विजयादशमीले आपसी सदभाव र सामाजिक सम्बन्ध सुदृढ बनाउने राष्ट्रपति पौडेलको विश्वास

बुधबार, ५ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमी पर्वले नेपाली समाजमा पारिवारिक आत्मीयता, आपसी सदभाव, एकता र सामाजिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।

विजयादशमी, २०८३ को अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइको सुख, शान्ति, सु-स्वास्थ्य र समृद्धिको कामना गरेका हुन्।

राष्ट्रपति पौडेलले विजयादशमीका दिन दुर्गा भवानीको पूजाआराधना गरी गुरु, पुरोहित तथा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्पराले यस पर्वको सांस्कृतिक महत्त्वलाई थप उजागर गरेको उल्लेख गरेका छन्।

उनका अनुसार विजयदशमीले मान्यजनप्रति श्रद्धा र सम्मान प्रकट गर्ने अवसर प्रदान गर्नुका साथै नेपाली समाजमा रहेको मौलिक सांस्कृतिक परम्परा र पारिवारिक सम्बन्धलाई सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।

राष्ट्रपति पौडेलले विजयादशमी पर्वले सम्पूर्ण नेपालीको सुख, शान्ति र कल्याण सुनिश्चित गर्न तथा राष्ट्रको स्थायित्व, सुशासन, विकास र समृद्धिमा योगदान पुर्याउन सकोस् भन्ने कामनासहित नवदुर्गा भवानीसँग प्रार्थनासमेत गरेका छन्।

सुझावित समाचार