नेपाली कांग्रेसले कैलालीमा उपसभापति भीमबहादुर बडुवाललाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेको छ । जिल्ला सभापति नारायणदत्त भट्ट र उपसभापति खेम चौधरी पार्टीको महाधिवेशन प्रक्रियामा सहभागी नभएपछि कांग्रेस केन्द्रले उपसभापति बडुवाललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको हो ।
कंग्रेस महामन्त्री प्रदीप पौडेलले बडुवाललाई पत्र पठाउँदै पार्टीको १५औँ महाधिवेशनअन्तर्गत जिल्लामातहतका अधिवेशन सम्पन्न गर्न जिल्लाको कार्यवाहक सभापतिको रूपमा कामकाज गर्ने गरी विशेष जिम्मेवारी तोकिएको उल्लेख गरेका छन् । बडुवाल संस्थापननिकट हुन् ।
सभापति भट्ट निवर्तमान सभापति शेरबहादुर देउवानिकट हुन् । उनी पार्टीको महाधिवेशनका लागि भइरहेका वडा, नगर र क्षेत्रीय अधिवेशन प्रक्रियामा सहभागी छैनन् । उनले अर्का उपसभापति खेम चौधरीलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए ।