राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विपिनकुमार आचार्यले सरुवा–बढुवामा हुने भनसुन र नातावाद अन्त्य गरी विधिमा आधारित प्रणाली लागू गर्न सरकारसँग आग्रह गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद आचार्यले राजनीतिमा आएपछि आफूले भोग्ने ठुलो दबाबमध्ये सरुवा–बढुवा पनि रहेको बताए। सुशासन र पारदर्शिताका कुरा गर्ने आफन्त तथा इष्टमित्रसमेत सरुवा–बढुवाका लागि आफूलाई आग्रह गर्न आउने गरेको उनको भनाइ थियो। ‘कतिले त यति जाबो सरुवा गराउन नसक्ने भए तँ नाथे के नेता ? भनेर घुर्कीसमेत लगाउनुहुन्छ,’ उनले भने।
आफूले भने सबैलाई सरुवा–बढुवा विधि र प्रक्रियाअनुसार भइरहेको र अब भनसुन नचल्ने बताउँदै आएको आचार्यले उल्लेख गरे। रास्वपाको वाचापत्रको आठौँ वाचा स्मरण गराउँदै उनले सरकारले छिट्टै स्वायत्त सरुवा बोर्डमार्फत पूर्वानुमानयोग्य र विधिमा आधारित सरुवा प्रणाली लागू गर्ने बताएको उल्लेख गरे। सरुवा–बढुवालाई व्यवस्थित बनाउन स्वायत्त सरुवा बोर्ड चाँडै गठन गर्न उनले सरकारसँग आग्रह गरे।
‘सरकारलाई यो बोर्ड चाँडै गठन गर्न आग्रह छ। होइन भने यसपटकको दसैँमा आफ्नै इष्टमित्रबाट टीका र आशीर्वाद नपाइएला भन्ने पिर छ,’ उनले व्यंग्य गर्दै भने, ‘आशीर्वादको साटो उल्टै यसले हाम्रो कामै गरिदिएन भनेर सराप पो पाइने हो कि ! त्यसैले मलाई यो सरापबाट बचाउनु पर्यो सरकार।’