नेपाल राष्ट्र बैंकले परिमार्जित विशेषतासहित ५० रुपैयाँ दरको नयाँ बैंकनोट चलनचल्तीमा ल्याएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले ०८३ असोज २ गतेदेखि नयाँ विशेषतासहितको नोट प्रचलनमा ल्याएको हो।
नयाँ नोटको आकार र मूल डिजाइन भने यसअघिकै कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। नोटमा ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त’ भन्ने प्रतिज्ञात्मक वाक्यांश राखिएको छ।
नोटको अगाडिको भागमा हिमालको चित्रसँगै लालीगुराँसको पानी छाप राखिएको छ। पानी छापको तल्लो भागमा ‘५०’ अंकसमेत समावेश गरिएको छ।
नोटको तल्लो भागमा ‘वि.सं. २०८२’ सिरिज नम्बर उल्लेख गरिएको छ भने गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत रहनेछ। नोटको सुरक्षाका लागि १.२ मिलिमिटर चौडाइको सुरक्षा धागो प्रयोग गरिएको छ, जसमा ‘NRB’ लेखिएको छ।
त्यस्तै, नोटको पछाडिको भागमा हिँडिरहेको चितुवाको चित्र राखिएको छ। चित्रको माथिल्लो भागमा ‘NEPAL RASTRA BANK’ लेखिएको छ भने तल्लो भागमा ‘RUPEES FIFTY’ र ‘2025 A.D.’ उल्लेख गरिएको छ।
राष्ट्र बैंकका अनुसार नयाँ नोटमा समावेश गरिएका परिमार्जित विशेषताले बैंकनोटको सुरक्षा र पहिचानलाई थप प्रभावकारी बनाउनेछ।