चालू आर्थिक वर्ष ०८३/८४ को पहिलो दुई महिनामा राजस्व संकलन १६.३ प्रतिशतले वृद्धि भए पनि लक्ष्यको ८५.२९ प्रतिशत मात्रै उठेको छ । अर्थ मन्त्रालयका अनुसार भदौसम्ममा एक खर्ब ८३ अर्ब २० करोड रुपैयाँ राजस्व संकलन भएको छ । गत आर्थिक वर्ष ०८२/८३ को भदौसम्म एक खर्ब ५७ अर्ब ५३ करोडको राजस्व उठेको थियो । समीक्षा अवधिमा २५ अर्ब ६७ करोडले राजस्व संकलन वृद्धि भएको हो । तर, सरकारले दुई महिनामा दुई खर्ब १४ अर्ब ८० करोड राजस्व उठाउने लक्ष्य लिएको थियो । यसपालि लक्ष्यभन्दा ३१ अर्ब ६० करोड रुपैयाँ कम राजस्व उठेको मन्त्रालयको तथ्यांक छ ।
भदौको राजस्व संकलन सन्तोषजनक रहेको अर्थसचिव डा. घनश्याम उपाध्यायले जानकारी दिए । भदौमा लक्ष्यको ९३.९२ प्रतिशत अर्थात् ९० अर्ब ९८ करोड १३ लाख रुपैयाँ संकलन भएको छ । जबकि, ९६ अर्ब ८७ करोड ५४ लाख राजस्व उठाउने लक्ष्य थियो । गत वर्षको तुलनामा भदौको राजस्व संकलन वृद्धिदर पनि २५ प्रतिशत छ । खासगरी चाडपर्वकेन्द्रित वस्तुको माग बढ्दा राजस्व संकलनमा वृद्धि भएको हो ।
अर्थसचिव डा. उपाध्यायले भदौको विनाशकारी बाढीका कारण आपूर्ति शृंखलामा आएको अवरोधका बाबजुद पनि राजस्व संकलनमा उच्च वृद्धि देखिएको बताए । उनले भने, ‘यो सकारात्मक विषय हो । साउन र भदौको कुल राजस्व संकलनमा पोहोरको तुलनामा १६ प्रतिशतको वृद्धि देखिएको छ भने भदौमा मात्रै २५ प्रतिशतको वृद्धि देखिएको छ । सरकारले लिएका राजस्व नीतिको पनि प्रभाव देखिएको हो । साथै, करदाता प्रोत्साहन कार्यक्रमले पनि बिल लिने–दिने प्रवृत्तिमा सुधार आउँदा राजस्व संकलन बढेको देखिन्छ ।’
मन्त्रालयका अनुसार कुल कर राजस्वतर्फ एक खर्ब ७२ अर्ब ४२ करोड रुपैयाँ र गैरकर राजस्व १० अर्ब ७७ करोड रुपैयाँ संकलन भएको छ । राजस्व संकलनमा सबैभन्दा ठुलो योगदान मूल्य अभिवृद्धि कर (भ्याट)को छ । भदौ ३१ सम्म कुल ६६ अर्ब ९७ करोड रुपैयाँ भ्याट संकलन भएको छ । भ्याटमा आयाततर्फ ३८ अर्ब ९८ करोड रुपैयाँ र आन्तरिक (उत्पादन, बिक्री तथा सेवा)तर्फ २७ अर्ब ९८ करोड रुपैयाँ उठेको छ ।
राजस्वको दोस्रो ठुलो स्रोत भन्सार महसुलबाट कुल ३९ अर्ब २४ करोड २० लाख रुपैयाँ संकलन भएको छ । भन्सार महसुलमा आयातबाट मात्रै ३५ अर्ब ७२ करोड उठेको छ । आयकरतर्फ कुल ३३ अर्ब ५३ करोड रुपैयाँ राजस्व संकलन भएको छ । औद्योगिक उत्पादन र आयातमा लाग्ने अन्तःशुल्कबाट कुल ३१ अर्ब ६७ करोड रुपैयाँ राजस्व संकलन भएको छ । अन्तःशुल्कमध्ये आन्तरिक उत्पादनतर्फ २३ अर्ब ६९ करोड रुपैयाँ र आयाततर्फ सात अर्ब ९० करोड रुपैयाँ उठेको छ ।
बाढीपहिरोका बाबजुद भदौमा राजस्व संकलन सकारात्मक छ : डा. घनश्याम उपाध्याय, सचिव, अर्थ मन्त्रालय
भदौको विनाशकारी बाढीका कारण आपूर्ति शृंखलामा आएको अवरोधका बाबजुद पनि राजस्व संकलनमा वृद्धि देखिएको छ । यो सकारात्मक विषय हो । साउन र भदौको कुल राजस्व संकलनमा पोहोरको तुलनामा १६ प्रतिशतको वृद्धि देखिएको छ भने भदौमा मात्रै २५ प्रतिशतको वृद्धि देखिएको छ । सरकारले लिएका राजस्व नीतिको पनि प्रभाव देखिएको हो । साथै, करदाता प्रोत्साहन कार्यक्रमले पनि बिल लिने–दिने प्रवृत्तिमा सुधार आउँदा राजस्व संकलन बढेको देखिन्छ ।
दुई महिनामा बजेट खर्च ९.४१ प्रतिशत मात्रै
चालू आवको दुई महिनामा सरकारले कुल विनियोजनको ९.४१ प्रतिशत खर्च गरेको छ । कुल २१ खर्ब २४ अर्ब ३४ करोडको बजेटमा एक खर्ब ९९ अर्ब ८३ करोड खर्च भएको हो । गत आर्थिक वर्षको सोही अवधिमा एक खर्ब ८० अर्ब १७ करोड खर्च भएको थियो । गत वर्षको तुलनामा बजेट खर्च १९ अर्ब ६६ करोडले बढी हो ।
कुल खर्चमा चालू खर्चको हिस्सा उच्च छ । यस अवधिमा एक खर्ब २२ अर्ब चालू खर्च भएको छ । यो चालूतर्फको विनियोजनको ९.६ प्रतिशत हो । पुँजीगत खर्च भने १.७८ प्रतिशतमा सीमित छ । अर्थात्, दुई महिनामा दुई प्रतिशतसमेत पुँजीगत खर्च भएको छैन । चार खर्ब ३१ अर्बको पुँजीगत बजेटमा सात अर्ब ६६ करोड मात्रै पुँजीगत खर्च भएको हो । गत आवमा पहिलो दुई महिनामा ६ अर्ब ३५ करोड पुँजीगत खर्च भएको थियो । ऋणको साँवा–ब्याज भुक्तानीमा ७० अर्ब १३ करोड खर्च भएको छ ।