प्रतिनिधिसभाको दोस्रो अधिवेशनअन्तर्गत आजको बैठकमा फोहोरमैला व्यवस्थापनसहित विभिन्न विधेयक प्रक्रियामा अघि बढाइने भएको छ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दै छ। बैठकको सुरुवातमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभारसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ।
त्यसपछि पूर्वाधार विकासमन्त्री सुनील लम्सालले ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेस गर्नेछन्। अनुमति प्राप्त भएपछि उनले उक्त विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फर्स्याेट (पहिलो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ।