नुवाकोटको किस्पाङ गाउँपालिका– ५ सिरुपानी नयाँपुलमा निर्माणाधीन ३७ मेगावाट क्षमताको अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा भदौ १० गतेको बाढीपछि १९० जना बेपत्ता छन्। सशस्त्र प्रहरी बल नेपालले सीमित स्रोतसाधनबिच पनि विशेष टोलीसहित बेपत्ताको खोजी तथा उद्धार कार्य निरन्तर जारी राखेको छ।

भोटेकोशीमा आएको बाढीपछि आयोजनामा ठुलो क्षति पुगेको थियो। बाढीका कारण आयोजनाको एउटा कार्यालय भवन र पाँचवटा आवास भवन पुरिएको तथा बगाएको छ। निर्माणाधीन विद्युतगृहसमेत बाढी र पहिरोबाट प्रभावित भएको जनाइएको छ।
बाढीपछि खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गढीमाई बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) किरण बस्नेतले सुरक्षा तथा उद्धार टोली परिचालन गर्दै आएको बताए। बस्नेत भदौ ११ गतेदेखि नै उद्धार तथा खोजी कार्यको समन्वयमा खटिएका छन्।

सशस्त्र प्रहरी बल नेपालले विपत् व्यवस्थापनमा तालिमप्राप्त जनशक्तिसहित सर्च एन्ड रेस्क्यु टोली, मेडिकल टोली, ड्रोन टोली तथा के–९ टोलीसमेत परिचालन गरेको छ। सीमित स्रोतसाधनका बाबजुद बेपत्ताको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइएको सशस्त्र प्रहरीले जनाएको छ।
2026-09-20-01-13-28.jpeg)
भदौ १५ गते सशस्त्र प्रहरी निरीक्षक प्रेमसिंह धामीको कमान्डमा विपत् व्यवस्थापन तालिमप्राप्त १० सदस्यीय विशेष टोली आवश्यक उद्धार सामग्रीसहित आयोजनास्थल पुगेको थियो। टोलीले आयोजनाको सुरुङ तथा आसपासका क्षेत्रमा खोजी कार्य गर्दै आएको छ।
भदौ १६ गते सशस्त्र प्रहरी टोलीले अडिट टनेल– २ बाट करिब सात मिटर क्षेत्रसम्म खोजी गरेको थियो। भदौ १७ गते करिब एक हजार पाँच सय मिटर क्षेत्रसम्म खोजी गरिए पनि बेपत्ताको अवस्था पत्ता लाग्न सकेन।
आयोजनास्थलसम्म सडक सञ्जालको पहुँच नभएकाले उद्धार तथा खोजी कार्यमा कठिनाइ भएको छ। यसका बाबजुद सशस्त्र प्रहरीले सुरुङभित्र तथा पावरहाउस क्षेत्रमा खोजीलाई निरन्तरता दिएको छ। सुरुङ सफा गर्ने क्रममा सशस्त्र प्रहरीको सिएसएसआर टोलीले ठुला रुख तथा अन्य अवरोध हटाउने कामसमेत गरेको थियो।
भदौ २१ गतेदेखि तीनवटा ठुला एक्स्काभेटर र एउटा लोडर परिचालन भएपछि उत्खनन तथा खोजीकार्यलाई थप तीव्रता दिइएको छ। पावरहाउस क्षेत्रमा समेत उत्खनन जारी छ। हालसम्म पावरहाउस क्षेत्रमा ६ वटा पिल्लरबाहेक अन्य महत्त्वपूर्ण संरचना वा बेपत्ता व्यक्तिको अवस्था फेला पर्न सकेको छैन। भदौ १५ गते आयोजनास्थल पुगेपछि त्रिशूली नदीकिनारमा खोजी गर्ने क्रममा एक पुरुषको शव फेला परेको थियो। शव नेपाल प्रहरीलाई बुझाइएको जनाइएको छ।
बेपत्ताको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ। युएई र अस्ट्रेलियाबाट आएका उद्धार टोलीले आधुनिक उपकरणको प्रयोग गरी खोजी गरे पनि हालसम्म थप सफलता प्राप्त हुन सकेको छैन।
2026-09-20-01-13-41.jpeg)
भदौ ३१ गते सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढीमाई बाहिनीका बाहिनीपति डिआइजी किरण बस्नेतसहित जिल्ला सुरक्षा समिति नुवाकोटका पदाधिकारीले आयोजनास्थल पुगेर खोजी तथा उद्धार कार्यको अनुगमन गरेका थिए। सोही दिन नेपाली सेनाको अधिकांश टोली फिर्ता भए पनि १४ जना सैनिक आयोजनास्थलमै रहेको जनाइएको छ। सशस्त्र प्रहरीको टोली भने खोजीकार्यमा निरन्तर खटिएको छ।
खोजी तथा उद्धारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गढीमाई बाहिनीका बाहिनीपति डिआइजी किरण बस्नेत तथा नुवाकोटका कम्पनी कमान्डर डिएसपी वीरेन्द्र रावतसहित सुरक्षा निकायका अधिकारीहरूले समन्वय तथा अनुगमन गरिरहेका छन्। उद्धारमा खटिएको सशस्त्र प्रहरीको टोलीले खोजीकार्यसँगै बाढी प्रभावित क्षेत्रमा राहत तथा मानवीय सहयोगमा समेत सहजीकरण गर्दै आएको छ।
हिलो, दलदल, ठुला ढुंगा तथा भौगोलिक कठिनाइका कारण खोजीकार्य चुनौतीपूर्ण बनेको भए पनि सशस्त्र प्रहरीले उपलब्ध जनशक्ति, उपकरण तथा प्रविधिको प्रयोग गर्दै बेपत्ताको खोजीलाई निरन्तरता दिएको छ।
2026-09-20-01-13-08.jpeg)
१९० जना बेपत्ता
आयोजनाबाट प्राप्त विवरणअनुसार बेपत्ता हुनेमा आयोजना कर्मचारी २१ जना, कर्मचारीका परिवारका सदस्य सातजना, चिलिमे इन्जिनियरिङ एन्ड सर्भिसेज कम्पनीका १२ जना, फेवा कन्स्ट्रक्सन कम्पनीका १४० जना, चिनियाँ ठेकेदार कम्पनीसँग सम्बन्धित ६ जना, इन्टर्नसिपमा रहेका इन्जिनियरिङका तीनजना र सुरक्षगार्ड एकजना रहेका छन्।
चिनियाँ ठेकेदार कम्पनीसँग सम्बन्धित ६ जनामध्ये चारजना चिनियाँ नागरिक र दुईजना नेपाली नागरिक रहेको विवरणमा उल्लेख छ। बाढी तथा पहिरोका कारण आयोजनाको कार्यालय, आवासलगायतका संरचनामा क्षति पुगेको र त्यहाँ कार्यरत व्यक्तिहरूको अवस्था अझै यकिन हुन नसकेको बताइएको छ।
यस्तै, फेवा कन्स्ट्रक्सन कम्पनीसँग सम्बन्धित तीनजनाको शव फेला परेको विवरणसमेत प्राप्त भएको छ। उद्धार तथा खोजीकार्य जारी रहेकाले बेपत्ता व्यक्तिको संख्या र विवरणमा थप परिवर्तन हुन सक्ने जनाइएको छ।
उद्धारमा चार हजार दुई सय सशस्त्र प्रहरी परिचालन
भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि करिब चार हजार दुई सय सशस्त्र प्रहरी परिचालन गरिएको छ। सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बाढी प्रभावित क्षेत्रमा सिएसएसआर (कोल्याप्स्ड स्ट्रक्चर सर्च एन्ड रेस्क्यु), डिएम, रोप रेस्क्यु, के–९ कुकुर, पर्वतीय तथा हिमाली उद्धार टोली, गोताखोर र मेडिकल टिम परिचालन गरिएको हो।

बाढी तथा पहिरोका कारण जोखिमपूर्ण बनेका स्थानमा बेपत्ता तथा प्रभावितको खोजी, उद्धार र उपचारका लागि विभिन्न विशेषज्ञ टोलीलाई परिचालन गरिएको थापाले जानकारी दिए। उनका अनुसार उद्धार टोलीले जोखिमपूर्ण भूभाग, नदी तथा बाढी प्रभावित संरचनामा खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेकाे छ।