अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रोयल्टी नतिरी नदीजन्य पदार्थ उत्खनन गरी राजस्व चुहावट गरेको आरोपमा रसुवा कन्स्ट्रक्सनका सञ्चालक राजेन्द्रराज आचार्यविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
अख्तियारका अनुसार आचार्यले बागमती नगरपालिकासँग प्रचलित कानुनभन्दा कम मूल्यमा वन पैदावार (नदीजन्य पदार्थ) खरिद गर्ने सम्झौता गरी सागरनाथ वन विकास परियोजना क्षेत्रमा गैरकानुनी रूपमा उत्खनन गरेका थिए।
सरकारी साक्षीका रूपमा पेस गरिएका आचार्यले अनुसन्धान अधिकृतसमक्ष दिएको बयानविपरीत विशेष अदालतमा बकपत्र गरेपछि थप अनुसन्धान गरिएको आयोगले जनाएको छ।
आयोगले तीन हजार घनमिटर नदीजन्य पदार्थको नाै लाख ५३ हजार ४९६ रुपैयाँ ९० पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐनबमोजिम कैद र राजस्व चुहावटको दोब्बर जरिवाना मागदाबी गरेको छ।