मकवानपुर/ मकवानपुरको भीमफेदी र बागमती गाउँपालिकामा मंगलबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार वर्षीय बालकसहित दुईजनाको मृत्यु भएको छ ।
भीमफेदीमा ल्यान्ड क्रुजर र मोटरसाइकल ठोक्किँदा एक युवक तथा बागमतीमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु भएको हो । भीमफेदीकै दुर्घटनामा थप दुईजना सामान्य घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार भीमफेदी गाउँपालिका वडा नम्बर ६ धानगोदाममा अपराह्न करिब चार बजे भएको दुर्घटनामा हेटौँडा उपमहानगरपालिका–५ सिद्धार्थपथका करिब २५ वर्षीय महेश्वर घिमिरे खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ।
भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.१२ च ४१६४ नम्बरको ल्यान्ड क्रुजरले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०१८ प ०४५९ नम्बरको जाभा मोटरसाइकललाई ठक्कर दिएको थियो ।
मोटरसाइकल चालक खत्रीलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सोही क्रममा काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको बा.५४ प २५६६ नम्बरको होन्डा मोटरसाइकल अनियन्त्रित भएर सडकको बायाँतर्फको नालामा खसेको थियो । उक्त मोटरसाइकलका चालक र पछाडि सवार व्यक्ति घाइते भएका छन् ।
घाइते हुनेमा भारत घर भई काठमाडौं महानगरपालिका–२८ माइतीघरमा डेरा गरी बस्ने करिब ३२ वर्षीय मुन्ना आलाम र सोही ठाउँ बस्ने करिब ३१ वर्षीय चुन्नु आलम छन् । दुवैको बायाँ हात र खुट्टामा चोट लागेको छ । उनीहरूको हेटौँडा अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
यता मंगलबारै बागमती गाउँपालिका–८ साततलेमा साँझ छ बजे मोटरसाइकलको ठक्करबाट स्थानीय सरोज घलानका चार वर्षीय छोरा प्रिभेस घलानको मृत्यु भएको छ ।
मदन भण्डारी लोकमार्गमा फापरबारीबाट हात्तिसुँडेतर्फ आउँदै गरेको प्रदेश ०३–०२–००३ प २६३१ नम्बरको मोटरसाइकलले बालकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि मोटरसाइकल चालक बकैया गाउँपालिका–३ चिसापानीका करिब २४ वर्षीय दीपक थिङले अभिभावकसहित घाइते बालकलाई उपचारका लागि हेटौँडास्थित सहकारी अस्पताल ल्याएका थिए । अस्पताल ल्याइपुर्याइएका बालकलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
दुबै घटनाका चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।