दाङको तुलसीपुर उपमहानगरपालिका– ६ का वडाध्यक्ष दुजमान (वर्षात्) भण्डारीले बैंकिङ कसुरसम्बन्धी मुद्दा दायर गरेका छन्। भण्डारीले सोमबार जिल्ला सरकारी वकिल कार्यालय, दाङमार्फत जिल्ला अदालत, दाङमा मुद्दा दायर गरेका हुन्।
खातामा पर्याप्त रकम नभएको अवस्थामा चेक दिएर ठगी गरेको आरोपमा घोराही उपमहानगरपालिका– १५, उमेशमार्गकी ३७ वर्षीया सविता घर्तीविरुद्ध रु. ११ लाख बिगो कायम गरी बैंकिङ कसुरसम्बन्धी अभियोगपत्र जिल्ला अदालत, दाङमा दायर गरिएको हो। प्रतिवादी घर्ती हाल फरार रहेको जनाइएको छ।
अभियोगपत्रअनुसार घर्तीले तुलसीपुर उपमहानगरपालिका– ६ निवासी ३६ वर्षीय भण्डारीबाट १२–१४ दिनभित्र रकम फिर्ता गर्ने भन्दै रु. ११ लाख नगद सापटी लिएकी थिइन्। तर, लामो समयसम्म रकम फिर्ता नगरेपछि उनले कुमारी बैंक लिमिटेडमा रहेको आफ्नो खाताबाट मिति ०८२ कात्तिक १० गतेको रु. ११ लाखको चेक भण्डारीलाई दिएकी थिइन्।
उक्त चेक साट्न बैंकमा पेस गर्दा खातामा पर्याप्त रकम नभएको भन्दै चेक अनादर (बाउन्स) भएपछि भण्डारीले प्रहरीमा जाहेरी दिएका थिए।
इलाका प्रहरी कार्यालय, तुलसीपुरले गरेको अनुसन्धानका आधारमा सहायक जिल्ला न्यायाधिवक्ता श्रीधर अधिकारीले ०८३ असोज ५ गते जिल्ला अदालत, दाङमा अभियोगपत्र दर्ता गराएका हुन्।
सरकारी पक्षले प्रतिवादी घर्तीविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ३(ग) र दफा ३क(१) बमोजिमको कसुरमा सजायको मागदाबी गरेको छ।
सरकारी पक्षले पीडित दुजमान भण्डारीलाई रु. ११ लाख बिगो रकम तथा कानुनबमोजिमको ब्याज भराइदिनुपर्ने, बिगोको ५ प्रतिशत जरिवाना तथा सोही ऐनको दफा १४(१)(क) बमोजिम एक महिनासम्म कैद सजाय हुनुपर्ने माग गरेको छ।