भारी वर्षाको अनुमानसँगै बाढीपहिरोको जोखिम बढ्ने उल्लेख गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले कान्ति लोकपथ र भैँसे–भीमफेदी–देउराली–कुलेखानी हुँदै काठमाडौं जाने सडकमा रात्रिकालीन सवारी आवागमन रोक्ने निर्णय गरेको छ।
असोज ९ गतेदेखि अर्को सूचना जारी नभएसम्म दुवै मार्गमा बेलुका ७ बजेपछि रातको समयमा सवारी सञ्चालनमा पूर्ण रोक लगाइने भएको हो।
प्रशासनले बुधबार सूचना जारी गर्दै यी मार्गमा तोकिएका प्रवेशस्थलबाट बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म मात्र सवारीसाधन प्रस्थान गर्न दिइने जनाएको छ। कान्ति लोकपथमा चौघडाबाट काठमाडौंतर्फ जाने सवारीसाधनका लागि उक्त समय निर्धारण गरिएको छ।
यस्तै, भैँसे–भीमफेदी–देउराली–कुलेखानी सडक हुँदै काठमाडौं जाने सवारीसाधनलाई हेटौँडाको चौकीटोलबाट बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म मात्र प्रस्थान गर्न दिइनेछ। काठमाडौं उपत्यकाबाट हेटौँडातर्फ आउने सवारीसाधनलाई पनि फाखेलस्थित हुमाने र सिस्नेरीस्थित रामचन्द्रभञ्ज्याङबाट सोही समयभित्र मात्र प्रस्थान गर्न दिइने प्रशासनले जनाएको छ।
सूचनाअनुसार असोज ५ गते जारी विशेष मौसमी बुलेटिनले असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म तीन दिन हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना देखाएको छ। त्यसबाट सडक तथा राजमार्गमा बाढीपहिरोको उच्च जोखिम हुन सक्ने भएकाले मानवीय तथा भौतिक क्षति रोक्न आवागमनको समय निर्धारण गरिएको प्रशासनले स्पष्ट पारेको छ।
जिल्ला प्रशासन कार्यालयले तोकिएको समयअनुसार मात्रै सवारीसाधन सञ्चालन तथा यात्रा गर्न गराउन सम्बन्धित सबैलाई आग्रह गरेको छ।