संविधानको अन्तर्निहित सफलता र सुन्दरतालाई आत्मसात् गर्दै अघि बढ्नुपर्छ : अर्थमन्त्री वाग्ले

शनिबार, ३ असोज, २०८३
डिजिटल संस्करण

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संविधानको अन्तर्निहित सफलता र सुन्दरतालाई आत्मसात् गर्दै अघि बढ्नुपर्ने बताएका छन्। भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री वाग्लेले नेपाली दूतावास, नयाँदिल्लीले आयोजना गरेको संविधान दिवस कार्यक्रममा बोल्दै संविधानलाई समयानुकूल सुधार गर्दै अघि बढ्न सकिने बताएका हुन्।

उनले संविधान एउटा जीवन्त कानुनी दस्ताबेज भएको उल्लेख गर्दै आवश्यकता र समयअनुसार संविधानका विभिन्न विषयमा सुधार गर्न सकिने व्यवस्था संविधानमै रहेको स्पष्ट पारे। ‘संविधानको अन्तर्निहित सफलता र सुन्दरतालाई आत्मसात् गर्दै अघि बढ्नुपर्छ,’ अर्थमन्त्री वाग्लेले भने।

उनले संविधान निर्माणका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूको स्मरण गर्दै उनीहरूप्रति श्रद्धाञ्जलीसमेत अर्पण गरे। कार्यक्रममा अर्थमन्त्री वाग्लेले नेपालको राष्ट्रिय झन्डा झन्डोत्तोलन गरेका थिए।  कार्यक्रममा नेपाली दूतावास, नयाँदिल्लीका कार्यवाहक राजदूत डा. सुरेन्द्र थापाले अर्थमन्त्री वाग्लेलाई स्वागत गरेका थिए। 

सुझावित समाचार