भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियोबारे सांसद संग्रौलाको ध्यानाकर्षण

बिहिबार, ८ असोज, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद टीका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) लाई धम्क्याएको भनिएको अडियो सार्वजनिक भएको विषयमा सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद संग्रौलाले राज्यको चेन अफ कमान्ड र मर्यादामाथि नै प्रश्न उठ्ने गरी सार्वजनिक भएको उक्त अडियोबारे तत्काल निष्पक्ष छानबिन गर्न माग गरेकी हुन् ।

उनले भन्सार अधिकृतले सशस्त्र प्रहरीका अधिकारीलाई अत्यन्त तल्लोस्तरको भाषा प्रयोग गर्दै धम्क्याएको विषयले राष्ट्रिय सुरक्षा निकाय तथा निजामती सेवाको मर्यादामा आघात पुर्याएको बताइन् ।

सार्वजनिक भएको भनिएको अडियोमा ती अधिकृतले सशस्त्र प्रहरी महानिरीक्षकदेखि गृहमन्त्रीसम्मलाई लक्षित गर्दै धम्कीपूर्ण अभिव्यक्ति दिएको सुनिने सांसद संग्रौलाको भनाइ छ ।

‘एउटा भन्सार अधिकृतले गृहमन्त्रीलाई नै हान्ने क्षमता राख्छन् भने यो सदनमा हामी के गरिरहेका छौँ ?’ उनले प्रश्न गरिन् ।

‘स्वाट्टै हान्छु’ भन्ने अभिव्यक्तिको आसय फोन हान्ने, प्रत्यक्ष भेटेर आक्रमण गर्ने वा पद खोस्नेसम्मको धम्की हो भन्ने विषयमा समेत छानबिन हुनुपर्ने उनले बताइन् ।

राजस्व चुहावट नियन्त्रणमा खटिएका सुरक्षाकर्मीको मनोबल गिराउने तथा राज्यका उच्च पदाधिकारीलाई सार्वजनिक रूपमा चुनौती दिने कार्य स्वीकार्य नहुने उनको भनाइ थियो ।

सुझावित समाचार