बागमतीको कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्रीमा नियुक्त रमा आलेमगरले पद तथा गोपनीयताको शपथ लिएकी छिन् ।
मुख्यमन्त्री किरण थापामगरको सिफारिसमा नियुक्त भएकी आलेमगरलाई शुक्रबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
तीनदलीय सत्तागठबन्धनमा भएको भागबन्डाअनुसार नेकपाले सभामुखसहित दुई मन्त्रालय लिने सहमतिपछि आलेमगरलाई कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको हो ।
आलेमगर यसअघि तत्कालीन नेकपा (एकीकृत समाजवादी)बाट शालिकराम जम्कट्टेल नेतृत्वको बागमती प्रदेश सरकारमा युवा तथा खेलकुदमन्त्री बनेकी थिइन् । उनी पुनः प्रदेश सरकारमा मन्त्री बनेकी हुन् ।
नेकपाबाट यसअघि सरल सहयात्री पौडेल आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त भइसकेका छन् । आलेमगरको नियुक्तिसँगै नेकपाबाट प्रदेश सरकारमा दुई मन्त्री भएका छन् ।
मुख्यमन्त्री थापामगर नेतृत्वको सरकारमा एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहभागी छन् । सत्तासाझेदार दलबिचको भागबन्डाअनुसार एमालेले मुख्यमन्त्रीसहित तीन मन्त्रालय, राप्रपाले तीन मन्त्रालय तथा नेकपाले सभामुखसहित दुई मन्त्रालय लिने सहमति भएको हो ।
एमालेबाट मुख्यमन्त्री थापामगरसहित भरतबहादुर केसी र ज्ञानबहादुर तामाङ सरकारमा छन् । केसीले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् भने विनाविभागीयमन्त्री तामाङलाई अहिलेसम्म जिम्मेवारी तोकिएको छैन ।
प्रदेशमा हाल आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री थापामगरले आफैँसँग राखेका छन् । विनाविभागीय मन्त्री तामाङलाई उक्त मन्त्रालयको जिम्मेवारी दिने तयारी रहेको मुख्यमन्त्रीनिकट स्रोतले जनाएको छ । तामाङलाई विभागीय जिम्मेवारी तोकिएसँगै मुख्यमन्त्री थापामगर नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाउनेछ ।
राप्रपाबाट गिरबहादुर तामाङले स्वास्थ्य तथा सामाजिक विकास, राजु विष्टले खानेपानी, ऊर्जा तथा सिँचाइ र राजेन्द्रमान प्रजापतिले उद्योग, पर्यटन, श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् । बागमती प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आठ मन्त्रालय छन् ।