हेटौँडामा मोटरसाइकल र ट्यांकर ठोक्किँदा दुई घाइते, एकको अवस्था गम्भीर

शनिबार, १० असोज, २०८३
डिजिटल संस्करण

हेटौँडा उपमहानगरपालिका–४, नारायणी महलनजिक पूर्व–पश्चिम महेन्द्र राजमार्गमा शनिबार मोटरसाइकल र ट्यांकर ठोक्किँदा दुईजना घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर र अर्काको मध्यम रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दिउँसो करिब २:२० बजे कर्राबाट हेटौँडा बजारतर्फ आउँदै गरेको बा ६१ प २२६० नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो।

प्रहरीका अनुसार दुर्घटनामा परेको मोटरसाइकलले अगाडि सोही दिशातर्फ गइरहेको अर्को मोटरसाइकललाई ओभरटेक गरी अघि बढ्ने क्रममा विपरीत दिशाबाट आइरहेको ना ७ ख ५२३२ नम्बरको खाली ट्यांकरसँग ठोक्किएको थियो। दुर्घटनामा मोटरसाइकलचालक हेटौँडा उपमहानगरपालिका वडा नमुना ११ नवलपुरका करिब २५/३० वर्षीय रोहित बिडारी र पछाडि सवार सोही स्थानको शान्तिचोकका २३ वर्षीय कबिन सरकार घाइते भएका छन्।

प्रहरीका अनुसार सरकारको अवस्था गम्भीर छ भने बिडारीको अवस्था मध्यम छ। दुवैलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर र वडा प्रहरी कार्यालय हेटौँडाबाट खटिएको प्रहरी तथा ट्राफिक टोलीले उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाएको छ।

ट्यांकरचालक पर्साको जगरनाथपुर गाउँपालिका–४ का करिब २३ वर्षीय विशाल यादवलाई समेत नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सुझावित समाचार