नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रीय कमिटी सदस्य आसिफ अहमदले पार्टी परित्याग गर्दै पदबाट राजीनामा दिएका छन्। अहमदले पार्टी र संगठनभित्रको नेतृत्व शैली तथा युवालाई नेतृत्वमा अवसर दिने र नेतृत्व हस्तान्तरण गर्ने विषयमा देखिएको अनिच्छाप्रति असहमति जनाउँदै राजीनामा दिएको बताएका छन्।
विशेषगरी एमाले अध्यक्ष केपी ओलीको नेतृत्व र कार्यशैलीप्रति आफ्नो गम्भीर राजनीतिक असहमति रहेको उनले राजीनामापत्रमा उल्लेख गरेका छन्। ‘युवालाई संगठनमा काम गर्न लगाउने, आन्दोलनमा अगाडि सार्ने र जिम्मेवारी बोकाउने, तर निर्णायक नेतृत्व र नीति निर्माणको ठाउँमा पुग्ने अवसर नदिने हो भने नयाँ पुस्ताले आफ्नो भविष्य कहाँ देख्ने ?’ उनले प्रश्न गरेका छन्।
आफूले पद वा व्यक्तिगत लाभका कारण नभई युवालाई नेतृत्वमा पर्याप्त अवसर नदिइएको, नेतृत्व हस्तान्तरणप्रति उदासीनता देखिएको र पार्टी सञ्चालनको शैलीप्रति असहमति जनाउँदै राजीनामा दिएको उनको भनाइ छ।
