आर्थिक अभावका कारण घरमै असुरक्षित रूपले शिशुलाई जन्म दिन बाध्य भएकी मोरङको पथरीशनिश्चरे नगरपालिका– ५, सुगाको प्लान टोलकी २१ वर्षीया चन्द्रिका ऋषिदेवलाई विराटनगरस्थित पारस अस्पतालले उपचारमा सहयोग गर्ने भएको छ ।
पारस अस्पतालका अध्यक्ष तथा चिकित्सक डा. सफिउर रहमानको टोलीले सुत्केरीकै घरमा पुगेर ५० हजारबराबरको खाद्यान्न र न्यानो कपडासहित ११ हजार रुपैयाँ सहयोग गरेको हो । साथै, सुत्केरी आमा, नवजात छोरी अनि किड्नीमा पत्थरी भएका श्रीमान् सुमन ऋषिदेवको पारस हस्पिटलमा निःशुल्क उपचार हुने भएको छ । चन्द्रिकालाई एक वर्षसम्म र उनकी छोरीको पाँच वर्षसम्म उपचार सहयोग गर्ने पारस अस्पतालका अध्यक्ष डा. रहमानले बताए । सुत्केरी आमा र नवजात छोरीलाई बिहीबारै विराटनगर ल्याएर उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।
चन्द्रिकाको घरमा पुगेकी हसन्दह स्वास्थ्य चौकीकी अनमि अम्बिका दर्नालले आफैँ बसभाडा सहयोग गरेर बुधबार सुत्केरी आमालाई पथरीस्थित नगर अस्पतालसम्म पुर्याएकी थिइन् । नगर अस्पतालले उनीहरूलाई न्यानो लुगा सहयोग गरेको थियो । चरम गरिबीका कारण अस्पताल पुग्न नसकेकी चन्द्रिकाले आइतबार बिहान साढे ३ बजे पहिलोपटक घरमै असुरक्षित रूपमा छोरीलाई जन्म दिएकी थिइन् । सुत्केरी भएको चार दिन बितिसक्दा पनि आमा र शिशुले आवश्यक स्वास्थ्य परीक्षण, पोषण, आहार र न्यानो लुगा पाउन नसक्दा सुत्केरी आमा र उनकी नवजात छोरी चिसो भुइँमै दिनरात काटिरहेका थिए । चन्द्रिकाका २९ वर्षीय श्रीमान् सुमन ऋषिदेव ट्र्याक्टरमा मजदुरी गर्छन् । तर, कामको सिजन नभएकाले अहिले उनी बेरोजगार छन् ।