नेपाली कांग्रेसले पार्टी सदस्य हुन १८ वर्ष उमेर पूरा भएको हुनुपर्ने विधानको व्यवस्थालाई कडाइका साथ लागू गर्ने भएको छ। तोकिएको उमेर नै पूरा नभएका व्यक्ति क्षेत्रीय प्रतिनिधि चुनिएपछि कांग्रेस निर्वाचन समितिले उमेरको योग्यता नपुगेका व्यक्तिको जिम्मेवारी स्थगन गर्न निर्देशन दिएको हो।
कांग्रेसको विधान, २०१७ (११औँ संशोधन)को धारा ४ को उपधारा १ (क) (१)मा पार्टी सदस्यताका लागि १८ वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था छ। तर, १५औँ महाधिवेशनअन्तर्गत इलामको माईजोगमाई गाउँपालिका– ५ को वडा अधिवेशनमार्फत १८ वर्ष पुग्न केही महिना बाँकी रहेका सुजल चापागाईं क्षेत्रीय प्रतिनिधि चुनिएका छन्।
उनको उमेरको योग्यता पूरा नभएकाले विधानबमोजिम उनको निर्वाचित क्षेत्रीय प्रतिनिधिको जिम्मेवारी स्थगन गरिएको निर्वाचन समितिले जनाएको छ। आगामी माघ १८ गते १८ वर्ष पूरा भएपछि चापागाईंले चाहेमा पार्टी सदस्यता कायम हुने विज्ञप्तिमा उल्लेख छ।
अन्य कुनै जिल्लाका वडा तहमा यस्तै प्रकृतिका उम्मेदवार निर्वाचित भए यही प्रक्रिया कार्यान्वयन गर्न निर्वाचन समितिले निर्देश गरेको छ।