नुवाकोटको किस्पाङ गाउँपालिका– ५, सिरुपानी नयाँपुलमा निर्माणाधीन ३७ मेगावाट क्षमताको अपर त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजनामा बेपत्ता व्यक्तिको खोजीका लागि २३ दिनदेखि खोजीकार्य जारी छ ।
यो आयोजनामा १० भदौको बाढीपछि १९० जना बेपत्ता छन् । आयोजनाबाट प्राप्त विवरणअनुसार बेपत्ता हुनेमा आयोजना कर्मचारी २१, कर्मचारीका परिवारका सदस्य सात, चिलिमे इन्जिनियरिङ एन्ड सर्भिसेज कम्पनीका १२, फेवा कन्स्ट्रक्सन कम्पनीका १४०, चिनियाँ ठेकेदार कम्पनीसँग सम्बन्धित ६, इन्टर्नसिपमा रहेका तीन इन्जिनियरिङ विद्यार्थी तथा एकजना सुरक्षागार्ड छन् ।
चिनियाँ ठेकेदार कम्पनीसँग सम्बन्धित ६ मध्ये चार चिनियाँ र दुईजना नेपाली रहेको विवरणमा उल्लेख छ । भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि सशस्त्र प्रहरीका करिब चार हजार दुई सय जनशक्ति परिचालन गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । सशस्त्र प्रहरीले जोखिमपूर्ण क्षेत्रमा बेपत्ता तथा प्रभावितको खोजी, उद्धार र उपचारका लागि विभिन्न विशेषज्ञ टोली परिचालन गरेको जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपालले सीमित स्रोतसाधनबिच पनि विशेष टोलीसहित बेपत्ताको खोजी तथा उद्धार कार्य निरन्तर जारी राखेको जनाएको छ । बाढीपछि आयोजनामा ठुलो क्षति पुगेको थियो । बाढीका कारण आयोजनाको एउटा कार्यालय भवन र पाँचवटा आवास भवन पुरिएको तथा बगाएको छ ।
निर्माणाधीन विद्युत्गृहसमेत बाढी र पहिरोबाट प्रभावित भएको छ । बाढीपछि खोजी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गढीमाई बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) किरण बस्नेतले सुरक्षा तथा उद्धार टोलीको नेतृत्व गरेका छन् । सशस्त्र प्रहरी बल नेपालले विपत् व्यवस्थापनमा तालिमप्राप्त जनशक्तिसहित सर्च एन्ड रेस्क्यु टोली, मेडिकल टोली, ड्रोन टोली तथा के–९ टोलीसमेत परिचालन गरेको छ ।