- परिमार्जित प्रतिवेदनमा पार्टी पुनर्गठनका लागि नीतिगत, कार्यशैलीगत, व्यवहारगत र आचरणगत सुधारका विषय मात्रै, हटाइयो ओलीको राजीनामा र नेतृत्व हस्तान्तरणको विषय
जेन–जी आन्दोलन र निर्वाचनमा धक्कापछि चलेको आन्तरिक शक्तिसंघर्ष र वाक्युद्धबिच अन्ततः एमालेको चुनावी समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका संयोजक रामबहादुर थापा बादलले अध्यक्ष केपी ओलीको राजीनामा तथा नेतृत्व हस्तान्तरणको मागसम्बन्धी प्रसंग हटाएर परिमार्जित प्रतिवेदन तयार पारेका छन् । पूर्वउपमहासचिव प्रदीप ज्ञवालीले तयार पारेको प्रतिवेदन शनिबार बसेको कार्यदल बैठकमा उनले पेस गरेका हुन् । ओली एमालेको निर्विकल्प नेतृत्व भएको प्रतिवेदनमा उल्लेख छ । उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले भने यसमा गम्भीर असहमति जनाएका छन् ।
परिमार्जित प्रतिवेदनमा पार्टी पुनर्गठनका लागि नीतिगत, कार्यशैलीगत, व्यवहारगत र आचरणगत सुधारका विषय समेटिएका छन् । कार्यदलको समीक्षा र सिफारिस : शुद्धीकरण, सुदृढीकरण र रूपान्तरणका लागि ३९ संकल्प शीर्षक प्रतिवेदनमा ओलीलाई एक क्रान्तिकारी नेताका रूपमा पेस गर्दै प्रतिवेदनमा उनीसँग फरक नेतृत्व क्षमता रहेको देखाउन खोजिएको छ । महासचिव पोखरेलले पेस गरेको ६५ पेजको प्रतिवेदनको सट्टा कार्यदल हुँदै सचिवालय बैठकबाट सोमबारबाट सुरु हुने केन्द्रीय कमिटी बैठकका लागि २९ पेजको प्रतिवेदन पेस भएको छ ।
‘यथास्थितिवादी पार्टीहरू र परिवर्तनकारी पार्टीहरूमा नेतृत्वको प्रश्न एउटै र उस्तै होइन । यथास्थितिवादी पार्टीहरूका लागि नेतृत्वको प्रश्न मूलतः व्यवस्थापकीय प्रश्न हो, किनभने उनीहरूले सचेतनतापूर्वक आन्दोलनको नेतृत्व गर्नुपर्दैन । तर, एउटा क्रान्तिकारी पार्टीको नेतृत्व भने केवल सांगठनिक विषय नभएर वैचारिक विषय पनि हो,’ बादलले पेस गरेको प्रतिवेदनमा छ, ‘अर्कोतिर बुर्जुवाहरू जनतामा झुट छर्छन्, भ्रम फैलाउँछन् र संगठनको बलमा भन्दा पनि पपुलिज्मको बलमा राजनीति गर्छन्, चुनाव जित्छन् । यसका लागि संगठन त्यति अपरिहार्य हुँदैन । तर, कम्युनिस्ट पार्टीले जनतालाई सत्यबारे शिक्षित र सचेत पारेर तथा संगठनको बलमा आन्दोलनलाई अगाडि बढाउनुपर्दछ । यसले नेतृत्वको बेग्लै गुणको माग गर्दछ ।’
यस्तै, निर्वाचन परिणामकै आधारमा नेतृत्व हस्तान्तरणको विषय उठाउन उचित नभएको प्रतिवेदनमा दाबी गरिएको छ । ‘बनिबनाउ राज्य संयन्त्र आम रूपमा यथास्थितिको पक्षमा र परिवर्तनको विपक्षमा उभिएको हुन्छ । यथास्थितिवादीहरूलाई उक्त राज्यसंयन्त्रको सुविधा प्राप्त हुन्छ, तर परिवर्तनकारी शक्तिहरूले त्यसको असहयोगका बिचमा समेत काम गर्नुपर्ने हुन्छ । यसका निम्ति संघर्षको बिचबाट स्थापित नेतृत्व, क्षमता र विश्वसनीयतासमेत अपेक्षित हुन्छ । यो उपलब्धता र तुलनात्मकताभित्रको छनोटको प्रश्न हो । यसको पनि आवधिक विधि हुन्छ । यी प्रश्नलाई गम्भीरतासाथ बोध नगरी बुर्जुवा वा पपुलिस्ट नेतृत्व निर्माणको प्रक्रिया र हाम्रो पार्टीको नेतृत्व निर्माणको प्रक्रियालाई छ्यासमिस गरेर हेर्नुहुँदैन,’ प्रतिवेदनमा भनिएको छ ।
यस्तै, निर्वाचनमा भएको हारले पार्टी जीवनमा गम्भीर धक्का लागेकै भए पनि निर्वाचनमा प्राप्त गरेको १४ लाख मत पार्टी पुनर्जागरणको महŒवपूर्ण आधार हुने प्रतिवेदनमा उल्लेख छ । ‘प्रस्तावित पुनर्जागरणको सङ्कल्प र कार्ययोजनालाई प्रभावकारी ढंगले अघि बढाउने हो भने पार्टीलाई वैचारिक, राजनीतिक र सांगठनिक रूपमा एकताबद्ध बनाउँदै पार्टीलाई राष्ट्र निर्माणको निर्णायक शक्तिमा बदल्न सकिन्छ । पपुलिज्म, अनार्किज्म र अपरचुनिजमका माध्यमबाट मुलुकमा स्वेच्छाचारी र अधिनायकवादी शासनको अभ्यास गर्दै भूराजनीतिक स्वार्थअनुरूप राष्ट्रको सर्वभौमिकता, संविधान र लोकतन्त्र तथा कम्युनिस्ट आन्दोलनका विरुद्ध भइरहेको षड्यन्त्र र चुनौतीलाई सामना गर्नका एमाले छिटोभन्दा छिटो सबल र सुदृढ हुनु आवश्यक छ,’ नेतृत्व हस्तान्तरणलाई पन्छाउँदै प्रतिवेदनमा लेखिएको छ ।
प्रतिवेदनमा तल्ला तहबाट आएका सुझावहरू पार्टीमा व्यवस्थित र अभिलिखित रूपमा सुरक्षित रहेको उल्लेख छ । परिमार्जित प्रतिवेदनको अन्त्यमा प्राप्त सयौँ सुझावमध्ये मुख्य बुँदाहरूलाई प्रतिवेदनमा समेटिएको, अरू सुझाव पार्टीमा व्यवस्थित र अभिलिखित रूपमा सुरक्षित रहेको तथा तीमध्ये केहीले थप छलफलको माग गर्ने र कतिपय व्यवहारमा कार्यान्वयन हुँदै जाने उल्लेख छ । प्रदेशहरूबाट नेतृत्व हस्तान्तरणका विषयमा अधिकतम सुझाव आएका थिए ।
पार्टीमा सुधार, सुदृढीकरण र पुनर्जागरण कार्यदललाई पुनर्गठनको कार्ययोजना तयार गर्ने कार्यादेश प्राप्त भएका कारणले छलफलका क्रममा आएका सुझावलाई सोही आधारमा प्रस्तुत गरिएको प्रतिवेदनमा छ । ‘पार्टीलाई अघि बढाउन पार्टीमा सुदृढीकरण, रूपान्तरण र पुनर्जागरण अपरिहार्य छ । पुराना दलहरूले नयाँ पुस्ताको भावना र मागको सम्बोधन गर्न सक्तैनन् भन्ने जबर्जस्त निर्माण गरिएको भाष्यले नयाँ पुस्तालाई पार्टीबाट टाढा पुर्याएको छ । यो पार्टी र आन्दोलनको भविष्यका लागि गम्भीर चिन्ता र चुनौतीको विषय हो,’ प्रतिवेदनमा भनिएको छ, ‘निर्वाचनमा पार्टीले व्यहोर्नुपरेको अकल्पनीय पराजय र खस्किएको जनमतलाई शिक्षा र पुनर्जागरणको संकल्पका रूपमा ग्रहण गर्दै गरी पार्टीलाई जनस्तरमा पुनर्स्थापित गर्नु आवश्यक छ । आमनिर्वाचनपछि पार्टीपंक्तिको खस्केको मनोबल उकास्न र निष्क्रिय बनेका कमिटीलाई पुनः क्रियाशील बनाउनका लागि कार्यकर्तापंक्तिमा नयाँ आशा र ऊर्जा भर्नुपर्ने देखिन्छ । त्यसका लागि पार्टीको नीति, विधि र संरचनागत सुदृढीकरणसमेत गर्नु आवश्यक देखिन्छ ।’
प्रतिवेदनमा अहिलेको संकट र चुनौतीपूर्ण परिस्थितिबाट पार्टीलाई माथि उठाउनका लागि पार्टी र सरकारको कामको समीक्षा गर्नु आवश्यक रहेको उल्लेख छ । ‘त्यसलाई कुनै पनि बहानामा उपेक्षा गर्नुहुँदैन । ‘आमनिर्वाचनमा पार्टीले व्यहोर्नुपरेको अकल्पनीय पराजय पार्टी जीवनको सबैभन्दा गम्भीर विषय हो । गम्भीर धक्का र असफलतापछिको अवस्थालाई गम्भीर रूपमा लिनुपर्दछ । प्रतिस्पर्धा, पहलकदमीका आधारमा श्रेष्ठता हासिल गर्ने जबजको पार्टी जीवनको लोकतान्त्रीकरणको नीतिबाट निर्देशित पार्टीले यसप्रकारको परिस्थिति सिर्जना हुनुको वस्तुगत कारणको खोजी गर्नुपर्दछ । यसलाई निर्वाचनको समयको योजना, तयारी र परिणामसँग मात्र जोडेर हेर्नुहुँदैन,’ प्रतिवेदनमा छ, ‘कुनै पनि घटना र परिणामका पछाडि तात्कालिक परिस्थिति, त्यसपूर्वका काम र क्रियाकलापको योग रहेको हुन्छ भन्ने मान्यतालाई आत्मसात् गर्नुपर्दछ । त्यस अर्थमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नेपालको कम्युनिस्ट आन्दोलनले हासिल गरेको सफलता र उत्कर्ष तथा निर्वाचनमा भएको इतिहासकै कमजोर पराजयसम्मका समग्र पक्षको वस्तुनिष्ठ समीक्षा गर्नुपर्दछ ।’
प्रतिवेदनमा ओलीको नेतृत्वमा कैयौँ उपलब्धि हासिल भएको देखाइएको छ । यस्तै जनतासँगको घनिष्ट सम्बन्ध विकासका लागि पार्टीका नेता र कार्यकर्ताका जीवनशैली र आचरणमा सुधार ल्याउनुपर्दछ । कम्युनिस्ट आदर्शअनुरूपको सादा जीवनशैलीमा जोड दिनुपर्ने उल्लेख छ । ‘जनतासँगको सम्बन्ध विकासका लागि सरल र शिष्ट भाषाशैली अपनाउनुपर्दछ । जनतालाई मन नपर्ने बानी–व्यवहारमा परिवर्तन ल्याउन सक्नुपर्दछ । नैतिक आचार र आर्थिक अनुशासनमा जोड दिनुपर्दछ,’ प्रतिवेदनमा छ, ‘बहुसंख्यक जनता सामाजिक सञ्जालमा आबद्ध हुँदै गइरहेको अवस्थामा सामाजिक सञ्जालका माध्यमबाट पार्टी काम र गतिविधिलाई जोड्नुपर्दछ । आमजनतासँगको भेटघाट, उनीहरूसँगको संवाद र उनीहरूसँगको घनिष्ट र मायालु व्यवहारलाई सामाजिक सञ्जालका माध्यमबाट सम्प्रेषण गर्नुपर्दछ ।
पार्टी पुनगर्ठनबारे भनिएको छ, ‘पुनर्गठनको बहसमा नेतृत्वको प्रश्न पनि गम्भीरतापूर्वक नै उठेको यथार्थ हो । इतिहासमा कुनै पनि नेतृत्वको विषय बहसभन्दा माथि हुँदैन र हाम्रोमा पनि छैन । प्रश्न उठेपछि हामीले यसको निराकरण महाधिवेशनको लोकतान्त्रिक विधिमार्फत गरिसकेका छौँ । तर, हामीले बुझ्नुपर्दछ– भदौ २३/२४ र त्यसलाई वैधता दिन आयोजित निर्वाचनको परिणाम व्यक्तिविशेषका कमजोरीका कारण सिर्जित होइन,’ प्रतिवेदनमा छ ।
कार्यदल सदस्यहरूले परिमार्जित प्रतिवेदन अध्ययन गरेपछि आइतबार बिहान ९ बजे डाकिएको बैठकबाट पारित गर्ने तयारी छ । त्यसपछि दिउँसो १ बजे सचिवालय बैठकमा प्रस्तुत गर्ने तयारी छ । त्यही प्रतिवेदन ४ असोजमा बस्ने केन्द्रीय कमिटी बैठकमा पेस हुनेछ । केन्द्रीय कमिटीमा ओली सुविधाजना बहुमतमा छन् ।
यसअघि गत सोमबार काभ्रेको पनौतीमा बसेको कार्यदल बैठकले एकीकृत प्रतिवेदन तयार पार्ने जिम्मेवारी बादलसहित उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई दिएको थियो । तर, उनीहरूले ३१ भदौभित्र प्रतिवेदन सम्पादन गरी कार्यदलमा बुझाएपछि १ असोजमा पास गर्ने बलथलीको बैठकको निर्णय थियो । तर, कार्यदलले समयसीमाभित्र काम सम्पन्न गर्न सकेन ।
त्यसपछि १ असोजमा गुन्डुमा अध्यक्ष ओलीसँग छलफलपछि ३ असोजभित्र प्रतिवेदन पास गरी ४ असोजमा बस्ने सचिवालयमा पेस गर्ने समझदारी भएको थियो । तर, शनिबार बैठकमा एकीकृत प्रतिवेदन पेस भए पनि आइतबार मात्र पास हुने भएको छ ।
कार्यदल सदस्य तथा मधेश प्रदेश इन्चार्ज लीलानाथ श्रेष्ठले परिमार्जित प्रतिवेदन सचिवालयले पारित गरेपछि केन्द्रीय कमिटीमा पेस हुने बताए । उनका अनुसार आइतबार सचिवालय बैठकबाट पारित भएपछि प्रतिवेदन केन्द्रीय कमिटीमा पेस गर्ने तयारी छ ।
‘कार्यदलले प्राप्त गरेको कार्यादेशअनुसार पार्टी पुनर्गठनका सवालमा नीतिगत, कार्यशैलीगत, व्यवहारगत र आचरणमा सुधार गर्ने विषय बैठकको निर्णयअनुसार तथा राजनीतिक र नीतिगत विषयहरू थपघट गरेर प्रतिवेदन कार्यदलमा आएको हो,’ श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘हामीले संयोजकसहित तीन नेतालाई जिम्मेवारी दिएका थियौँ । उहाँहरूले सहमतिसहित नै प्रतिवेदन ल्याउनुभएको छ । बिहान कार्यदल बैठक बसेर पारित गर्छौँ र त्यसपछि सचिवालयको दिउँसोको बैठकले अनुमोदन गरेपछि केन्द्रीय कमिटीमा प्रस्तुत हुनेछ ।’
कार्यदलमा श्रेष्ठ अध्यक्ष ओलीले पार्टी पुनर्गठनका लागि राजीनामा दिनुनपर्ने, तर दिनैपर्ने अवस्था आए आगामी निर्वाचनमा भएको हारको नैतिक जिम्मेवारी अध्यक्षसहित सबै पदाधिकारीले लिनुपर्ने पक्षमा छन् ।
कार्यदल सदस्यहरूले प्रतिवेदनमा थप छलफल आवश्यक रहेको बताएका छन् । कार्यदल सदस्य खगराज अधिकारीले बैठकमा परिमार्जित एकीकृत प्रतिवेदन आए पनि त्यसबारे थप छलफल बाँकी रहेको बताए । अधिकारी महासचिव शंकर पोखरेल पार्टी पुनर्गठनका सवालमा आवश्यकता परे अध्यक्ष ओलीले पद त्याग गर्न पनि तयार हुनुपर्ने पक्षमा छन् ।
कार्यदलका अर्का सदस्य यामलाल कँडेलले परिमार्जित दस्ताबेज पेस भए पनि अध्ययन र छलफल बाँकी नै रहेको बताए । ‘बैठक बसेपछि आफ्ना मत राख्ने गरी केही न केही त छलफल भइरहन्छ । आइतबार पनि छलफल हुन्छ,’ कँडेलले भने ।
स्रोतका अनुसार ओलीको राजीनामाको प्रसंग हटाएर प्रतिवेदन ल्याइए पनि उपाध्यक्ष पौडेल र महासचिव पोखरेल पुनर्गठनका लागि ओलीले मार्गप्रशस्त गर्नुपर्ने अडानबाट पछि हटेका छैनन । उनीहरूले आफ्ना मत आइतबारको सचिवालय र सोमबारको केन्द्रीय कमिटी बैठकमा राख्ने तयारी गरेको बताइएको छ ।
कार्यदलमा ओलीले मार्गप्रशस्त गर्नुपर्ने सवालमा पोखरेलको प्रतिवेदनको पक्षमा आठ र ओलीले मार्गप्रशस्त गर्न नपर्ने पक्षमा सात सदस्य उभिएका थिए । तर, तल्लो तहबाट आएका सुझावलाई समेत प्रतिवेदनमा समेटेर मतविभाजन नगरी पार्टी विभाजनको जोखिमप्रति सचेत हुँदै एउटै प्रतिवेदन ल्याउने जिम्मेवारी कार्यदलले बादल, पौडेल र पोखरेललाई तोकेको थियो ।
ओलीको राजीनामाको पक्षमा पौडल र पोखरेलसहित पृथ्वीसुब्बा गुरुङ, छविलाल विश्वकर्मा, डा. राजन भट्टराई, यामलाल कँडेल, खगराज अधिकारी र दामोदर भण्डारी छन् । त्यस्तै, ओलीको राजीनामको विपक्षमा संयोजक बादलसहित उपमहासचवि लेखराज भट्ट, सचिवहरू पद्मा अर्याल, शेरधन राई, भानुभक्त ढकाल, महेश बस्नेत, मधेश प्रदेश इन्चार्ज लीलानाथ श्रेष्ठ छन् । तर, कार्यदलमा मतविभाजन भने भएको छैन ।
अध्यक्षले केन्द्रीय सचिवालय र केन्द्रीय कमिटीमा पनि मतविभाजन गराएर एजेन्डा पास गराउने निर्णय लिँदा मात्र बहुमत–अल्पमतमा मत बाँडिन्छ र अल्पमत पक्षले नोट अफ डिसेन्ट लेख्ने अभ्यास छ ।
महासचिव पोखरेलले पार्टीभित्र अध्यक्ष ओलीले पार्टीमा सुधार र रूपान्तरणका लागि पद छाडेर अभिभावकीय भूमिकामा बसिदिए उपयुक्त हुन्थ्यो भन्ने मत बलियो बन्दै गएको विषय राखेर प्रतिवेदन बनाएका थिए । ‘विगतमा हाम्रो पार्टीले नेतृत्व निर्माण र हस्तान्तरणको सही विधि बनाएको थियो । त्यसलाई परिवर्तन गर्न पुग्दा समस्या आएको अनुभूति पार्टीपंक्तिमा छ । यसप्रकारको स्थितिमा सुधारका लागि पार्टी अध्यक्षले अभिभावकीय वा संरक्षकको भूमिकामा बसिदिए हुन्थ्यो भन्ने भावना कार्यकर्तापंक्तिमा प्रबल बन्दै गएको छ,’ उनले लेखेका थिए ।
त्यस्तै, प्रतिवेदनमा विगतमा निर्वाचनमा भएको गम्भीर पराजयपछि विगतमा हाम्रै पार्टीका तत्कालिक महासचिव नेपालले नैतिकताका आधारमा राजीनामा दिएको विषय पनि राखेर ओलीको राजीनामा जोड दिँदै प्रतिवेदन लेखेका थिए । तर, त्यसले नेतृत्वमाथि सिधा हमला भएको भन्दै आक्रोशित ओलीले संयोजक बादलमार्फत काउन्टर प्रतिवेदन पेस गराएका थिए ।
पोखरेलको प्रतिवेदनमा ७० वर्षे उमेरहद र अध्यक्षमा दुई कार्यकालको प्रावधान ब्युँताउनुपर्ने उल्लेख भएकोमा संयोजक बादलले अल्गोरिदम र अन्तर्राष्ट्रिय षड्यन्त्रको उपजका रूपमा ओलीलाई सत्ताच्युत गरिएकाले राजीनामा दिनुनपर्ने र उमेरहदको विषय पनि भर्खरै सम्पन्न महाधिवेशनले टुंग्याएकाले औचित्यहीन भन्दै प्रतिवाद गरेका थिए ।
बादलले पेस गरेको प्रतिवेदनमा छ-
यथास्थितिवादी पार्टीहरू र परिवर्तनकारी पार्टीहरूमा नेतृत्वको प्रश्न एउटै र उस्तै होइन । यथास्थितिवादी पार्टीहरूका लागि नेतृत्वको प्रश्न मूलतः व्यवस्थापकीय प्रश्न हो, किनभने उनीहरूले सचेतनतापूर्वक आन्दोलनको नेतृत्व गर्नुपर्दैन । तर, एउटा क्रान्तिकारी पार्टीको नेतृत्व भने केवल सांगठनिक विषय नभएर वैचारिक विषय पनि हो । अर्कोतिर बुर्जुवाहरू जनतामा झुट छर्छन्, भ्रम फैलाउँछन् र संगठनको बलमा भन्दा पनि पपुलिज्मको बलमा राजनीति गर्छन्, चुनाव जित्छन् । यसका लागि संगठन त्यति अपरिहार्य हुँदैन । तर, कम्युनिस्ट पार्टीले जनतालाई सत्यबारे शिक्षित र सचेत पारेर तथा संगठनको बलमा आन्दोलनलाई अगाडि बढाउनुपर्दछ । यसले नेतृत्वको बेग्लै गुणको माग गर्दछ ।
बनिबनाउ राज्य संयन्त्र आम रूपमा यथास्थितिको पक्षमा र परिवर्तनको विपक्षमा उभिएको हुन्छ । यथास्थितिवादीहरूलाई उक्त राज्य संयन्त्रको सुविधा प्राप्त हुन्छ, तर परिवर्तनकारी शक्तिहरूले त्यसको असहयोगका बिचमा समेत काम गर्नुपर्ने हुन्छ । यसका निम्ति संघर्षको बिचबाट स्थापित नेतृत्व, क्षमता र विश्वसनीयतासमेत अपेक्षित हुन्छ । यो उपलब्धता र तुलनात्मकताभित्रको छनोटको प्रश्न हो । यसको पनि आवधिक विधि हुन्छ । यी प्रश्नलाई गम्भीरतासाथ बोध नगरी बुर्जुवा वा पपुलिस्ट नेतृत्व निर्माणको प्रक्रिया र हाम्रो पार्टीको नेतृत्व निर्माणको प्रक्रियालाई छ्यासमिस गरेर हेर्नुहुँदैन ।
कार्यदल सदस्य तथा मधेश प्रदेश इन्चार्ज लीलानाथ श्रेष्ठले भने–
कार्यदलले प्राप्त गरेको कार्यादेशअनुसार पार्टी पुनर्गठनका सवालमा नीतिगत, कार्यशैलीगत, व्यवहारगत र आचरणमा सुधार गर्ने विषय बैठकको निर्णयअनुसार तथा राजनीतिक र नीतिगत विषयहरू थपघट गरेर प्रतिवेदन कार्यदलमा आएको हो । हामीले संयोजकसहित तीन नेतालाई जिम्मेवारी दिएका थियौँ । उहाँहरूले सहमतिसहित नै प्रतिवेदन ल्याउनुभएको छ । बिहान कार्यदल बैठक बसेर पारित गर्छौँ र त्यसपछि सचिवालयको दिउँसोको बैठकले अनुमोदन गरेपछि केन्द्रीय कमिटीमा प्रस्तुत हुनेछ ।
कार्यदल सदस्य यामलाल कँडेलले भने–
पार्टी पुनर्गठन कार्यदलको परिमार्जित दस्ताबेज पेस भए पनि अध्ययन र छलफल बाँकी नै छ । बैठक बसेपछि आफ्ना मत राख्ने गरी केही न केही छलफल त भइहाल्छ । आइतबारको बैठकमा पनि छलफल पक्कै हुन्छ ।
पार्टीभित्रको विवादतर्फ संकेत गर्दै ओलीले भने– शिखण्डी अगाडि सारिए पनि भीष्मपितामह ढलेको छैन, खडा छ
एमाले अध्यक्ष केपी ओलीले पार्टीभित्र आफूलाई कमजोर पार्ने वा पार्टी फुटाउने प्रयास भइरहेको भए पनि त्यस्ता प्रयास सफल नहुने बताएका छन् । १५औँ संविधान दिवसका अवसरमा पार्टी कार्यालय च्यासलमा शनिबार आयोजित कार्यक्रममा ओलीले आफूले एमालेभित्र विगतमा १० वटा महाभारत लडेर आजको अवस्थामा आइपुगेको दाबी गर्दै अहिले भइरहेका प्रयासबाट आफू नढल्ने बताए ।
‘सञ्चारमाध्यममा पार्टी फुटाउने, अध्यक्ष अमुक व्यक्ति बन्ने भनेर प्रचार गरिए पनि विरोधीले खुट्टा तानेर एमालेलाई केही फरक पार्न सक्दैन,’ ओलीले भने, ‘हामी ५–६ जना केन्द्रीय कमिटीबाट बाहिर निस्कँदा भव्य वक्तव्यका साथ एकता र संकल्प, पार्टीको एकता र हाम्रा कामहरू यसरी गर्नेछौँ भनेर निस्कन्छौँ । दुई दिनपछि नै झुटो साबित हुने समाचार किन सम्प्रेषण गर्नु ?’
उनले पछिल्लो समय सञ्चारमाध्यममा पार्टीभित्र नेतृत्व परिवर्तन र विभाजनको विषयमा भइरहेका चर्चाप्रति पनि व्यंग्य गरे । ‘अर्को छापामा देखियो फेरि– फलानो अध्यक्ष हुने अरे, फलानो महासचिव हुने अरे । भित्रभित्र पार्टी फुटाउने एउटा कागज तयार हुँदै छ अरे । कति खेती गरेको ?’ उनले प्रश्न गरे ।
ओलीले आफूलाई महाभारतका भीष्मपितामहसँग तुलना गर्दै पार्टीभित्र केही ‘शिखण्डी’ खडा गरेर आफूलाई पराजित गर्ने प्रयास भइरहेको दाबी गरे । ‘चर्को वाण वर्षा भएपछि भीष्मपितामह पनि शरशङ्ढयामा ढलेका थिए । अर्जुन, शिखण्डी यिनीहरूले नै हानेका थिए भीष्मपितामहलाई वाण,’ ओलीले भने, ‘शिखण्डी अगाडि राखेर अहिलेसम्म पनि शिखण्डीहरूलाई अगाडि राखेकै छन् । तैपनि भीष्मपितामह शरशङ्ढयामा ढलेका छैनन्, केपी ओली त्यसरी शरशङ्ढयामा ढलेको छैन, खडा छ । फेरि पनि मैदानमा छ ।’
आफूले पार्टी फुटाउने प्रयासलाई सामना गरिरहेको बताउँदै ओलीले भने, ‘अहिले त मैले भारी लामो तरबार बोक्नुपरेको छैन, सानो–सानो कलम बोक्ने साथीहरू यहाँ छन् । बोक्न सक्छु, बोकेको छु । कोसिस गरेका छन् । मैले कोसिसहरू पनि बुझेको छु, तर पार लाग्नेवाला छैन ।’
राजनीतिक जीवनमा आफूले धेरै संघर्ष र चुनौती सामना गर्दै आएको दाबीसमेत उनले गरे । ‘मैले आफ्नो राजनीतिक जीवनमा एउटा महाभारत होइन, १० वटा महाभारत लडेर आएको छु । यहाँ आइपुगेको यत्तिकै होइन,’ उनले भने, ‘म हाम्रा तमाम साथीहरूलाई, तमाम एमालेहरूलाई आग्रह गर्न चाहन्छु– जनताका बिचमा जानुहोस्, जनतालाई सचेत बनाउनुहोस् र अगाडि बढ्नुहोस् । यो देश हाम्रो हो, बिग्रिन नदिऔँ । सच्याऔँ ।’