उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड : किरा परेको कच्चा पदार्थबाट गुदपाक

बिहिबार, ८ असोज, २०८३
डिजिटल संस्करण
  • किरा परेको र म्याद गुज्रिएको कच्चा पदार्थ प्रयोग गरेर गुदपाक र पुष्टकारी बनाएको पाइएपछि ढुंगेअड्डास्थित उद्योग गरियो बन्द

गुदपाक र पुष्टकारी बनाउन किरा परेको कच्चा पदार्थको प्रयोग हुने गरेको फेला परेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मंगलबार राति चन्द्रागिरि नगरपालिका– १५, ढुंगेअड्डास्थित कृष्ण पुष्टकारी तथा गुदपाक भण्डारमा निरीक्षण गर्दा किरा परेका कच्चा पदार्थ उपयोग हुने गरेको भेटेको हो ।

विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत भीमप्रसाद पुलामीका अनुसार निरीक्षणका क्रममा गुदपाक तथा पुष्टकारी बनाउने प्रयोजनका लागि म्याद नाघेका, लेबल विवरण नभएका तथा किरा परेका कच्चा पदार्थ प्रयोग गरिरहेको अवस्थामा विभागले फेला पारी जफत गरेको छ । ‘म्याद नाघेको चिउरा, चकलेट र खुला टुक्रा बिस्कुट उद्योग परिसरमा भेटिएको थियो । कच्चा पदार्थबाट गुदपाक र पुष्टकारी बनाउने गरेको भेटियो,’ उनले भने, ‘त्यस्तै, किरा परेको भुटेको चना र किरा परेकै चनाको पिठो, स्किम मिल्क पाउडर, घुन लागेको चामलको पिठो, किरा परेको बदाम, ओट्सलगायत गुदपाक र पुष्टकारी बनाउन प्रयोग गरेको भेटियो ।’

म्याद नाघेका चकलेटहरू बजारबाट संकलन गरी गुदपाक बनाउन प्रयोग गरेको समेत भेटिएको उनले बताए । ‘पसलमा पाउने मिठो गुदपाक र पुष्टकारी किरा परेका कच्चा पदार्थबाट उत्पादन भएको भेटिँदा आश्चर्य लागेको छ,’ उनले भने । पुलामीका अनुसार ‘कृष्ण’ ब्रान्डको गुदपाक र पुष्टकारी उत्पादन गर्ने सो उद्योगले प्याकेटका लेबलका लागि खुवा, चिनी, दुध, नरिवल, छोकडÞा, काजु, बदाम, तरबुजलगायतको मिश्रण गरी उत्पादन गर्ने गरेको उल्लेख भए पनि उद्योगपरिसरमा चिनीको बोराबाहेक अरू केही भेटिएको थिएन । ‘प्याकेटमा विभिन्न खाद्यवस्तु प्रयोग गरेर गुदपाक बनाउने गरेको उल्लेख छ । तर, वास्तवमा चिनी मात्रै प्रयोग गरेर गुदपाक बनाएको भेटियो,’ उनले भने ।

उद्योगको सरसफाइमा पनि पूर्ण रूपले लापरबाही गरेको विभागले जनाएको छ । जस्तापाताले पर्खाल घेरेर बनाएको, जस्तोसुकै हावा–पानी सजिलै छिर्न सक्ने, फोहोर भुइँ र कच्चा पदार्थ राख्ने भाँडाकुँडासमेत अव्यवस्थित रहेको विभागको भनाइ छ ।

विभागको अनुगमन टोलीले उद्योगबाट गुदपाक तथा पुष्टकारी बनाउन प्रयोग गरिएका म्याद नाघेका तथा किरा परेका चिउरा १८ किलो, चकलेट २१० किलो, खुला टुक्रा विस्कुट सय किलो, किरा परेको भुटेको चना २२० किलो, किरा परेको चनाको पिठो २७४ किलो, स्किम मिल्क पाउडर सात किलो, घुन लागेको चामलको पिठो प्रयोग गरी तयार गरेको खान अयोग्य गुदपाक करिब सय किलो र पुष्टकारी ५३५ किलो जफत गरी नष्ट गरेको छ । यसरी नष्ट गरिएको खाद्यान्नको मूल्य दुई लाख ६० हजार रुपैयाँबराबर रहेको विभागले जनाएको छ ।

उद्योगलाई तत्कालै बन्द गरी थप कारबाहीका लागि अनुसन्धान अघि बढाइएको खाद्य अनुसन्धान अधिकृत पुलामीले बताए । ‘किरा परेका, म्याद नाघेका र अखाद्य वस्तु मिसाएर गुदपाक र पुष्टकारी बनाउने उद्योगलाई तत्काल बन्द गरिएको छ भने मौज्दातमा रहेका सामानको बिक्री पनि रोक लगाइएको छ,’ उनले भने । साथै, पुष्टकारी र गुदपाकको गुणस्तर परीक्षण गर्न नमुनासमेत संकलन गरिएको छ । विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही अगाडि बढाएको जनाएको छ । सो ऐनअनुसार उद्योग खारेजसम्मको प्रावधान छ ।

सो उद्योगबाट उत्पादित ‘कृष्ण’ ब्रान्डको गुदपाक तथा पुष्टकारी कलंकी र गोंगबुस्थित नयाँ बसपार्क क्षेत्रबाट छुट्ने लामो दूरीका बस तथा माइक्रोबसका यात्रुलक्षित बजारीकरण हुने गरेको छ । कलंकी र नयाँ बसपार्क क्षेत्रमा उद्योगबाटै खटाइएका कर्मचारीले बस र माइक्रोबसको ढोका र झ्यालसम्म पुगेर कृष्ण ब्रान्डका गुदपाक र पुष्टकारी बिक्री गर्ने गरेका छन् । त्यस्तै, सो क्षेत्रका पसलहरूमा पनि सोही उद्योगको गुदपाक र पुष्टकारी ठुलो मात्रामा बिक्री हुने गरेको छ ।

अनुज्ञापत्रविनै गुदपाक र पुष्टकारी उत्पादन 
मंगलबार राति सोही ठाउँमा रहेको गुदपाक उद्योग वज्रवाराही भण्डारमा पनि विभागले अनुगमन गरेको थियो । त्यस क्रममा अनुज्ञापत्रविनै गुदपाक र पुष्टकारी उत्पादन गरिरहेको फेला परेको थियो । सो उद्योगले पनि सरसफाइमा ध्यान नदिएको र म्याद नाघेको चिउरा र मैदा बरामद भएको विभागले जनाएको छ । विभागले गुदपाक र कच्चा पदार्थ बनाउन राखिएका उपभोगहीन कच्चा पदार्थ र तयारी उत्पादनसमेत गरी ३५० किलो (करिब एक लाख ४० हजार मूल्यबराबर) खाद्यवस्तु नष्ट गरेको पुलामीले बताए । ‘अनुमति नै नलिएको उद्योगले उत्पादन गरेको सबै खाद्यवस्तु उपभोगका लागि अयोग्य हुन्छन् । त्यसैले तयारी र कच्चा पदार्थ सबै हामीले नष्ट गरेका हौँ,’ उनले भने । सो उद्योग पनि बन्द गरिएको र आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको उनको भनाइ छ ।

विभागको महानिर्देशक सञ्जीवकुमार कर्णले अखाद्य वस्तु मिसावट गरी उत्पादन गर्नेलाई कारबाही गर्न अनुगमन तीव्र पारिएको बताए । उनले काठमाडौंमा विशेष टोली परिचालन गरिएको र उपत्यकाबाहिरका ३० जिल्लाम रहेका डिभिजन कार्यालयबाट समेत नियमित रूपमा अनुगमन बढाइएको बताए । ‘पुष्टकारी र गुदपाकमा किरा परेको, झिँगा भन्केको र म्याद सकिएको अखाद्य वस्तुको प्रयोग गर्नु भनेको जनस्वास्थ्यमाथि ठुलो खेलबाड हो । यस्ता उद्योगलाई खाद्य ऐनअनुसार हदैसम्मको कारबाही गर्छौँ,’ उनले भने, ‘देशभरका ३० वटा डिभिजन कार्यालयबाट समेत अहिले अनुगमनलाई तीव्रता दिइएको छ । देशभरका अधिकांश खाद्य उद्योगमा पुगेर निरीक्षण गर्ने गरी कार्ययोजना बनाएका छौँ ।’

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ मा ५० हजार जरिवानादेखि तीन वर्षसम्म कैद र पाँच लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था छ । किरा परेका कच्चा पदार्थ मिसावट गरी खाद्यान्न उत्पादन र बिक्री गर्नेलाई ऐनको दफा ४२ (ग) अनुसार एक वर्षसम्म कैद वा चार लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।

सस्तो पसलमा म्याद गुज्रेको खाद्यान्न
खाद्य विभागले स्वयम्भूस्थित सस्तो बास्केट पसलमा उजुरीका आधारमा अनुगमन गर्दा म्याद गुज्रेको खाद्यान्न बरामद गरेको छ । ‘सस्तो भनेर उपभोगहीन अवस्थामा पुगेका म्याद नाघेका वस्तुको बिक्री हुने गरेको भेटियो,’ विभागको खाद्य अनुसन्धान अधिकृत पुलामीले भने । उनका अनुसार पसलले खाद्य पदार्थ अव्यवस्थित भण्डारण गरेको र अनुमतिबेगर खाद्यान्न, दलहन तथा चिनीलगायत खाद्य पदार्थको खुद्रा प्याकिङ गरी बिक्री–वितरण गरेको भेटिएको थियो । सो पसलले प्याकेजिङको अनुमति नलिई खाद्यान्न प्याक गर्ने र लेबल राखेर बजारमा पठाउने गरेको पाएपछि स्पष्टीकरण सोधिएको छ । स्वयम्भू क्षेत्रमा रहेको यती आइस प्रालिले विभागबाट अनुमति नलिई ‘आइस क्युब’ (बरफको डल्ला) बनाउने गरेको भेटिएपछि कारबाही प्रक्रिया अघि बढाइएको छ । 

अखाद्य वस्तु मिसावट गरेर बेच्नेलाई हदैसम्मको कारबाही गर्छौँ : सञ्जीवकुमार कर्ण, महानिर्देशक, खाद्य प्रविधि विभाग
अखाद्य वस्तु मिसावट गरी उत्पादन गर्नेलाई कारबाही गर्न अनुगमन तीव्र पारिएको छ । काठमाडौंमा विशेष टोली परिचालन गरिएको र उपत्यकासहित ३० जिल्लामा रहेका डिभिजन कार्यालयबाट समेत नियमित रूपमा अनुगमन बढाइएको छ । पुष्टकारी र गुदपाकमा किरा परेको, झिँगा भन्केको र म्याद सकिएको अखाद्य वस्तुको प्रयोग गर्नु भनेको जनस्वास्थ्यमाथि ठुलो खेलबाड हो । यस्तो उद्योगलाई खाद्य ऐनअनुसार हदैसम्मको कारबाही गर्छौँ ।

See More On

सुझावित समाचार