फ्लाई दुबईले सुरु गर्‍यो पोखरा–दुबई व्यावसायिक उडान

पहिलो उडानबाट ११३ यात्रु आए, १५३ जना गए

बिहिबार, ८ असोज, २०८३
डिजिटल संस्करण

संयुक्त अरब इमिरेट्सको वायुसेवा कम्पनी फ्लाई दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबारदेखि व्यावसायिक उडान सुरु गरेको छ । पहिलो उडानमा दुबईबाट एक सय १३ जना पोखरा ओलिएका छन् । सोही उडानमा पोखराबाट भने एक सय ५३ जना यात्रु दुबई गएका छन् ।

पोखरा आएका र पोखराबाट गएका यात्रुहरूलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसहित पर्यटन व्यवसायीहरूले स्वागत तथा बिदाइ गरेका छन् । २३ सेप्टेम्बरदेखि २४ अक्टोबरसम्म दैनिक उडान गर्ने अनुमति पाएको फ्लाई दुबईले एक सय ५६ सिटे एयरबसमार्फत पोखरामा उडान सुरु गरेको हो । दुई विमानस्थलको हवाई दूरी करिब पाँच घण्टा रहेको छ ।

कम्पनीले गत जेठमा पोखरामा उडान गर्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)बाट अनुमति पाएको थियो । १७ पुस ०७९ मा उद्घाटन गरिएको विमानस्थलमा ११ फागुन ०८० मा इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर) लागू भएपछि अन्तर्राष्ट्रिय उडान र रात्रिकालीन उडान गर्न सकिने भएको थियो । १८ फागुन ०७९ देखि रात्रिकालीन उडान सुरु भएको विमानस्थलमा चार्टर्ड उडान भए पनि नियमित अन्तर्राष्ट्रिय उडान भने हुन सकेको थिएन । फ्लाई दुबईले उडान सुरु गरेसँगै केही आशा जगाएको स्थानीय पर्यटन व्यवसायीले बताएका छन् ।

यसअघि पहिलोपटक ६ असार ०८० मा चीनको छेन्दु विमानस्थलबाट आएको सिचुवानको न्यारोबडी ए–३१९ विमानले चार्टर्ड उडानमार्फत पोखरामा पहिलो अन्तर्राष्ट्रिय उडान गरेको थियो । त्यसपछि २३ भदौ ०८० मा भुटानको ‘ड्रुक एयर’ले भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडानबाट नै पोखराबाट पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडान गरेको थियो । पारोबाट चालक दलका सात र तीन पर्यटकसहित १० जना लिएर आएको विमानले पोखराबाट ४२ यात्रु र चालक दलका सात गरी ४९ जना लिएर थिम्पु लिएर गएको थियो । जुन पोखराबाट भएको पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडान हो ।

त्यसपछि चिनियाँ जनमुक्ति सेनाका दुई कार्गो विमान, चीनको कुनमिङ सहरबाट हिमालय एयरलाइन्सको विमान, चीनको छेन्दुबाट सिचुवान एयरलाइन्स, हिमालयन एयरलाइन्सले चीनको ल्हासालगायतका सहरमा विभिन्न मितिमा चार्टर्ड उडान भरेका थिए । पोखरा महानगरपालिकाका मेयर आचार्यले फ्लाई दुबईको उडान सुरु हुनु एउटा उडान थपिने विषय मात्र नभएर पोखरालाई अन्तर्राष्ट्रिय पहिचान, पर्यटन प्रवर्द्धन, आर्थिक गतिविधिको विस्तारसँगै काठमाडौंकेन्द्रित हवाई चापलाई विकेन्द्रीकरण गर्ने ऐतिहासिक अवसरसमेत रहेको बताए । उडान सुरु भएसँगै हवाई मार्गबाट दुबईको माध्यमबाट मध्यपूर्व, युरोप, अफ्रिकालगायतका दुई सय ५० भन्दा धेरै सहरसँग पोखराको पहुँच पुगेको आचार्यले बताए ।

उडानलाई लिएर पोखराका पर्यटन व्यवसायीसमेत उत्साहित भएको नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले बताए । अब उडानलाई दीर्घकालीन बनाउन सबैको सहकार्य आवश्यक रहेको उनले बताए । पोखरामा विश्वका धेरै देशबाट सिधै पर्यटक आउने भएकाले यसले आर्थिक रूपमा सबै क्षेत्रलाई फाइदा हुने बताए । उडानले पर्यटकको आगमन बढ्ने भएकाले यसले सम्भावनाका धेरै ढोका खोल्ने उनले बताए ।

पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले लामो प्रयास र मिहिनेतपछि सुरु भएको उडानले पोखरालाई मात्र नभएर समग्र गण्डकी प्रदेश र आसपासका छिमेकी जिल्लाहरूलाई समेत फाइदा हुने बताए । यसलाई दिगो रूपमा लैजान सबैले आ–आफ्नो क्षेत्रबाट पहल गर्न आवश्यक रहेको उनको भनाइ छ ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) गण्डकीका अध्यक्ष संगीता पौडेलले उडानका कारण पोखराको पहुँच विश्वबजारसँग सिधा जोडिएको बताइन् । यसले पोखरा आउने पर्यटकको संख्या बढ्ने उनले बताइन् । गण्डकी प्रदेशका नागरिकलाई वैदेशिक रोजगारी, व्यवसाय र भ्रमणका लागि काठमाडौं धाउनुपर्ने बाध्यतासमेत अन्त्य हुने उनको भनाइ छ ।

पर्यटकलक्षित १० देखि २५ प्रतिशतसम्म छुट प्याकेज 
फ्लाई दुबईले पोखरामा सुरु गरेको उडानलाई लक्षित गर्दै उडानमार्फत पोखरा आउनेहरूलाई पोखराका पर्यटन व्यवसायीहरूले १० देखि २५ प्रतिशतसम्म छुट दिने  प्याकेज घोषणा गरेका छन् । घोषणा गरिएको प्याकेजअनुसार होटेल संघ पोखराले होटेलको मेनुमा २५ प्रतिशत, रेवान पोखराले १५ देखि २० प्रतिशत, होटेल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथले २५ प्रतिशत, टान गण्डकीले पदयात्राको फुल प्याकेजमा १५ देखि २० प्रतिशत छुटको घोषणा गरेका छन् । त्यस्तै, पहिलो उडानमा आउने पर्यटकलाई तालपारि वा काडे–अस्ट्रेलियन क्याम्प–धम्पुस हुँदै एक दिनको पदयात्राका लागि आवश्यक गाडीको व्यवस्था गर्ने, अल्ट्रालाइटले १० प्रतिशत, नाट्टा गण्डकीले टुर प्याकेजमा छुट दिने घोषणा गरेका छन् । यसका अलावा गुडविल, रानीवन अर्किड र टीका रिसोर्टले दुई कोठा तीन महिनाका लागि निःशुल्क उपलब्ध गराउने भएका छन् ।

सुझावित समाचार