पोखरामा हुन्डाईको न्यू भेन्यू बिक्री सुरु

बुधबार, ७ असोज, २०८३
डिजिटल संस्करण

हुन्डाईको चर्चित कम्प्याक्ट एसयुभी ‘अल–न्यू भेन्यु’ पोखरामा सार्वजनिक भएसँगै बिक्री सुरु भएको छ। नेपालको लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी इन्टरकन्टिनेन्टलको बुद्धचोकस्थित सोरुममा बुधबार आयोजित कार्यक्रममा ग्रुपका कार्यकारी निर्देशक सुनील श्रेष्ठ, निर्देशक चन्द्रराज भण्डारी, निर्देशक कृष्ण श्रेष्ठ र निर्देशक सुर्वत श्रेष्ठले संयुक्त रूपमा गाडी सार्वजनिक गरेका हुन्।

नयाँ डिजाइन, आधुनिक प्रविधि, आरामदायी सुविधा र उत्कृष्ट कार्यसम्पादनसहितको भेन्यु पोखरा तथा आसपासका ग्राहकका लागि उपलब्ध भएको कार्यकारी निर्देशक सुनील श्रेष्ठले जानकारी दिए।

नयाँ भेन्यू हेर्दा आकर्षकसँगै बाहिरी बनावटलाई बलियो गरी बनाइएको, ट्विन हर्न एलइडी डिआरएल, होराइजन एलइडी, पछाडिको संयोजन बत्ती, डार्क क्रोम ग्रिल र सिग्नेचर सी–पिलर गार्निसजस्ता विशेष डिजाइन समावेश छन्, जसले गाडीको बाहिरी स्वरूपलाई थप आकर्षक बनाएको उनले बताए।

गाडीको भित्री भागमा समेत आधुनिक प्रविधिका विभिन्न सुविधा उपलब्ध छन्। जसमा १०.२५ इन्चको सिसिएनसी सूचना तथा मनोरञ्जन प्रणाली, ताररहित एप्पल कारप्ले तथा एन्ड्रोइड अटो, डिजिटल उपकरण प्यानल र विद्युतीय रूपमा सञ्चालन हुने टिल्ट तथा स्लाइड सनरुफलगायतका सुविधा रहेका छन्।

कार्यसम्पादनका लागि नयाँ भेन्यूमा १.२ लिटर कप्पा एमपिआई पेट्रोल र १ लिटर कप्पा टर्बो जिडिआई पेट्रोल इन्जिनको विकल्प दिइएको छ, जसले दैनिक यात्राका लागि सहज सञ्चालनदेखि थप शक्तिशाली तथा प्रतिक्रियाशील टर्बो कार्यसम्पादनसम्मको विकल्प प्रदान गर्ने जनाइएको छ।

सुरक्षातर्फ पनि विभिन्न आधुनिक प्रविधि समावेश गरिएको नयाँ भेन्यूमा ६ वटा एयरब्याग, एबिएससहितको इबिडी, विद्युतीय स्थिरता नियन्त्रण, सवारी स्थिरता व्यवस्थापन तथा उकालोमा गाडी सुरु गर्न सहयोग गर्ने प्रणालीजस्ता सुविधा उपलब्ध रहेका छन्।
नेपाली बजारमा नयाँ भेन्यूको सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ तोकिएको छ।

तीन भेरियन्टमा उपलब्ध रहेको गाडीमध्ये एचएक्स–२ (१,१९७ सिसी पेट्रोल), एचएक्स–५ प्लस (१,१९७ सिसी पेट्रोल) र एचएक्स–५ डिसिटी (९९८ सिसी पेट्रोल) रहेका छन्। विभिन्न भेरियन्टका विकल्पले ग्राहकलाई आफ्नो आवश्यकता, रुचि र बजेटअनुसार गाडी छनोट गर्न सहज बनाउने कम्पनीले जनाएको छ।

नयाँ भेन्यू पोखरास्थित हुन्डाईको आधिकारिक सोरुममा उपलब्ध भइसकेकाले ग्राहकले सोरुममा पुगेर गाडीको डिजाइन, प्रविधि, भित्री सुविधा तथा कार्यसम्पादनको प्रत्यक्ष अनुभव लिनुका साथै मूल्य र अन्य विशेषताबारे जानकारी लिन सक्ने कम्पनीले जनाएको छ।

सुझावित समाचार