गृह मन्त्रालयले कर्मचारीको व्यापक फेरबदल गरेको छ । लामो समयदेखि एउटै कार्यालयमा बसेका कर्मचारीलाई अन्यत्र खटाउँदै रिक्त दरबन्दीमा कर्मचारी खटाइएको छ । यो साता मात्र मन्त्रालयले २७१ कर्मचारीको सरुवा गरेको छ ।
बिहीबार मन्त्रालयले ५५ अधिकृतको सरुवा गरेको छ । जसमा एक वर्ष अवधि पुगेका सबै जेलरलाई अन्यत्र खटाइएको छ । सरुवामा सोही जिल्लाको प्रशासन कार्यालयमा कार्यरत अधिकृतलाई जेलमा खटाएर जेलरलाई प्रशासन कार्यालयमा जिम्मेवारी हेरफेर गरिएको छ । कारागारमा विकृति रहेको सूचनाका आधारमा अवधि पुगेका सबै कर्मचारीलाई हटाउने अभियान मन्त्रालयले थालेको हो ।
मंगलबार मन्त्रालयले ४९ अधिकृतको सरुवा गरेको थियो । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रालयमा पठाएका सबैजसो अधिकृतलाई अध्यागमन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयमा खटाएको छ । त्यस्तै, ५ असोजमा ९७ जना नासु तथा २ असोजमा ७० जना नासु, कम्प्युटर अपरेटर र खरिदारको सरुवा गरिएको थियो ।
गृह मन्त्रालयअन्तर्गतका दुर्गम तथा तराईका जिल्लाका सिडिओ कार्यालयमा सधैँजसो दरबन्दीअनुसार कर्मचारी अभाव हुने गरेको छ । जसकारण सेवा प्रभावित हुने गरेको छ । ती ठाउँमा कर्मचारी जानै नमान्ने प्रवृत्ति छ । यसपटक रिक्त रहेका सबै दरबन्दीमा कर्मचारी पठाइएको छ । ‘नासु र खरिदार दरबन्दीअनुसार खटाइसकिएको छ,’ मन्त्रालयका सहसचिव सुरेश पन्थी भन्छन्, ‘शाखा अधिकृतका केही दरबन्दी रिक्त छन्, त्यसमा पनि खटाउने प्रयास गरिरहेका छौँ ।’ वर्षाैँदेखि सिंहदरबारमा बस्दै आएका कर्मचारी ट्रेड युनियनका नेतालाई पनि दुर्गम जिल्लामा खटाइएको छ ।