मासु जाँच ऐन लागू भएको दुई सातामा ८ वधस्थलबाट मात्रै प्रमाणीकरण

आइतबार, १३ मंसिर, २०८३
प्रिन्ट संस्करण
  • १ मंसिरबाट ऐन सुरु हुँदा पाँचवटा पशु चौपाया वध गर्ने स्थलका मासुमा सरकारी छाप लगाएर थालनी, दुई सातामा तीन वधस्थल थप । अहिले पनि बजारमा अधिकांश मासु सरकारी छाप नलगाई बिक्री, उपभोक्ता अधिकारकर्मीको खबरदारी

काठमाडाैं- उपत्यकामा सरकारी छाप लागेको स्वस्थ मासु मात्रै बिक्री–वितरण गराउने उद्देश्यले १ मंसिरबाट लागू भएको ‘पशु वधशाला तथा मासु जाँच ऐन, ०५५’ को सुरुवाती कार्यान्वयन फितलो गरेको सरकारले त्यसयता पनि सशक्त रूपले निरीक्षण गर्न सकेको छैन । पशु सेवा विभागका अनुसार ऐन कार्यान्वयन भएको दुई साता बित्न लाग्दा उपत्यकाका आठवटा वधस्थलबाट मात्रै सरकारी छाप लागेको मासु प्रमाणीकरण गर्ने काम भइरहेको छ ।

विभागका वरिष्ठ पशु चिकित्सक डा. नवराज श्रेष्ठका अनुसार हालसम्म भ्याली कोल्ड स्टोर (बालाजु), थ्री स्टार फुड प्रालि (टोखा), युनिक मिट स्टोर (भीमसेनगोला), बुढाथोकी कोल्ड स्टोर (सीतापाइला), माँ भगवती मिट स्टोर (सोह्रखुट्टे), द हाइजेनिक चिकेन हब प्रालि (सूर्यविनायक), न्यु पञ्चकन्या सप्लायर्स (ठिमी) र सिन्धु चिकेन प्रोसेसिङ प्रालि (टोखा)मा कुखुरा वध गर्ने र स्वस्थ भएको प्रमाणित भए सरकारी छाप लगाएर बजारमा बिक्रीका लागि पठाउन अनुमति दिने गरिएको छ । ‘आमउपभोक्ताले स्वस्थ मासु उपभोग गर्न पाउने परिस्थिति सिर्जना गर्नका लागि मासु जाँच ऐनको कार्यान्वयन थालिएको हो,’ श्रेष्ठले भने, ‘अहिले सुरुवात भएको छ । आगामी दिनमा बिस्तारै सेवा विस्तार हुनेछ । सरकारको उद्देश्य सरकारी छाप लागेको मासु मात्रै बजारमा उपलब्ध होस् भन्ने हो । यसका लागि निरन्तर प्रयास गरिरहेका छौँ ।’

उपत्यकामा सबैभन्दा बढी ४१ प्रतिशत कुखुराको मासु खपत हुने भएको सुरुमा चिकेनबाटै सरकारी छाप लगाउन कडाइ गरिएको उनले बताए । विभागको तथ्यांकअनुसार राँगा–भैँसीको मासु ३१ प्रतिशत, खासी–बोका–च्यांग्राको मासु २० प्रतिशत र सुँगुर–बंगुरको मासु ८ प्रतिशत खपत हुने गरेको छ । ‘सबैभन्दा बढी चिकेनकै बजार रहेका कारण सुरुमा त्यही क्षेत्रबाट नियमन थालेका हौँ,’ उनले भने, ‘बिस्तारै अन्य मासुमा पनि ऐनअनुसार निरीक्षण हुन्छ ।’

उनले ऐन सुरु भएपछि बजारमा एकैपटक सरकारी छाप लागेको मासु मात्रै उपलब्ध हुने अपेक्षा उपभोक्ताले गरे पनि सरकारी संयन्त्रबाट काम गर्दा केही कमजोरी भएको उनले स्वीकार गरे । ‘मासु सुपरिवेक्षक तोक्ने काम नै समयमा हुन सकेन । तीन दिनअघिको बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकबाट २३ जना सुपरिवेक्षक तोकिएको छ,’ उनले भने, ‘अब, सुपरिवेक्षकले वध गर्ने स्थलको अनुमति दिने काम फटाफट हुन्छ । त्यसैले एक सातामा वध गर्ने स्थलको संख्या एक सय हाराहारी पुग्न सक्छ । त्यसपछि बजारमा उपलब्ध धेरै मासुमा सरकारी छाप देख्न पाइनेछ ।’

विभागका अनुसार ऐन लागू भएपछि वध गर्ने स्थलको अनुमति माग्दै एक सय ३० वटा निवेदन परेका छन् । निवेदन दिने सबैको पूर्वाधार निरीक्षण गरेर कम्तीमा सयवटालाई तत्काल अनुमति दिने विभागको योजना छ ।उपत्यकाका २१ स्थानीय तहमा विभागले दुई सय ४० मासु निरीक्षक तोकेको छ । यी निरीक्षकहरू वध गर्ने स्थलमा पुगेर जिउँदो पशु चौपायाको स्वास्थ्य परीक्षण गरी वध गर्न अनुमति दिने र वध गरिसकेको मासुमा पनि पुनः परीक्षण गरेर मात्रै स्वस्थ रहेको प्रमाणित गर्न सरकारी छाप लगाउने व्यवस्था छ । अहिले बालाजुको भ्याली कोल्ड स्टोमा खटिएका तीनजना निरीक्षक राति ११ बजेदेखि बिहानसम्म प्रत्येक कुखुरामा छाप लगाउन व्यस्त हुने गरेको श्रेष्ठले जानकारी दिए ।

कुखुरा व्यवसायी संघका अनुसार उपत्यकामा दैनिक औसतमा पाँच लाख किलो कुखुराको मासु खपत हुने गरेको छ । तर, अहिले सरकारले आठवटा वधस्थलबाट २० हजार किलो कुखुराको मासुमा पनि सरकारी छाप लगाउन सकेको छैन । ०५५ मा बनेको ऐन लामो समयको पर्खाइपछि लागू भए पनि फितलो सुरुवातका कारण सर्वसाधारण निराश बनेको उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले बताए । उनले बजारमा उपलब्ध हुने सबै मासुमा सरकारी छाप लगाई स्वस्थकर प्रमाणित गर्ने काम छिटो गर्न सुझाव दिए ।

सुझावित समाचार