नवउद्यमी सम्मेलन गर्दै कैलाली बहुमुखी क्याम्पस

आइतबार, ४ असोज, २०८३
डिजिटल संस्करण

सुदूरपश्चिमकै प्रतिष्ठित शैक्षिक संस्था कैलाली बहुमुखी क्याम्पसले सुदूरपश्चिम नवउद्यमी सम्मेलन गर्ने भएको छ। क्याम्पसअन्तर्गतको इन्क्युबेसन सेन्टरको आयोजना, राष्ट्रिय योजना आयोग तथा सुदूरपश्चिम प्रदेश सरकारको सहयोग र यहाँका विभिन्न स्थानीय तह, बैंक, वित्तीय संस्थालगायतको साझेदारीमा आगामी १३ देखि १५ कात्तिकसम्म सम्मेलन गर्न लागिएको हो।

सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत रहेको कैलाली बहुमुखी क्याम्पसले आइतबार धनगढीमा पत्रकार सम्मेलन गरेर यही क्षेत्रमा केही गर्ने सोच भएका युवालाई उद्यमशीलतातर्फ प्रोत्साहन गर्ने उद्देश्यले सम्मेलन गर्न लागेको जानकारी दिएको छ। इन्क्युबेसन सेन्टरका संयोजक सहप्राध्यापक डा. राजेन्द्रवीर चन्दले युवाहरूलाई उद्यमशीलतामा जोड्न सम्मेलन गर्न लागिएको बताए।

व्यवसायलगायत विभिन्न विधामा लुकेर रहेका प्रतिभालाई प्रस्फुटन गर्न सम्मेलन सहयोगी हुने उनले बताए। स्वरोजगार बन्न र रोजगारी सिर्जना गर्न चाहने युवालाई ‘मेन्टर सिप’ र उद्यम सुरु गर्न आर्थिक सहयोग पनि गरिने सहप्राध्यापक चन्दले पत्रकार सम्मेलनमा जानकारी दिए।

क्याम्पसका अनुसार ७० जनालाई विज्ञहरूबाट प्रशिक्षण दिइनुका साथै व्यवसाय, उद्यम सुरु गर्न विनाब्याजमा दुईदेखि चार लाख रुपैयाँसम्म सहयोग गरिनेछ। इन्क्युबेसन सेन्टरका सदस्यसमेत रहेका कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुस्करराज ओझाले स्नातक गरेका र नवउद्यममा जान चाहने, विदेशमा सिप सिकेर फर्केका र यहीँ केही गर्ने चाहना भएकालाई सम्मेलन उपयुक्त मञ्च भएको बताए।

विश्वविद्यायल तथा क्याम्पसमा अध्ययनरत विद्यार्थी, युवा उद्यमी तथा प्रारम्भिक चरणका व्यवसायी, नयाँ व्यवसाय र उद्यम गर्न चाहने युवा, वैदेशिक रोजगारीबाट फर्किएका युवा सम्मेलनमा सहभागी हुन सक्ने क्याम्पसले जनाएको छ। त्यस्तै स्थानीय आवश्यकता, बजार बुझेका, नवीन र सम्भावनायुक्त व्यवसायिक विचार भएका तथा आफ्नो सिप, स्थानीय स्रोत र प्रविधिलाई व्यवसायमा रूपान्तरण गर्न चाहनेलाई सहभागी गराइने सहप्राध्यापक चन्दले जानकारी दिए।

आवेदनको प्रारम्भिक मूल्यांकन, छलफल, उद्यमशील अभिप्रेरणा, सुदूरपश्चिमको स्थानीय आवश्यकता तथा अवसरसँगको सान्दर्भिकता, कार्यान्वयन क्षमता, सिप, अनुभव, बजारको सम्भावना, तत्परतासमेतका आधारमा सहभागी छनोट गरिने बताइएको छ।

कैलाली बहुमुखी क्याम्पसका प्रमुख डा. लोकबहादुर विष्टले सम्मेलनमा सहभागिताका लागि छनोट भएका युवालाई तालिम दिइनुका साथै रोजगारीमा संलग्न हुन क्याम्पसले निश्चित रकम सहयोग गर्ने जानकारी दिए। बैंकबाट ऋण लिन समन्वयका साथै स्थानीय तहहरूसँग पनि समन्वय गराइदिने उनले बताए। सम्मेलनमा सहभागिताका लागि स्वीकृत गरिने ७० वटा प्रस्तावमध्ये ३५ जना विद्यार्थी र ३५ व्यवसायीबाट रहने क्याम्पस प्रमुख विष्टले जानकारी दिए।

सुदूरपश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. तारादत्त भट्टले सुदूरपश्चिम नवउद्यमी सम्मेलन गर्न विश्वविद्यालयले आवश्यक सहयोग र समन्वय गर्ने बताए।

सुझावित समाचार