होल्डिङ सेन्टरमा फैलिँदै झाडापखाला र रुघाखोकी : ८८ जनामा झाडापखाला, २७० लाई रुघाखोकी र ज्वरो

आइतबार, ४ असोज, २०८३
डिजिटल संस्करण

खानेपानी र बसोबासमा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

भोटेकोशी/त्रिशूली नदीमा १० भदौमा आएको हिमबाढीबाट प्रभावित भएकालाई राखिएका होल्डिङ सेन्टरमा झाडापखाला, रुघाखोकी र ज्वरोका बिरामी बढ्न थालेका छन् । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार बाढी प्रभावितलाई राखिएका होल्डिङ सेन्टरमा शनिबारसम्म ८८ जनामा झाडापखाला देखिएको छ भने २७० जनाभन्दा बढीमा रुघाखोकी र ज्वरोको समस्या देखिएको छ । मन्त्रालयका अनुसार झाडापखाला देखिएका ८८ मध्ये ६० नुवाकोट, २० रसुवा, १० काठमाडौं र आठजना धादिङका होल्डिङ सेन्टरमा रहेका प्रभावित हुन् ।

त्यस्तै, रुघाखोकी र ज्वरोको समस्या नुवाकोटका होल्डिङ सेन्टरमा बढी देखिएको छ । नुवाकोटका होल्डिङ सेन्टरमा मात्रै दुई सयजनामा रुघाखोकी र ज्वरो देखिएको छ । त्यस्तै, रसुवामा ५० र काठमाडौंमा २० जना बाढी प्रभावितमा पनि रुघाखोकी र ज्वरोको समस्या देखिएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार हालसम्म देखिएको संख्या रोगको प्रकोप घोषणा गर्नुपर्ने अवस्था भने होइन । तर, होल्डिङ सेन्टरमा प्रभावितको संख्या धेरै भएकाले सरुवारोग छिटो फैलिन सक्ने जोखिम रहेको भन्दै सावधानी अपनाउन आग्रह गरिएको छ ।

‘हालसम्म ८८ जनामा झाडापखाला देखिएको छ । २७० भन्दा बढीमा रुघाखोकी र ज्वरो देखिएको छ । यो सुरुदेखिको तथ्यांक हो, यसलाई प्रकोप भन्न मिल्दैन । तर, संख्या बढिरहेको देखिन्छ,’ उनले भने, ‘होल्डिङ सेन्टरको बसोबास र खानपानमा बढी ध्यान दिनुपर्छ ।’ धेरै व्यक्ति राखिएका होल्डिङ सेन्टरमा झाडापखाला छिटो फैलिन सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको उनले बताए । ‘सरकारी चिकित्सक टोली पनि होल्डिङ सेन्टर र त्यसआसपासमा राखिएका स्वास्थ्य शिविरमा हुनुहुन्छ,’ उनले भने । 

बाढी प्रभावितलाई रसुवा, धादिङ, नुवाकोट र काठमाडौंका गरी ३२ वटा होल्डिङ सेन्टरमा राखिएको छ । नुवाकोटमा २१, काठमाडौंमा तीन, रसुवामा ६ र धादिङमा दुईवटा होल्डिङ सेन्टर छन् । ती होल्डिङ सेन्टरमा गरी दुई हजार ७८२ जना बाढी प्रभावित छन् ।

होल्डिङ सेन्टरमा प्रभावितको ठुलो संख्या रहे पनि कतिपय स्थानमा पर्याप्त स्क्रिनिङ हुन नसकेको मन्त्रालयले जनाएको छ । यसले बाहिरबाट देखिएका बिरामीबाहेक भित्रभित्रै सरुवारोग फैलिन सक्ने जोखिम बढाएको छ । रुघाखोकी र ज्वरो देखिएका प्रभावितलाई सुरक्षित रूपमा छुट्टै राखेर निगरानी गर्ने गरिएको सहप्रवक्ता अधिकारीले बताए ।

स्वास्थ्यकर्मीको टोली परिचालन
बाढी प्रभावित क्षेत्रमा केन्द्रबाट १२० जनाभन्दा बढी विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली परिचालन गरिएको थियो । त्यसमध्ये ७० जना फर्किसकेका छन् । ३० जना अझै रसुवा, धादिङ र नुवाकोट क्षेत्रका अस्पताल तथा स्वास्थ्य शिविरमा खटिएका छन् ।

होल्डिङ सेन्टर तथा त्यसआसपासमा रहेका स्वास्थ्य शिविरबाट प्रभावितको स्वास्थ्य परीक्षण र उपचार भइरहेको मन्त्रालयले जनाएको छ । झाडापखाला, रुघाखोकी र ज्वरोका बिरामी देखिन थालेपछि स्वास्थ्यकर्मीले विशेषगरी सरसफाइ, खानपान र खानेपानीमा ध्यान दिन आग्रह गरेका छन् ।

दूषित पानीले झाडापखालाको जोखिम
बाढी प्रभावित क्षेत्रमा खानेपानी अर्को ठुलो चुनौतीका रूपमा देखिएको छ । स्वास्थ्य मन्त्रालयका सचिव विकास देवकोटाका अनुसार होल्डिङ सेन्टरमा खानेकुराको सहज प्रबन्ध गर्न तथा जंकफुडजन्य खानेकुराभन्दा सन्तुलित आहार वितरण गर्न पालिकाहरूलाई ध्यानाकर्षण गराइएको छ । उनका अनुसार बाढी प्रभावित क्षेत्रमा कतिपयले स्थानीय धारा, कुवा र मूलकै पानी प्रयोग गरिरहेका छन्, जुन अहिले दूषित अवस्थामा रहेको छ । होल्डिङ सेन्टरमा वितरण गरिएको बोतल र जारको पानी पर्याप्त नभएपछि स्थानीयले धाराकै पानी प्रयोग गर्ने गरेका छन् ।

तर, दूषित खानेपानीकै कारण झाडापखालाजन्य रोग भयावह बन्न सक्ने भन्दै मन्त्रालयले बाढी प्रभावित क्षेत्रका मूल–मुहानको पानी नपिउन अनुरोध गरेको छ । हाल होल्डिङ सेन्टरमा बोतल र जारको पानी वितरण भइरहेको भए पनि मागअनुसार पर्याप्त हुन नसकेको मन्त्रालयले जनाएको छ । होल्डिङ सेन्टरमा वितरण गर्ने खाद्यान्नसँगै खानेपानी पनि काठमाडौंबाट पठाउने गरिएको छ । दाताहरूले अन्य सहयोगसँगै खानेपानीका बोतल र जारसमेत सहयोग गरिरहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म २० हजारभन्दा बढी जार र ३२ हजारभन्दा बढी कार्टुन खानेपानी बाढी प्रभावित क्षेत्रमा वितरण गरिएको छ । खाद्यान्न संकलन गरिएका जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, सहरी विकास तथा भवन निर्माण विभाग, नेपाल प्रहरीको तालिम केन्द्रलगायत स्थानमा बोतलको खानेपानी चाङ लगाएर राखिएको छ ।

हैजाको जोखिमपछि एक लाख १० हजारभन्दा बढी डोज खोप
बाढी प्रभावित क्षेत्रमा हैजाको संक्रमण फैलन सक्ने जोखिमलाई ध्यानमा राख्दै सरकारले नुवाकोट र रसुवामा एक लाख १० हजारभन्दा बढी डोज हैजाविरुद्धको खोप पठाएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीका अनुसार नुवाकोटमा २४ हजार पाँच सय र रसुवामा ८६ हजार डोज खोप पठाइएको थियो । उक्त खोप दुई साताअघिदेखि नै वितरण भइरहेको छ ।

शनिबारसम्म नुवाकोटमा ३२ हजार र रसुवामा ११ हजार जनालाई खोप वितरण गरिएको मन्त्रालयले जनाएको छ । प्रभावित क्षेत्रमा मुख्यतः बालबालिका र महिलालाई लक्षित गरेर खोप वितरण भइरहेको छ । स्वास्थ्य मन्त्रालयले होल्डिङ सेन्टरमा प्रभावितको चाप धेरै भएकाले सरसफाइ, सुरक्षित खानेपानी, सन्तुलित खानपान र बिरामीको समयमै पहिचानलाई प्राथमिकता दिन आग्रह गरेको छ । 

प्रभावित क्षेत्रमा परिचालित आधाभन्दा बढी स्वास्थ्यकर्मी फर्किए
बाढी प्रभावित क्षेत्रमा केन्द्रबाट सयभन्दा बढी विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली परिचालन गरिएको थियो । त्यसमध्ये ७० जना फर्किसकेका छन् । ३० जना अझै रसुवा, धादिङ र नुवाकोट क्षेत्रका अस्पताल तथा स्वास्थ्य शिविरमा खटिएका छन् । होल्डिङ सेन्टर तथा त्यसआसपासमा रहेका स्वास्थ्य शिविरबाट प्रभावितको स्वास्थ्य परीक्षण र उपचार भइरहेको मन्त्रालयले जनाएको छ । झाडापखाला, रुघाखोकी र ज्वरोका बिरामी देखिन थालेपछि स्वास्थ्यकर्मीले विशेषगरी सरसफाइ, खानपान र खानेपानीमा ध्यान दिन आग्रह गरेका छन् ।

सुझावित समाचार