हिमाल डेन्टल हस्पिटलको सिइओमा डा. निरञ्जन आचार्य

शुक्रबार, २ असोज, २०८३
डिजिटल संस्करण

आइपिओ निष्कासनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एन्ड इन्स्टिच्युट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरञ्जन आचार्यलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा नियुक्त गरेको छ। 

अस्पतालको व्यवस्थापनलाई थप सुदृढ गर्दै आगामी दिनमा सेवा विस्तार, संस्थागत विकास तथा व्यावसायिक योजनालाई प्रभावकारी रूपमा अघि बढाउने उद्देश्यले डा. आचार्यलाई सिइओको जिम्मेवारी दिइएको हो। 

नवनियुक्त सिइओ डा. आचार्यले अस्पतालको समग्र व्यवस्थापन, सेवा विस्तार, सेवा गुणस्तर अभिवृद्धि तथा संस्थाको रणनीतिक योजनाको कार्यान्वयनमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने अस्पतालले जनाएको छ। साथै, आधुनिक प्रविधिको प्रयोगमार्फत बिरामीलाई गुणस्तरीय दन्त स्वास्थ्य सेवा उपलब्ध गराउने तथा दन्त शिक्षा र स्वास्थ्य सेवालाई थप व्यवस्थित रूपमा अघि बढाउने लक्ष्य अस्पतालको छ । 

सन् २००३ मा स्थापना भएको हिमाल डेन्टल हस्पिटलले लामो समयदेखि दन्त स्वास्थ्यको क्षेत्रमा सेवा प्रदान गर्दै आएको छ। अस्पतालले विभिन्न विशेषज्ञ दन्त उपचारका साथै डेन्टल इम्प्लान्ट, ३ डी सिबिसिटी एक्सरे, मिलिङ मेसिन, लेजर डेन्टिस्ट्री तथा अपरेसन थिएटरलगायत आधुनिक प्रविधि तथा सुविधामार्फत सेवा दिँदै आएको छ। 

यसैगरी, हिमाल इन्स्टिच्युट अफ डेन्टल साइन्समार्फत दन्त स्वास्थ्य शिक्षाको क्षेत्रमा समेत योगदान पुर्याउँदै आएको संस्थाले हाल विभिन्न प्राविधिक तथा व्यावसायिक कार्यक्रम सञ्चालन गर्दै आएको छ। आगामी दिनमा दन्त स्वास्थ्य सेवा तथा शिक्षाको क्षेत्रलाई थप विस्तार गर्ने योजना रहेको संस्थाले जनाएको छ । 

हिमाल डेन्टल हस्पिटल एन्ड इन्स्टिच्युट अफ डेन्टल साइन्स लिमिटेड आइपिओ निष्कासनको प्रक्रियामा रहेको छ। कम्पनीले आफ्नो जारी पुँजीको २० प्रतिशत सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने तयारी गरेको छ। आइपिओ निष्कासनका लागि कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ। 

आइपिओ प्रक्रियासँगै नयाँ नेतृत्वमा डा. आचार्यको नियुक्तिलाई संस्थागत विकास, सेवा विस्तार तथा आगामी व्यावसायिक योजनालाई थप व्यवस्थित रूपमा अघि बढाउने कदमका रूपमा हेरिएको छ। 
 

सुझावित समाचार