अघिल्लो आर्थिक वर्षलाई पर्यटन पूर्वाधार भ्रमण वर्ष घोषणा गरेको कोशी प्रदेशले ०८३ देखि ०८५ सम्म प्रदेश भ्रमण वर्ष घोषणा गरेको छ । धेरै पर्यटक आकर्षित गर्न तीन वर्षलाई भ्रमण वर्ष घोषणा गरे पनि पर्यटकले खाने–बस्ने पर्यटकीय होटेल, रेस्टुरेन्ट र घुमफिर गर्ने व्यवसायबारे व्यवस्थित अभिलेख भने अहिलेसम्म पनि गरिएको छैन । जसले कोशी प्रदेश भ्रमण वर्षको प्रचारप्रसारमा समस्या देखापरेको छ ।
प्रदेश सरकारले ०७६ मा प्रदेश पर्यटन कानुन र ०७७ मा नियमावली बनाएको थियो । उक्त कानुनले प्रदेशभित्र रहेका पर्यटकस्तरका सबै होटेल, लज, रेस्टुरेन्ट, बार र रिसोर्टदेखि ट्रेकिङ एजेन्सी, पथप्रदर्शक, प्याराग्लाइडिङ, जंगल सफारी, क्याम्पिङ, हाइकिङ, केबलकार, रकक्ल्याइम्बिङ, वर्डवाचिङ, क्यानोइङ, धार्मिक पर्यटनलगायतका अन्य पर्यटन व्यवसायलाई मातहतका निकायमार्फत प्रक्रिया पुर्याएर सूचीकृत गराउने र अभिलेख राख्नेदेखि मापदण्डको अनुगमन नियमन गर्ने र उल्लंघन गरेमा दण्ड–सजायसमेत गर्ने व्यवस्था गरेको छ ।
तर, कानुन बनेको सात वर्षमा पनि कोशी प्रदेशको पर्यटन मन्त्रालयमा हालसम्म जम्मा तीनवटा पर्यटकीय होटेल मात्रै दर्ता भएका छन् । जबकि, कोशी प्रदेशभित्र करिब १० हजारसम्म पर्यटकस्तरका होटेल, लज, रेस्टुरेन्टदेखि कफीसप सञ्चालनमा रहेको अनौपचारिक तथ्यांक छ ।