कान्ति लोकपथ र पृथ्वी राजमार्ग पहिरोले अवरुद्ध

त्रिभुवन राजपथ र फाखेल–सिस्नेरी सडक खुला

शुक्रबार, ९ असोज, २०८३
डिजिटल संस्करण

अविरल वर्षाका कारण पहिरो खस्दा हेटौँडाबाट काठमाडौं जोड्ने कान्ति लोकपथको ललितपुरखण्ड र पृथ्वी राजमार्गको धादिङखण्डमा सवारी आवागमन अवरुद्ध भएको छ । हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल–सिस्नेरी सडक र त्रिभुवन राजपथमा भने शुक्रबार बिहानसम्म पहिरोको अवरोध नरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी माधव काफ्लेका अनुसार कान्ति लोकपथको मकवानपुरखण्डमा सडक खुला रहे पनि ललितपुरतर्फ तीन स्थानमा पहिरो खसेकाले काठमाडौंसम्मको आवागमन रोकिएको छ ।

‘मकवानपुरतर्फ कान्ति लोकपथ खुला छ । तर, ललितपुरको बागमती गाउँपालिका– ३ स्थित पाँचधुरे, पयाङधुर र टीकाभैरव क्षेत्रमा सडक माथिबाट पहिरो खसेर पूर्ण रूपमा अवरुद्ध भएको जानकारी प्राप्त भएको छ,’ उनले बताए। उनका अनुसार शुक्रबार बिहान ६ः१५ बजे ललितपुरको भट्टेडाँडाबाट ती स्थानमा पहिरो खसेको जानकारी मकवानपुर प्रहरीलाई प्राप्त भएको थियो ।

कृष्णभिर र ज्यामिरेमा पहिरो, पृथ्वी राजमार्गमा सवारी रोक
यता पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरनजिकै र ज्यामिरे क्षेत्रमा पनि पहिरो खसेको छ । दुवै स्थानमा पहिरोका कारण सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय चितवन र धादिङले अर्को सूचना जारी नभएसम्म पृथ्वी राजमार्गमा सवारीसाधनको आवागमन पूर्ण रूपमा रोक्ने सूचना जारी गरेका छन् ।

यसअघि त्रिशूली नदीको बाढीले कटान गरेको कृष्णभिर क्षेत्रमा नयाँ ट्र्याक निर्माण गरेर असोज १ गतेदेखि यातायात सञ्चालनमा ल्याइएको थियो । त्यसपछि पनि वर्षासँगै उक्त खण्डमा पटक–पटक पहिरोको समस्या देखिएको छ । शुक्रबार पुनः पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो ।

त्रिभुवन राजपथ र फाखेल–सिस्नेरी सडकमा पहिरोको अवरोध छैन
मकवानपुर प्रहरीका अनुसार हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल–सिस्नेरी सडकखण्डमा शुक्रबार बिहानसम्म पहिरो खसेको छैन। उक्त सडकखण्ड खुला रहेको प्रहरीले जनाएको छ ।

यस्तै, हेटौँडाबाट भैँसे, पालुङ र दामन हुँदै काठमाडौं जोड्ने त्रिभुवन राजपथमा पनि पहिरोको अवरोध नरहेको डिएसपी काफ्लेले जानकारी दिए । भारी वर्षाको पूर्वानुमानसँगै जोखिमयुक्त सडकमा यसअघि नै रातिको सवारी आवागमन नियन्त्रण गर्ने व्यवस्था गरिएको छ ।

अहिले खुला रहेका सडकमा पनि वर्षा र पहिरोका कारण जुनसुकै वेला अवस्था परिवर्तन हुन सक्ने भएकाले यात्रा गर्नुअघि सम्बन्धित प्रहरी तथा प्रशासनसँग सडकको पछिल्लो अवस्था बुझेर मात्रै यात्रा गर्न डिएसपी काफ्लेले आग्रह गरेका छन् ।
 

See More On

सुझावित समाचार