युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग तथा श्रम कार्यालयहरूले आर्थिक वर्ष ०८३/८४ को भदौ मसान्तसम्म दुई करोड ८३ लाख रुपैयाँभन्दा बढी पारिश्रमिक भुक्तानी गराएका छन्।
भदौ महिनामा दर्ता भएका उजुरी, मेलमिलाप तथा विभागको निर्देशनबाट एक करोड ४३ लाख १२ हजार ३८७ रुपैयाँ ५० पैसाबराबरको रोकिएको पारिश्रमिक भुक्तानी गराइएको छ।
त्यसैगरी, श्रमिक र प्रतिष्ठानबिचको आपसी सहमतिबाट भदौ महिनामा ५५ लाख ५७ हजार ७३५ रुपैयाँको भुक्तानी फर्स्याेट भएको छ।
समीक्षा अवधिमा १४८ वटा व्यक्तिगत र तीनवटा सामूहिक दाबी उजुरी दर्ता भएका छन् भने ६३ वटा श्रम विवाद समाधान गरिएका छन्।
श्रम कानुनको पालना सुनिश्चित गर्न विभाग तथा अन्तर्गतका श्रम कार्यालयहरूबाट भदौ महिनामा २४८ वटा प्रतिष्ठानको श्रम निरीक्षण र २४४ वटा प्रतिष्ठानमा बालश्रम निरीक्षण गरिएको छ। भदौ मसान्तसम्म कुल ६१९ वटा प्रतिष्ठान निरीक्षण र ५९५ वटा बालश्रम निरीक्षण सम्पन्न भइसकेका छन्।
सोही अवधिमा ३८६ वटा श्रम अडिट प्रतिवेदन प्राप्त भएका छन्। भदौ महिनामा प्रतिष्ठानस्तरका तीनवटा नयाँ ट्रेड युनियन दर्ता र १८ वटाको नवीकरण गरिएको छ।
त्यस्तै, श्रमिक आपूर्तिकर्ता (सप्लाई कम्पनी) इजाजतपत्रतर्फ पाँचवटा नयाँ इजाजतपत्र प्रदान र ४७ वटाको नवीकरण गरिएको छ।
अघिल्लो महिनामा एउटा औद्योगिक दुर्घटना दर्ता भएको छ। विभागले सेवाग्राहीलाई ‘पहिलो आउनेलाई पहिलो सेवा’ (फर्स्ट कम, फर्स्ट सर्भ)को आधारमा मर्यादित रूपमा सेवा प्रदान गरिरहेको जनाएको छ।