महाधिवेशनको तयारीका लागि देउवा पक्षले कैलालीका पाँचै क्षेत्रमा तोक्यो संयोजक

सोमबार, १२ असोज, २०८३
डिजिटल संस्करण

छुट्टै महाधिवेशनको तयारीमा रहेको नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले कैलालीका पाँचवटै निर्वाचन क्षेत्रमा संयोजक तोकेको छ। यही १५ असोजबाट सुरु हुने महाधिवेशनको प्रक्रियाका लागि निर्वाचन क्षेत्र र पालिकाहरूमा संयोजकहरू खटाइएको नेताहरूले बताएका छन्।

महाधिवेशनअन्तर्गत देउवा पक्षले १५ असोजबाट वडा सम्मेलन गर्दै छ। वडा, पालिका र क्षेत्रीय सम्मेलन सम्पन्न गर्नका लागि यहाँका सबै निर्वाचन क्षेत्र र पालिकाहरूमा संयोजक तोकिएको देउवा पक्षका नेता नृपबहादुर ओडले जानकारी दिए। जिल्लाका १२६ वटै वडामा सम्मेलन हुने उनले बताए।

देउवा पक्षले सोमबार धनगढीमा पत्रकार सम्मेलन गरेर निर्वाचन क्षेत्र र पालिकामा संयोजक तोकिएको तथा जिल्लामा भइरहेको सम्मेलनको तयारीबारे जानकारी दिएको छ। क्षेत्र नम्बर १ मा भुवन अधिकारी, २ मा रामबहादुर बिष्ट, ३ मा रिता चौधरी, ४ मा यज्ञनिधि कोइराला र क्षेत्र नम्बर ५ मा यज्ञराज उपाध्यायलाई संयोजकको जिम्मेवारी दिइएको छ।

यसअघि नै कैलाली जिल्ला संयोजकमा उपसभापति खेम चौधरी र सहसंयोजक रामसमझ रानालाई तोकिएको छ। पत्रकार सम्मेलनमा नेता ओडले १४औँ महाधिवेशनबाट निर्वाचित सभापति देउवा नेतृत्वको कार्यसमितिलाई नै १५औँ महाधिवेशन गर्ने अधिकार रहेको दाबी गरे।
 

सुझावित समाचार