कैलालीमा एक लाख ७५ हजार जनालाई जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप लगाइँदै

मंगलबार, ६ असोज, २०८३
डिजिटल संस्करण

कैलालीमा एक लाख ७५ हजार जनालाई जापानिज इन्सेफ्लाइटिस रोगविरुद्धको खोप लगाउने लक्ष्यसहित खोप अभियान थालिएको छ। जापानिज इन्सेफ्लाइटिस संक्रमण देखिएका यहाँका तीनवटा पालिकामा खोप अभियान हुँदै छ। 

घोडाघोडी र लम्कीचुहा नगरपालिकामा यही १ असोजदेखि अभियान सुरु भइसकेको छ भने धनगढी उपमहानगरपालिकामा ८ असोजबाट अभियान सुरु गर्ने तयारी छ। जिल्ला स्वास्थ्य कार्यालय कैलालीका अनुसार यी तीन पालिकामा यो रोगको संक्रमणबाट हालै दुईजनाको मृत्यु भएको छ भने अन्य ६ जनामा संक्रमण देखिएको छ।

घोडाघोडी र लम्कीचुहामा सोमबारसम्म ४५ हजार ४२ जनाले जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप लगाएका स्वास्थ्य कार्यालयले जनाएको छ। त्यसमध्ये १६ हजार ९३७ पुरुष र २८ हजार १०५ महिला छन्। अभियानअन्तर्गत घोडाघोडीमा ३३ हजार ४८३ र लम्कीचुहामा ३९ हजार ७३५ जनालाई खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले जानकारी दिए।

धनगढी उपमहानगरपालिकामा एक लाख दुई हजारजनालाई खोप लगाउने लक्ष्य रहेको उनले बताए। प्रमुख कुँवरका अनुसार घोडाघोडी र लम्कीचुहामा ७ असोजसम्म र धनगढीमा २२ असोजसम्म खोप अभियान सञ्चालन हुनेछ। ३० वर्षभन्दा बढी उमेरकालाई खोप लगाउन लागिएको हो। 

यी तीनै पालिकामा हालै जापानिज इन्सेफ्लाइटिसका संक्रमित देखिएका थिए। स्वास्थ्य कार्यालयका अनुसार घोडाघोडीमा संक्रमित दुईजनाको मृत्यु भएको थियो भने लम्कीचुहा र धनगढीमा तीन/तीनजनामा संक्रमण देखिएको थियो। संक्रमित देखिएका आधारमा नेपाल सरकारले कैलालीसहित नौ जिल्लामा खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो।

सोमबारसम्म घोडाघोडीमा २३ हजार १७९ जना र लम्कीचुहामा २१ हजार ८६३ जनाले खोप लगाएका स्वास्थ्य कार्यालयले जनाएको छ। सम्बन्धित पालिका तथा वडा, ती क्षेत्रमा रहेका स्वास्थ्य संस्थाको सहकार्यमा कार्यालयले अभियान सञ्चालन गरिरहेको हो। अभियानका लागि पालिकाहरूले मातहतका स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका परिचालन गरिरहेका छन्।

सरकारले १२ महिनादेखि २२ महिनाका बालबालिकालाई नियमित खोप तालिकाअन्तर्गत नै जापानिस इन्सेफ्लाइटिसको खोप लगाउने गरेको छ। कैलालीमा २०६३/०६४ र २०७३/०७४ मा १५ वर्षमुनिको उमेर समूहलाई लक्षित गरेर जापानिस इन्सेफ्लाइटिस रोगविरुद्धको खोप अभियान सञ्चालन भएको स्वास्थ्य कार्यालयले जनाएको छ। बालबालिकाहरूमा नियमित खोप तालिकाअन्तर्गत नै जापानिस इन्सेफ्लाइटिसविरुद्धको खोप दिने गरिएकाले सरकारले ३० वर्ष उमेरमाथिलाई खोप लगाउने निर्णय गरेको हो।

घोडाघोडी नगरपालिकाका जनस्वास्थ्य अधिकृत कैलाशकुमार रावतले नगरपालिकाका १२ वटै वडाका खोप केन्द्रबाट खोप अभियान सञ्चालन भइरहेको जानकारी दिए। रावतका अनुसार रोजगारी आदिको सिलसिलामा धेरैजसो घरबाहिर रहेकाले खोप लगाउन लक्षित संख्या पुग्न भने गाह्रो देखिएको छ।

संक्रमित क्युलेक्स जातको लामखुट्टेको टोकाइबाट जापानिज इन्सेफ्लाइटिस मानिसमा सर्ने गर्छ। यो रोग संक्रमित बंगुर, कुखुरालगायत चराचुरुंगीबाट लामखुट्टे सर्ने र संक्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गरेको स्वास्थ्य कार्यालय प्रमुख कुँवरले बताए।

स्वास्थ्यकर्मीका अनुसार संक्रमितमा उच्च ज्वरो आउने, वाकवाकी लाग्ने, बान्ता हुने, रिंगटा लाग्नेजस्ता लक्षण देखा पर्छन्। संक्रमितको मस्तिष्कमा असर पर्ने भएकाले समयमै उपचार नगरे प्यारालाइसिस तथा मृत्युको सम्भावना हुने स्वास्थ्यकर्मी बताउँछन्।

सुझावित समाचार