नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले १२औँ संविधान दिवस विभिन्न रचनात्मक कार्यक्रमसहित भव्य रूपमा मनाउन मातहतका कमिटीहरूलाई निर्देशन दिएको छ। एमाले महासचिव शंकर पोखरेलले बुधबार प्रदेश, जिल्ला तथा पालिका कमिटीका इन्चार्ज तथा अध्यक्षलाई पत्र पठाउँदै असोज ३ गते संविधान दिवस उत्साहजनक रूपमा मनाउन निर्देशन दिएका हुन्।
पार्टीले आ–आफ्नो क्षेत्र र तहमा संविधानको रक्षाको सन्देशसहित प्रभातफेरी, दीप प्रज्वलन, विचार गोष्ठी, सरसफाइलगायतका रचनात्मक कार्यक्रम आयोजना गर्न भनेको छ। पत्रमा विगतका वर्षमा झैँ यस वर्ष पनि संविधान दिवसलाई विभिन्न कार्यक्रममार्फत सफल बनाउन मातहतका सम्पूर्ण कमिटीलाई आग्रह गरिएको छ।
एमाले केन्द्रीय कार्यालय च्यासलबाट जारी पत्रमा संविधान दिवसलाई उत्साहजनक र भव्य रूपमा मनाउन पार्टीका सबै तहलाई सक्रिय हुन भनिएको छ।