी नियोगका कूटनीतिज्ञ तथा कर्मचारीहरू, संयुक्त राष्ट्र संघ, विकास साझेदार संस्थाका कर्मचारी तथा प्रतिनिधिलाई मात्रै आउन अनुमति दिइनेछ । 

कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को वेबसाइटमा रहेको नेपाल आउनेले भर्नुपर्ने अनलाइन फारम भरेर सोको बारकोड वा प्रिन्ट कपी र कम्तीमा सात दिन होटेल क्वारेन्टिनमा अनिवार्य बस्ने गरी होटेल बुकिङको प्रमाण साथमा लिई आउने सर्तमा उडान तालिका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशन गरेको छ । 

पिसिआर पोजेटिभ भएको प्रमाणपत्र भएका यात्रु सबैलाई दर्ता र स्वास्थ्य परीक्षणको कार्य सकिएपछि कम्तीमा १४ दिन होम क्वारेन्टिनमा बस्ने लिखित प्रतिबद्धतासहित जान दिने र यसको अनुगमन स्थानीय तहले गर्ने व्यवस्था गरिएको छ । 

होटेल क्वारेन्टिनमा बस्नु पर्ने गरी हवाई उडानबाट नेपाल आउने यात्रुलाई हवाई टिकट जारी गर्दाकै अवस्थामा होटेल क्वारेन्टिनमा कम्तीमा सात दिन बस्दा लाग्ने खर्चसमेत सम्बन्धित यात्रुबाट लिइनेछ । यसरी उठाइएको होटेल क्वारेन्टिनबापतको रकम सम्बन्धित होटेललाई भुक्तानी गर्ने दायित्व सम्बन्धित एयरलाइन्सको हुने भएको छ । 

वैदेशिक रोजगार कल्याणकारी कोषको खर्चमा उद्धार उडानबाट आउने व्यक्तिहरूबाहेक अन्य तरिकाले उद्धार उडानबाट नेपाल आउने नेपाली नागरिक काठमाडौं उपत्यकाभित्रका होटेलमा आफ्नै खर्चमा कम्तीमा सात दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्छ । तर, पिसिआर नेगेटिभ मात्र भएका उडानबाट आएका नेपाली नागरिकलाई १४ दिन होम क्वारेन्टिनमा बस्ने लिखित प्रतिबद्धतासहित जान दिने र यसको अनुगमन स्थानीय तहले गर्नेछन् ।

एउटै उडानमा पिसिआर नेगेटिभ  भएका र पिसिआर परीक्षण नभएका व्यक्तिलाई मिसाएर ल्याउन नपाइने व्यवस्था गरिएको छ । पिसिआर नेगेटिभ भएका र पिसिआर परीक्षण नभएका व्यक्तिलाई एउटै उडानबाट ल्याएमा सबै यात्रु होटेल क्वारेन्टिनमा बस्नुपर्ने र होल क्वारेन्टिनमा लागेको खर्च सम्बन्धित एयरलाइन्सले नै व्यहोर्नुपर्नेछ ।  
 

सुझावित समाचार