मुगुको खत्याडमा घरमा आगलागी, घरसहित धनमाल जलेर नष्ट

शनिबार, १० असोज, २०८३
डिजिटल संस्करण

मुगुको खत्याड गाउँपालिका–२, सेरी गाउँमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। आगलागीबाट घरभित्र रहेका अन्नपात, लत्ताकपडालगायत सम्पूर्ण धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक रविराज थपलियाका अनुसार शनिबार राति करिब १२:१५ बजे स्थानीय ६१ वर्षीय शिवचन्द्र बुढा र धनबहादुर बुढा दाजुभाइको जोडिएको घरको भान्साबाट अचानक आगो सल्किएको थियो। ढुंगा–माटोले बनेको र टिनले छाएको तीनतले घरमा आगलागी भएको खबर राति करिब १:३० बजे प्रहरीलाई प्राप्त भएको थियो।

घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी श्रीकोटबाट प्रहरी सहायक निरीक्षक नन्दबहादुर रावतको कमान्डमा पाँचजनाको टोली घटनास्थलतर्फ खटिएको थियो। प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा बिहान करिब ९ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको डिएसपी थपलियाले बताए।

आगलागीबाट भौतिक क्षति भए पनि मानवीय तथा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ। घटनास्थलमा मोबाइल नेटवर्क नभएकाले राति खटिएको प्रहरी टोलीसँग तत्काल सम्पर्क हुन सकेको थिएन। बिहान ९:१५ बजे प्रहरी टोलीसँग सम्पर्क भएपछि मात्रै घटनाबारे थप विवरण प्राप्त भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार क्षतिको पूर्ण विवरण मुचुल्का तयार भएपछि मात्रै यकिन हुनेछ। घटनास्थल प्रहरी चौकी श्रीकोटदेखि पूर्वतर्फ करिब आधा घण्टाको पैदल दूरीमा पर्छ। आगलागीको कारण भने खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

See More On

सुझावित समाचार