- राजनीतिक भागबन्डा र सिफारिसको परम्परा तोड्दै पहिलोपटक खुला प्रतिस्पर्धाका आधारमा १३ राजदूत सिफारिस, नियुक्तिमा राजनीतिक आबद्धताभन्दा योग्यता, अनुभव र विषयगत दक्षतालाई प्राथमिकता दिइएको सरकारको दाबी
- बाँकी आठ देश अस्ट्रेलिया, रुस, कतार, बंगलादेश, बहराइन, म्यानमार, अस्ट्रिया र इजिप्टका लागि सरकारले असोज तेस्रो साता राजदूत सिफारिस गर्ने
राजदूत नियुक्तिमा राजनीतिक भागबन्डा र सिफारिसको परम्परा बदल्दै सरकारले गैरराजनीतिक क्षेत्रका विज्ञलाई प्राथमिकतामा राखेको छ । खुला प्रतिस्पर्धाबाट आवेदन मागेर १३ देशका लागि राजदूत सिफारिस गर्दा अधिकांश उम्मेदवार राजनीतिक पृष्ठभूमिभन्दा बाहिरका छन् ।
मन्त्रिपरिषद्को शुक्रबारको बैठकले भारत, चीन, अमेरिका, बेलायत, जापानलगायत १३ देशका लागि राजदूतको नाम सिफारिस गरेको हो । खुला प्रतिस्पर्धाका आधारमा राजदूत सिफारिस गरिएको यो पहिलोपटक हो । राजदूत नियुक्तिमा राजनीतिक आबद्धताभन्दा योग्यता, अनुभव र विषयगत दक्षतालाई प्राथमिकता दिइएको सरकारको दाबी छ ।
मन्त्रिपरिषद्को निर्णयसँगै लामो समयदेखि राजदूतविहीन रहेका विभिन्न नेपाली दूतावासमा नियुक्तिको बाटो खुलेको छ । हाल २१ देशमा नेपाली राजदूतको पद रिक्त रहेकोमा सरकारले बाँकी आठ देशका लागि परराष्ट्र मन्त्रालयका सहसचिवमध्येबाट राजदूत सिफारिस गर्ने तयारी गरेको छ । ती देशमा असोजको तेस्रो सातासम्म राजदूत सिफारिस गर्ने सरकारको तयारी छ ।
सिफारिस भएका नाम अब संसदीय सुनुवाइ समितिमा पठाइनेछ । समितिबाट अनुमोदन भएपछि सम्बन्धित देशबाट ‘एग्रिमो’ लिएर राष्ट्रपतिले राजदूत नियुक्त गर्ने संवैधानिक प्रक्रिया अघि बढ्नेछ । परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार मन्त्रिपरिषद् बैठकले शुक्रबार राजदूत सिफारिस गरेकाहरूमा डा. निश्चलनाथ पाण्डे (भारत), डा. कल्याणराज शर्मा (चीन), चिरनजंग थापा (अमेरिका), पूर्वप्रधानसेनापति गौरवशमशेर जंगबहादुर राणा (संयुक्त अधिराज्य), जिग्यानकुमार थापा (जापान), सुरेशकुमार कर्ण (इजरायल), प्राप्ति शेरचन (स्पेन), सरु जोशी (जर्मनी), डा. पद्माक्षी राणा (ओमान), चूडामणि खरेल (मलेसिया), प्राडा सङ्गम श्रेष्ठ (दक्षिण कोरिया), डा. मंचला झा (श्रीलंका) र गिरिबहादुर सुनार (साउदी अरब) छन् ।
नेपालको कूटनीतिक इतिहासमा पहिलो प्रयोग गर्दै सरकारले १४ जेठमा १३ देशका लागि राजदूत पदमा खुला आवेदन मागेअनुसार दुई हजार सात सयजनाले आवेदन दिएका थिए । आवेदकमध्येबाटै सरकारले राजदूत सिफारिस गरेको जनाएको छ । परराष्ट्रमन्त्री खनालले विभिन्न क्षेत्रका अब्बल व्यक्तिलाई राजदूत नियुक्तिका लागि सिफारिस गरिएको टिप्पणी गरेका छन् । यद्यपि, खुला आवेदन माग गरिएका १३ देशमध्ये अस्ट्रेलिया, अस्ट्रिया, बहराइन र बंगलादेशका लागि भने राजदूत सिफारिस गरिएको छैन ।
बाँकी आठ देशहरू अस्ट्रेलिया, रुस, कतार, बंगलादेश, बहराइन, म्यानमार, अस्ट्रिया र इजिप्टका लागि सरकारले असोज तेस्रो साता राजदूत सिफारिस गर्ने भएको छ । ‘अब आठ देशमा परराष्ट्र मन्त्रालयका सहसचिवमध्येबाट राजदूत सिफारिस हुनेछन्,’ एक उच्च सरकारी अधिकारीले भने ।
गत वर्ष असोजदेखि बेलायत, अमेरिका, चीन, रुस, कतार, साउदी अरेबिया, इजरायल, स्पेन , जर्मनी, मलेसिया, जापानमा राजदूत पद रिक्त थिए । भारत, अस्ट्रेलिया, श्रीलंका, दक्षिण कोरियामा गत वर्ष चैतदेखि राजदूत छैनन् भने ओमानका लागि राजदूत कार्यकाल सकेर साउनमै स्वदेश फिर्ता भएका छन् । साउनमै कार्यकाल सकिएर पनि स्वदेश फिर्ताका लागि बंगलादेश, बहराइन, म्यानमार, अस्ट्रिया र इजिप्टका लागि राजदूत सरकारी निर्देशनको प्रतीक्षामा छन् ।
छिमेकी भारत र चीनसहित विभिन्न देशमा नेपालका ३१ राजदूतावास (संयुक्त राष्ट्रसंघका लागि स्थायी नियोगसमेत) र आठ महावाणिज्य दूतावास छन् । गत आर्थिक वर्षसम्म ३४ राजदूतावास र १० महावाणिज्य दूतावास रहेकामा तीन राजदूतावास र दुई महावाणिज्य दूतावास बन्द हुने प्रक्रियामा छन् । बन्द हुने प्रक्रियामा रहेका दक्षिण अफ्रिका, डेनमार्क र ब्राजिलमा रहेका नेपाली राजदूतावास तथा चीनको छेन्दु र अमेरिकाको सान्फ्रान्सिस्कोका महावाणिज्य दूतावास अलग गर्दा बाँकी नियोगमध्ये २१ राजदूतावासमा राजदूत पद रिक्त थिए । यीमध्ये १३ जना राजदूत सिफारिस भएका हुन् ।
आवेदकका लागि कम्तीमा ३५ वर्ष उमेर पुगेको नेपाली नागरिक हुनुपर्ने, कम्तीमा स्नातक उत्तीर्ण गरेको हुनुपर्ने, कुनै पनि विदेशी मुलुकको स्थायी वा अस्थायी आवासीय अनुमति वा अध्यागमन सुविधा नलिएको हुनुपर्ने तथा नेपालको परराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्बन्ध वा द्विपक्षीय/बहुपक्षीय कूटनीतिको क्षेत्रमा अनुभव भएको र नेपालको प्रतिनिधित्व गर्न सक्षम हुनुपर्ने मापदण्ड तोकिएको छ । यस्तै, विगतमा कुनै विदेशी राज्यद्वारा पारिश्रमिक पाउने पदमा नियुक्त भएको भए सो भूमिका छाडेको कम्तीमा १० वर्ष पूरा भएको हुनुपर्ने पनि मापदण्डमा राखिएको छ । राजदूतको कार्यकाल चार वर्षका लागि हुनेछ ।
आवेदनविनै चार देशका लागि राजदूत सिफारिस, आवेदन मागेका चार देश छुटे
परराष्ट्र मन्त्रालयले १४ जेठमा १३ देशका लागि राजदूत पदमा खुला आवेदन मागेको थियो । परराष्ट्रले भारत, चीन, अमेरिका, बेलायत, अस्ट्रेलिया, इजरायल, दक्षिण कोरिया, अस्ट्रिया, बहराइन, बंगलादेश, मलेसिया, ओमान र साउदी अरेबियाका लागि राजदूत पदमा आवेदन मागेको थियो । तीमध्ये अस्ट्रेलिया, अस्ट्रिया, बहराइन, बंगलादेशमा राजदूत सिफारिस भएनन् । तर, आवेदन नमागेका देशहरू जापान (जिग्यानकुमार थापा), स्पेन (प्राप्ति शेरचन), जर्मनी (सरु जोशी) र श्रीलंका (डा. मंचला झा) मा राजदूत सिफारिस भएका छन् ।