संघीय संसद् प्रतिनिधिसभाको दोस्रो अधिवेशनअन्तर्गत मंगलबार बस्ने बैठकमा राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका सामुद्रिक क्षेत्रको जैविक विविधता संरक्षण र दिगो प्रयोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौतामाथि छलफल हुने भएको छ।
दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संयुक्त राष्ट्रसंघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौतामाथि सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। त्यसपछि मन्त्री गौतमले उक्त सम्झौता अनुमोदन गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नेछिन्।
बैठकमा प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गर्ने कार्यसूचीसमेत रहेको छ।