भदौमा भारतबाट ६० हजार टन ग्यास आयात भएको छ । आयल निगमका सहप्रवक्ता शिशिर सुवेदीका अनुसार भदौमा ५९ हजार आठ सय ३३.९८ टन ग्यास आयात भएको हो ।
सरकारले कूटनीति नोट नै पठाउँदै भारतलाई भदौ, असोज र कात्तिक तीन महिनाका लागि मासिक ६० हजार टनका दरले ग्यास दिन आग्रह गरेको थियो । आयल निगमले पनि इन्डियन आयल कर्पोरेसनलाई पत्राचार गरी आपूर्ति सहजताका लागि मासिक ६० हजार टनका दरले ग्यास दिन लिखित पत्राचार गरेको थियो । जसकारण आइओसीको मथुरा, हल्दिया, दुर्गापुर, पाराद्विप, बन्थरा र बरौनी रिफाइनरीबाट नेपालले मागेजति ग्यास आएको सुवेदीले बताए ।
‘हाम्रो मागअनुसार भदौमा ग्यास आयात भएको छ,’ उनले भने, ‘आगामी दिनमा थप परिमाण आयातका लागि पहल भइरहेको छ ।’ साउनमा पनि ५७ हजार तीन सय १६ टन ग्यास भारतबाट आयात भएको निगमले जनाएको छ । मासिक ४९ हजार पाँच सय टनको कोटा भए पनि नेपालमा ग्यासको असहजता भएपछि आइओसीले परिमाण बढाएर दिइरहेको निगमले जनाएको छ ।
गत ३१ असारमा पूर्ण तौलको सिलिन्डर प्रयोगमा ल्याउने निर्णय गरेयता देशभर ग्यास आपूर्ति असहज भएको थियो । त्यसअघि चैत, वैशाख, जेठ र असारमा आधा तौल (७.१ किलो)को सिलिन्डर मात्रै प्रयोगमा ल्याइएको थियो । जसकारण न्यून खपत भई उपभोक्ताको घरमा खाली सिलिन्डर थुप्रिएका थिए । सरकारले चार महिनापछि पूर्ण तौलको सिलिन्डर बजारमा ल्याउने व्यवस्था गरेसँगै उपभोक्ताले घरमा रहेका खाली सिलिन्डर सटही गरेर मौज्दात राख्न खोज्दा आपूर्ति असहज भएको छ ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले भारतबाट आयात बढाएर ग्यास आपूर्ति चाँडै सहज बनाउने दाबी गरेका छन् । ‘भारतबाट दैनिक एक सय ६० बुलेटका दरले ग्यास आपूर्ति हुने सुनिश्चितता गरेका छौँ,’ उनले भने, ‘त्यसैले चाँडै ग्यास आपूर्ति सहज हुन्छ ।’
आठ महिनादेखि ग्यास आपूर्ति असहज
पुस अन्तिम सातादेखि उपत्यकामा ग्यास आपूर्ति असहज भएको थियो । आइओसीको बरौनी रिफाइनरी मर्मतका लागि बन्द भएपछि त्यहाँबाट ग्यास आउन बन्द भएको थियो । जसकारण माघ लागेपछि भने उपत्यकाका उपभोक्ताले सहजै ग्यास पाउन छाडेका थिए । निगमले आपूर्ति बढाउन नसक्ने, तर ग्यासको माग बढ्ने अवस्था बनेपछि २९ फागुनदेखि लागू हुने गरी आधा तौल (७.१ किलो) भरिएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइएको थियो ।
आधा तौल मात्रै भएको ग्यास हालेर बजारमा दोब्बर सिलिन्डर आपूर्ति भएपछि लाइन लाग्नुपर्ने व्यवस्था अन्त्य भएको थियो । तर, उपभोक्ताले घरमा खाली भएर बसेको सिलिन्डर आधा ग्यासका लागि नसाटी थन्क्याएर राखेका थिए । जसकारण गत चैत, वैशाख र जेठमा खपत घटेर मासिक कोटा ४९ हजार पाँच सय टनभन्दा कम ग्यास भारतबाट आयात भएको थियो । निगमका अनुसार चैतमा ३८ हजार सात सय ९९ टन, वैशाखमा ३२ हजार ५६ टन, जेठमा ३२ हजार आठ सय ४२ टन र असारमा ४४ हजार पाँच सय ४४ टन ग्यास आयात भएको थियो । कोटाभन्दा कम ग्यास आयात भएको र उपभोक्ताले भरी सिलिन्डर ग्यासका लागि साउन पहिलो साताबाटै माग बढाएपछि दुई महिनादेखि देशभर ग्यास आपूर्ति असहज छ ।
धादिङ, काठमाडौं र काभ्रेका उद्योगमा आउन थाले बुलेट
कृष्णभिरको पहिरो पन्छाएर खोलिएको नयाँ ट्रयाक हुँदै धादिङ, काठमाडौं, ललितपुर र काभ्रेका उद्योगमा ग्यास बोकेका बुलेट आउन थालेका छन् । ग्यास उद्योग संघका निवर्तमान अध्यक्ष शिवप्रसाद घिमिरेका अनुसार बिहीबार साँझ पाँच बजेसम्म करिब ४० बुलेट कृष्णभिरको पहिरो नाघेर काठमाडौंतर्फ आएका छन् । ‘अरू थप बुलेट पनि आउनेक्रम जारी छ,’ उनले भने । भारतबाट बुलेट लोडिङसमेत बढेको उनले जानकारी दिए । बिहीबार एक सय ६० बुलेट लोडिङ हुने अवस्था रहेको बताए । सबैभन्दा नजिकको बरौनी रिफाइनरीबाट पनि ३५ बुलेट लोड भएको उनले जानकारी दिए ।
‘भारतबाट आयात बढाउने र कृष्णभिरको पहिरो पन्छाएर बुलेट काठमाडौं आउने स्थिति बनेकाले उपत्यकामा तीन दिनभित्र ग्यास आपूर्ति सहज हुने स्थिति छ,’ उनले भने, ‘आगामी तीन दिनसम्म ठुलो मात्रामा ग्यास आपूर्ति बढाइनेछ । जसकारण लाइनमा बस्नुनपर्ने गरी उपभोक्ताले ग्यास पाउने स्थिति बन्छ ।’ १३ भदौमा कृष्णभिरमा पहिरो गएपछि भने काठमाडौंमा बुलेट आउन सकेका थिएनन् । जसकारण तराईका उद्योगमा ग्यास ‘रिफिलिङ’ गरी ट्रकमा हालेर काठमाडौं ल्याइएको थियो ।
ग्यास बोकेका बुलेट काठमाडौं आउन थालेपछि प्रतिसिलिन्डर मूल्य दुई हजार ६० रुपैयाँ लिन ग्यास उद्योग संघले सबै डिलरलाई परिपत्र गरेको छ । यसअघि तराईबाट ट्रकमा ल्याउँदा भने २१ सय ६५ रुपैयाँ ३८ पैसा निर्धारण गरिएको थियो ।
