देव गुरुङको संयोजकत्वमा पार्टी एकता वार्ता समिति गठन

नेता देव गुरुङको संयोजकत्वमा गठित तीन सदस्यीय समितिमा प्रवक्ता प्रकाश ज्वाला र नेता गंगानारायण श्रेष्ठ सदस्य

बुधबार, ७ असोज, २०८३
डिजिटल संस्करण

नेकपाले विचार मिल्ने पार्टी र समूहसँग वार्ता, छलफल र एकताको प्रक्रिया अघि बढाउन वार्ता समिति गठन गरेको छ । नेता देव गुरुङको संयोजकत्वमा गठित तीन सदस्यीय समितिमा प्रवक्ता प्रकाश ज्वाला र नेता गंगानारायण श्रेष्ठ सदस्य छन् ।

विचार मिल्ने देशभक्त, गणतन्त्रवादी दल र समूहसँग एकताका लागि समितिले पहल गर्ने ज्वालाले बताए । ‘विचार मिल्ने सबै दल र समूहसँग वार्ता र छलफल गर्छौँ,’ उनले भने, ‘लोकतन्त्र, राष्ट्रियता संकटमा छ । यस्तो वेला राष्ट्रवादी, कम्युनिस्ट शक्ति मिल्नुको विकल्प छैन । हामी सबै कम्युनिस्ट पार्टी र समूहसँग छलफल गर्छौँ । सबै कुरामा सहमति हुने दलसँग पार्टी एकता अघि बढाउछौँ ।’

नेकपा केन्द्रीय कार्यसंयोजन समिति ४५ सदस्यीय छ । साबिक माओवादी, एकीकृत समाजवादीसहित २८ वटा विभिन्न पार्टी र समूह मिलेर नेकपा बनेको हो ।

एकताको करिब एक वर्ष हुन लाग्दा समायोजन प्रक्रिया भने अझै पूरा भएको छैन । समिति सदस्य श्रेष्ठले कुनै दलविशेषभन्दा पनि कम्युनिस्ट पार्टीसँग एकीकरणका निम्ति वार्ता हुने बताए । ‘अहिले हामीले यो वा त्यो भनेर केही तोकेका छैनौँ । कम्युनिस्ट पार्टीसँग एकीकरणका निम्ति वार्ता गर्न समिति बनेको हो,’ उनले भने ।

सुझावित समाचार