बिहीबार १० बजेसम्मको प्रमुख १० खबर

बिहिबार, ८ असोज, २०८३
डिजिटल संस्करण

आज राति पाँच प्रदेशका केही ठाउँमा भारीदेखि धेरै भारी वर्षा हुने, तराईमा हावाहुरीको चेतावनी

आज बिहीबार राति पनि देशभर वर्षा हुने भएको छ। नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको बुलेटिनअनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै तथा मधेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।

राति मधेश, कोशी, बागमती, गण्डकी र लुम्विनीको तराई भूभागका केही स्थानमा हावाहुरीको समेत चेतावनी दिइएको छ। राति कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी भूभागका अधिकांश स्थान एवं कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ।

भारी वर्षाको जोखिमपछि उच्च सतर्कता अपनाउन प्रधानमन्त्री शाहको आग्रह

प्रधानमन्त्री बालेन शाहले देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा र हावाहुरीको सम्भावना रहेकाले असोज ९ देखि ११ गतेसम्म उच्च सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेका छन्।

अमेरिकाबाट सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले जल तथा मौसम विज्ञान विभागले उक्त अवधिमा देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा तथा हावाहुरी हुन सक्ने पूर्वानुमान गरेको जानकारी दिएका हुन्।

वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आगामी असोज ९ गतेदेखि ११ गतेसम्म देशका विभिन्न स्थानमा अत्यधिक वर्षा हुन सक्ने पूर्वानुमानपछि सबै स्थानीय तहलाई उच्च सतर्कता अपनाउँदै आवश्यक पूर्वतयारी गर्न आग्रह गरेको छ।

मन्त्रालयअन्तर्गतको विपत् व्यवस्थापन तथा सामाजिक समावेशीकरण शाखाले मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त पूर्वानुमानका आधारमा देशभरका स्थानीय तहलाई पत्राचार गरी सम्भावित विपत् जोखिम न्यूनीकरण तथा पूर्वतयारीमा जुट्न आग्रह गरेको हो।

मन्त्रालयले असोज ९ गतेदेखि ११ गतेसम्म अत्यधिक वर्षा हुन सक्ने भएकाले वर्षाका कारण उत्पन्न हुन सक्ने विपतको जोखिम तथा सम्भावित क्षति न्यूनीकरणका लागि उच्च सतर्कताका साथ रहन स्थानीय तहलाई आग्रह गरेको छ।

कुलेखानी जलाशय क्षेत्रमा लगातार तीनपटक साइरन बजे तत्काल सुरक्षित स्थानमा जान आग्रह

भारी वर्षाको पूर्वानुमानसँगै कुलेखानी जलाशयमा पानीको सतह बढ्न सक्ने जोखिमलाई ध्यानमा राखेर ड्यामको सुरक्षा साइरनसम्बन्धी तीन तहको चेतावनी प्रणाली सार्वजनिक गरिएको छ। कुलेखानी प्रथम जलविद्युत् केन्द्र र इन्द्रसरोवर गाउँपालिकाले बिहीबार सूचना जारी गर्दै साइरनको संकेतअनुसार तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेका हुन्।

लगातार वर्षा हुँदा जलाशयमा पानीको सतह बढेर सुरक्षाका लागि स्पिलवे गेट अर्थात् बाँधको मुख्य ढोका खोल्नुपर्ने अवस्था आउन सक्ने भएकाले पूर्वचेतावनीको व्यवस्था गरिएको हो। यस्तो अवस्थामा ड्यामको तल्लो तटीय क्षेत्र, खोलानाला र नदीकिनार आसपासका बस्तीमा जोखिम बढ्न सक्ने जलविद्युत् केन्द्र र गाउँपालिकाले जनाएका छन्।

सार्वजनिक सूचनाअनुसार साइरनको आवाज र अवधि फरक–फरक अवस्थाको संकेत हुनेछ। पहिलो साइरनले जलाशय भरिन लागेको, दोस्रोले पानीको सतह उच्चतम बिन्दुमा पुगेको र तेस्रोले बाँधको मुख्य ढोका खोलिएको तथा नदीमा पानीको सतह उच्च रूपमा बढ्ने अवस्था जनाउनेछ।

यस्ता छन् एमालेको केन्द्रीय समिति बैठकका २१ निर्णय

नेकपा(एमाले)को केन्द्रीय समिति बैठक सकिएको छ। बैठकले विविध २१ निर्णय गरेको छ । 

महासचिव शंकर पोखरेलद्वारा जारी प्रेस बिज्ञप्तिअनुसार केन्द्रीय समितिमा मनोनयनदेखि पार्टीको रुपान्तणसम्मका निर्णय भएका छन् । 

पूर्वराष्ट्रपति भण्डारी एमालेको वरिष्ठ नेतामा प्रस्तावित

नेकपा (एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेता बनाउने निर्णय गरेको छ।

पार्टी सचिवालयको आज बसेको बैठकले भण्डारीलाई वरिष्ठ नेता बनाउने निर्णय गरेको हो। अब उक्त निर्णयलाई केन्द्रीय कमिटीबाट अनुमोदन गरिनेछ।

भण्डारी यसअघि एमालेको उपाध्यक्षसमेत भइसकेकी छिन्। उनले पार्टीको ११औँ महाधिवेशनअघि नै सक्रिय राजनीतिमा फर्किएर नेतृत्व तहमा भूमिका निर्वाह गर्ने तयारी गरेकी थिइन्। तर, पार्टी सदस्यता नभएका कारण उनी सक्रिय हुन पाएकी थिइनन्।

बिदाका दिनसमेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन

सम्भावित भारीदेखि अतिभारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानलगायतका विपतजन्य अवस्था सिर्जना हुन सक्ने भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतासहित पूर्वतयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

मौसम पूर्वानुमान महाशाखाबाट जारी सूचना तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त निर्देशनअनुसार मन्त्रालयले ०८३ असोज ८ गतेदेखि ११ गतेसम्म देशका विभिन्न भागमा हुन सक्ने भारीदेखि अतिभारी वर्षालाई मध्यनजर गर्दै प्रदेशका स्वास्थ्य सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा विभाग, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा संघीय अस्पतालहरूलाई सम्भावित जोखिम न्यूनीकरण र प्रभावकारी प्रतिकार्यका लागि आवश्यक व्यवस्था मिलाउन अनुरोध गरेको हो ।

मन्त्रालयले सार्वजनिक बिदाका दिनमा समेत स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई आवश्यकताअनुसार सम्पर्कमा रहने र विपतकाे अवस्था सिर्जना भए तत्काल परिचालन हुन सक्ने गरी आवश्यक पूर्वतयारी मिलाउन निर्देशन दिएको छ ।

विवाहको भोजबाट फर्किएको जिप दुर्घटना हुँदा एकको मृत्यु, १० घाइते

विवाहको भोज खाएर फर्किने क्रममा जिप दुर्घटना हुँदा स्याङ्जामा एकजनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

भिरकोट नगरपालिका–१, करुङस्थित बयरघारी–केघा भित्री सडकखण्डमा बिहीबार साँझ करिब ५ बजे ग.१ज. ७६१० नम्बरको जिप दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीका अनुसार भिरकोट–३, बजादीमा विवाहको भोज खाएर बयरघारीतर्फ आउँदै गरेको जिप घुम्तीमा मोडिने क्रममा दुर्घटनामा परेको हो। जिपको स्टेरिङ लक भएर मोडिन नसक्दा सडकबाट करिब २० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि वडा प्रहरी कार्यालय वालिङ र प्रहरी चौकी तेह्रथुमबाट प्रहरी निरीक्षक सुशील घिमिरेको कमान्डमा खटिएको १० जनाको प्रहरी टोलीले स्थानीयको सहयोगमा चालकसहित ११ जना घाइतेको उद्धार गरी भिरकोट नगर अस्पताल पुर्याएको थियो।

पृथ्वी राजमार्ग आज रातभर बन्द रहने

पृथ्वी राजमार्ग आज रातभर बन्द रहने भएको छ। भारीदेखि अतिभारी वर्षाको प्रक्षेपणपछि जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै आज बेलुकी ८ बजेदेखि भोलि बिहान ५ बजेसम्म राजमार्ग बन्द रहने जनाएको हो।

उक्त समयमा पृथ्वी राजमार्ग भएर चल्ने सम्पूर्ण सवारीसाधनको आवागमनमा पूर्ण रूपमा रोक लगाइएको सूचनामा उल्लेख छ।

पुरुष कबड्डीकाे अन्तिम खेलमा नेपालले मलेसियालाई हरायो

पुरुष कबड्डी टिमले जापानको आइची नागोयामा चलिरहेको २०औँ एसियाली खेलकुदमा पहिलो जित निकालेको छ । पुरुष कबड्डीतर्फ नेपालले मलेसियालाई हराएको छ । 

बुधबार तोकाई सिटिजन जिम्याजिउममा भएको समूह ‘बी’को अन्तिम खेलमा नेपालले मलेसियालाई ७३–५२ ले हरायो । पहिलो हाफमा नेपालले ३७–२१ को अग्रता बनाएको थियो । दोस्रो हाफमा पनि नेपालले ३६–३१ को अग्रता बनाउन सफल भयो । 

सुझावित समाचार