मधेश प्रदेशमा ३३ दिने विशेष सुरक्षा योजना

बुधबार, २१ असोज, २०८३
डिजिटल संस्करण

सिराहा । मधेश प्रदेशमा प्रहरीले ३३ दिने विशेष सुरक्षा योजना लागू गर्ने भएको छ ।
प्रदेशका आठवटै जिल्लामा विशेष सुरक्षा योजना लागू गर्ने गरी प्रदेश प्रहरीले तयारी गरेको हो ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसी) प्रभुप्रसाद ढकालले असोज २९ गतेदेखि कात्तिक ३० गतेसम्म प्रदेशका विभिन्न स्थान सात हजार २२९ प्रहरी परिचालन हुन लागेको बताएका छन् ।

सबैभन्दा बढी प्रहरी धनुषामा एक हजार ५९९ जना परिचालन गरिने योजना छ । विशेष सुरक्षा  योजनाअनुसार पर्सामा ६६१, बारामा ८७०, रौतहटमा ८६३, सर्लाहीमा ७९२, महोत्तरीमा ७४७, सिराहामा ६५१ र सप्तरीमा ८५७ प्रहरी परिचालन गरिने एसएसपी ढकालले बताए ।

चाडपर्वका क्रममा सुरक्षा व्यवस्थापनका लागि एक हजार १२४ ड्युटीअन्तर्गत पाँच हजार ४८१ प्रहरी परिचालन हुनेछन् ।

यसअन्तर्गत १४ जिल्ला रिजर्भ, ९२ क्युआरटी, १८ स्ट्राइकिङ टोली, ८७ ट्राफिकसहितको चेकिङ, ८६ मोबाइल गस्ती र १८० पैदल गस्ती परिचालन गरिनेछ । यस्तै, शंकास्पद स्थानमा पिकेटका लागि ३३९, राजमार्गमा स्कर्टिङका लागि २९ र यात्रु सहायता कक्षका लागि ६४ ड्युटी तोकिएको छ ।

सीमानाकामा चोरी–तस्करी नियन्त्रणका लागि ७३, धार्मिक तथा पर्यटकीय स्थलको सुरक्षाका लागि ३७, बजार अनुगमनका लागि २१ र कर्डन तथा सर्चका लागि १८ ड्युटी परिचालन गरिनेछ ।

सभा, जुलुस तथा धर्नाको आकस्मिक सुरक्षाका लागि १६ र विपत् प्रतिकार्यका लागि २२ टोली परिचालन हुनेछन् । सीमानाकामा २८ वटा हेल्प डेस्कसमेत सञ्चालन गरिने एसएसपी ढकाले बताए ।

सुझावित समाचार