एनसेल र नेपाल एसोसिएसन अफ ट्राभल अपरेटर्स (नाटो)बिच साझेदारी भएको छ । समझदारीपत्रमा एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपांग दत्ता र नाटोका अध्यक्ष विश्वेश श्रेष्ठले हस्ताक्षर गरेका हुन् । यो साझेदारीको मुख्य उद्देश्य नेपाल भ्रमणमा आएका अन्तर्राष्ट्रिय पर्यटकलाई दूरसञ्चार सेवामा पहुँच सहज र सरल बनाउनु रहेको बताइएको छ ।
साझेदारीअन्तर्गत एनसेलले पर्यटकलाई भरपर्दो मोबाइल कनेक्टिभिटी उपलब्ध गराउनेछ भने नाटोले आफ्ना ट्राभल अपरेटरको सञ्जालमार्फत पर्यटकमाझ एनसेलका सेवा–सुविधाबारे जानकारी र सूचना उपलब्ध गराउनेछ । ‘देशभर फैलिएको एनसेलको व्यापक नेटवर्क र पर्यटन क्षेत्रमा नाटोको विविधतायुक्त पहुँचलाई उपयोग गर्दै यो साझेदारीले नेपाल आउने पर्यटकको यात्रा अनुभव अविस्मरणीय बनाउने विश्वास लिएका छौँ,’ दत्ताले भने, ‘यति मात्र होइन, यो साझेदारीले ‘नेपाल कलिङ’ अभियानलाई प्रवर्द्धन गर्न र नेपाललाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न पनि महत्वपूर्ण भूमिका खेल्नेछ ।’
नाटोका अध्यक्ष श्रेष्ठले पर्यटनको मर्म भनेकै एक–अर्कासँग जोडिनु रहेको बताए । ‘मानिसलाई मानिससँग जोड्नु, संस्कृति अनि अनुभवलाई जोड्नु हो,’ उनले भने, ‘नेपाल आउने हरेक यात्रुलाई आफ्नो यात्राभर सबैसँग सम्पर्कमा रहिरहन मद्दत गर्ने एनसेलसँगको यो अर्थपूर्ण सहकार्यले हामी उत्साहित छौँ ।’